arrow

क्यान्सर पीडित कोपिलाको उपचारमा आर्थिक अभाव, प्रधानमन्त्रीको आश्वासन व्यर्थ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
kopila-gautam-folksinger-ca.jpg

काठमाडौँ । पूर्वी नेपालको लोकदोहोरी जगेर्ना गर्न अग्रसर क्यान्सर पीडित लोकदोहोरी गायिका कोपिला गौतमको उपचारमा आर्थिक अभाव भएको छ । 

एकपछि अर्को गर्दै विपद्को सामना गर्दै आइरहेकी कोपिलाको तीन वर्षअघि पाठेघरको क्यान्सरको उपचार गर्दै आइरहेकामा पछिल्लो समय फलोअपका क्रममा वंशाणुगत परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि स्तन क्यान्सरसमेत भएको थियो । 

त्यसपछि तीन साताअघि स्तन क्यान्सरकोसमेत शल्यक्रिया गरिएको छ । अहिले उनी भारतमै उपचाररत रहेकी छिन् । उनका पति रमेश तुफान पंडितले जेनेटिक परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि स्तन क्यान्सरसमेत देखिएकाले उक्त क्यान्सरकोसमेत शल्यक्रिया गर्नुपरेको बताए । 

पछिल्लो शल्यक्रियापछि कोपिलाको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए । हालै मात्र नेपाल आएका रमेशले भने, ‘उपचार राम्रो भइरहेको छ । शल्यक्रिया गरियो । तीन वर्षअगाडि ओभरीको क्यान्सरको अप्रेशन गरिएको थियो । अहिले ब्रेष्टको अप्रेशन गरिएको हो ।’

अब शल्यक्रियापछिको केमोथेरापी र इम्युनोथेरापीको कोर्ष गर्नुपर्ने बताए । चिकित्सकलाई उधृत गर्दै उनले भने, ‘केमोथेरापीको साइकल तथा वंशानुगत क्यान्सरको जिवाणु शरीरमा रहेकाले दुई वर्षसम्म औषधि खानुपर्ने छ ।’

आर्थिक अभावको पीडा
इलामेली चेली कोपिलाका पति रमेशले तीन वर्ष अगाडि देखिएको चौथो स्टेजको क्यान्सर र अहिलेको क्यान्सरको उपचार गर्दासम्म ७० लाख खर्च भइसकेको बताए । 

उनले यही स्थितिमा अझै थप ५० लाख रुपैयाँ खर्च लाग्ने बताए । उनले आर्थिक सहयोगका लागि अपीलसमेत गरेका छन् । 

त्यस्तै इलामे लोकदोहोरी गायक देवी गौतमकी छोरी क्यान्सर पीडित कोपिलाले पनि उपचारका लागि सघाउन सबैमा अनुनय गरेकी छिन् । 

उनले सामाजिक सञ्जाल फेसबुकबाट थप औषधि उपचारका लागि आर्थिक अभाव भएकाले स्वदेश तथा विदेशमा भएका व्यक्तिहरुलाई सघाउनका लागि अनुरोध गरेकी हुन् । 

उनले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बरसमेत दिएकी छिन् । उनले राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखाको खाता नम्बर १४२०१०००२२८८४०१० मा रकम पठाउन पनि आग्रह गरेकी छिन् ।

सहयोग कस्तो आइरहेको छ ? 
कोपिलाका पति रमेशले पछिल्लो समय १३ लाख रुपैयाँ सहयोग आएको बताए । उनले कलाकारहरुलेसमेत पनि सहयोग गरेको बताए । 

गोरखा सांस्कृतिक समाजले सहयोगका लागि आह्वानसमेत गरेको छ भने अमेरिकाको गो फण्डले पनि सघाइरहेको रमेशले बताए । अमेरिकामा ज्ञानेन्द्र गोदालले पनि सहयोग गरिरहेको उनको भनाइ छ । 

कलाकार सिर्जना विरही थापाले पनि आह्वान गरेर ८ लाख २९ हजार सहयोग गराइसकेको रमेशले बताए ।  

कोपिला लोक तथा दोहोरी गीत प्रतिष्ठानको उपाध्यक्ष पनि हुन् । उनलाई कलाकारहरुले व्यक्तिगत रुपमा सघाइरहेका छन् भने सामाजिक सञ्जालमा प्रचारप्रसार गरिरहेका छन् । 

तर रमेश भने अपेक्षा गरेअनुसारको सहयोग नजुटेको बताउँछन् । 

उनले आफ्नै पैसा लगेकाहरुलेसमेत पनि रकम नदिएर धोका दिएको दुःखेसो पोखे । उनले भने, ‘आफन्तीलेसमेत ठूलो धोका दिए लगेको नदिएर । थपेर दिनुपर्ने रकम उल्टै आफूले दिएको रकमसमेत नदिएकाले पनि पीडा भएको छ ।’

शिव परियारले गरे आग्रह
संगीत साधक एवं गायक शिव परियारले पनि कोपिलाको सहयोगका लागि आग्रह गरेका छन् । उनले २५ वर्षअघि बैशाखमै कोपिलालाई काठमाडौँमा भेटिएको स्मरण गर्दै आफू गरेको तर कोपिला जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । 

सामाजिक सञ्जालमा लेख्दै परियारले उपचारको क्रममा रहेकाले आफूले १० हजार रुपैयाँ सहयोग गरेको जनाउँदै सहयोग गर्न सक्ने कलाकार साथीहरुलाई पनि सहयोगका लागि विनम्र आग्रह गरेका छन् । 

न सरकारले सहयोग गर्यो न प्रधानमन्त्रीले नै गरे 
रमेश गोरखाका हुन् । उनी प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र सिरानचोक गाउँपालिका ३ का हुन् । 

यो नाताले पनि उनी प्रधानमन्त्रीसँग सहयोगका लागि अनुनय विनय गर्न पुगे । माओवादी केन्द्रका नेता एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ पनि त्यही क्षेत्रका भएकाले उनीसम्म पनि सहयोगका लागि कुरा पुग्यो । 

तर सहयोग भएन । प्रचण्डको आश्वासनबाट आफू सबैभन्दा निराश भएको रमेश बताउँछन् । 

उनी भन्छन्, ‘प्रधानमन्त्रीले मेरो घरमा पनि यस्तै अवस्था आएको थियो, मलाई यसको पीडा राम्रोसँग थाहा छ भनेर सहयोग गर्छु भन्नुभयो तर उहाँको बचनबद्धता पूरा भएन ।’

उनले पटक पटक प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरे पनि कुनै सहयोग नगरेको गुनासो गरे । 

कलाकारलाई राष्ट्रका गहना भनिन्छ तर कलाकार जीवनमरणको दोसाँधमा रहेका बेलामा राज्य पनि बैरी बन्दा पक्कै कलाकारहरुको मन कुँडिनु स्वभाविकै हो । 

यतिबेला कोपिलालाई आर्थिक सहयोगको खाँचो छ । यही अनुनय उनका पति रमेशले गर्दै आएका छन् । 

कोपिलाले आफ्नो जीउने आशा र पूर्ण रुपले स्वस्थ्य भएपछि फेरि पूर्वेली लोकदोहोरी संरक्षणमा लाग्ने हुटहुटीलाई कायमै राख्ने बताएर आफ्नो आयुलाई लम्ब्याउँदै गएकी छिन् । 

अब बाँकी छ त उनलाई सान्त्वना दिने सयौँ बोलीको र आर्थिक सहयोग गर्ने मनकारी हातहरुको । सरकारले उनको योगदानलाई उपेक्षा गर्न मिल्दैन ।

 

 



लोकप्रिय समाचार
नयाँ