arrow

सांसद शर्माको केएमसीमा कतारमा रहेका नेपाली श्रमिक र आश्रित परिवारलाई सहुलियतमा उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
kmc-qatar-sunil-sharma.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि बिरामी भई उपचार गर्दा काठमाडौँ मेडिकल कलेज केएमसीमा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । 

आज कतारस्थित नेपाली राजदूतावासमा भएको एक कार्यक्रममा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतार र नेपाली जनसम्पर्क समिति कतारबीच  राजदूत डा. नरेशविक्रम ढकालको उपस्थितिमा काठमाडौँ मेडिकल कलेजले सम्झौता गरेको हो ।

सम्झौता अनुसार अब कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपालीहरु तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा काम गर्दै आएका नेपाली श्रमिकहरु उपचारका लागि केएमसी आउँदा अस्पताल सेवामा ५० प्रतिशत छुट हुनेछ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सिनामंगलस्थित केएमसीमा उपचारका लागि आउने क्रममा केएमसीको एम्बुलेन्स प्रयोग गरिएमा एम्बुलेन्स शुल्क पनि पाँच सयमात्र गरिएको सांसद शर्माको भनाइ छ । 

“कतार भ्रमणको सिलसिलामा त्यहाँ रहेका गैरआवासीय साथीहरु र कतारमै कार्य गर्दै आउनु भएका नेपाली साथीहरुसँगको छलफलमा कतारमा रहेका करिब ३ लाख ६६ हजार नेपाली कामदारहरुको अवस्था, बस्दा रहँदा आइपर्ने रोगको उपचारमा हुने आर्थिक समस्या र परिवारको सदस्यहरुको उपचारलाई सहज बनाउन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारसँग सहमति गर्ने निर्णय भयो” डा. शर्माले बताए ।

सम्झौता पत्रमा उल्लेखित सुविधाहरु २०८१ असार मसान्तसम्म कायम रहने छ भने कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवार अर्थात् आमा, बुबा, श्रीमान–श्रीमती, अविवाहित छोरा छोरीलाईसमेत केएमसीले अस्पताल सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउने छ ।

यस अन्तर्गत सुविधा लिन आउँदा परिचय पत्र र नाता प्रमाणित हुने कागजात लिएर आउनु पर्ने हुन्छ ।

उपचार सेवा सम्बन्धी सम्झौता पत्रमा केएमसीको तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र सल्लाहकार इन्दिरा शर्मा (बराल) ले हस्पाक्षर गरेका थिए भने गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका तर्फबाट परिषद्का अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हस्ताक्षर गरेका थिए । 

त्यस्तै नेपाली जनसम्पर्क समिति कतारसँग भएको सम्झौतामा समितिका सभापति मो. अजिज अलि र महामन्त्री केदार भुषालले हस्ताक्षर गरेका थिए ।

डा. सुनील शर्माकै नेतृत्वमा केएमसी र नोबेल शिक्षण अस्पतालले पूर्वी नेपालदेखि पश्चिम नेपालको दूरदराजका स्थानहरुमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

शिविरमा उपचारको क्रममा रिफर भएका बिरामीहरुको केएमसी र नोबेलमा निःशुल्क र सहुलियतमा उपचार हुने व्यवस्था पनि उनले गर्दै आएका छन् भने विभिन्न संघ सस्थाहरुसँग सम्झौता भई सहुलियतमा ती संघ संस्थाहरुमा आबद्ध बिरामीहरुको सहुलियतमा उपचार पनि हुँदै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ