arrow

साना दललाई हेप्ने प्रचण्ड र केपीको रणनीतिप्रति माधवको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
prachanda-oli-madhav-80.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेससँगको सहकार्यलाई तोडेर नेकपा एमालेसँग पछिल्लो पटक गठबन्धन गर्न पुगेका साना दलहरुबीच आपसमा भागबण्डा नमिल्दा विवाद उत्पन्न भएको छ । 

नेकपा एसलाई प्रदेश सरकारमा भागबण्डा मिलाउन नसक्दा लफडा उत्पन्न भएको हो । यही लफडाको कारण माधवकुमार नेपालले आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठक नै बहिष्कार गरेका थिए । 

सुदूरपश्चिम प्रदेशमा केन्द्रको सत्ता गठबन्धन विपरीत नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस सहितको गठबन्धनमा सहमति जनाउने संकेत गरेपछि झन् अप्ठेरोमा परेको छ । 

सत्ता गठबन्धनको आइतबार बालुवाटारमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीलाई दिने निर्णय गर्दा माधव नेपालले गठबन्धन बैठक नै छोडेर हिँडेका थिए । 

त्यसबाट स्पष्ट हुन्छ कि गठबन्धनमा खटपट छ साना दललाई एमाले र माओवादी केन्द्र मिलेर टाढा राख्न खोजिरहेका छन् । 

सुदूरपश्चिमको राजधानी धनगढीमा कांग्रेसको समर्थनमा गठबन्धनभित्रका दुई दल नेकपा एस र नागरिक उन्मुक्ति पार्टीले नाउपाका रेशम चौधरीनिकट लक्ष्मणकिशोर चौधरीलाई भावी मुख्यमन्त्रीमा अगाडि सारेपछि केन्द्रमा खैलाबैला मच्चियो । 

अन्नतः माधव नेपालले तत्काललाई कांग्रेसको साथमा नलाग्नु भन्नु परेको थियो । गठबन्धनको नेकपा एसले सुदूरपश्चिममा कांग्रेस सहितको गठबन्धनमा जाने संकेत गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गोप्य भेटघाट भएको थियो । 

एमाले र माओवादी मिल्ने बेलामा माधव नेपाललाई साथ नलिएका यी दुई अध्यक्षले नेपालको घरमा पुगेर सम्झाउनु परेको थियो । 

अहिले पनि सुदूरपश्चिम प्रदेशको सरकार गठनमा पनि यही अवस्था सिर्जना भएको थियो । उता नाउपाकै अध्यक्ष रञ्जिता श्रेष्ठ निकट कैलाश चौधरीले पनि एमाले र माओवादी केन्द्रको समर्थनमा आफूलाई मुख्यमन्त्री बनाउन भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका छन् । 

यसरी एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नाजिर मियाँले दुवै पक्षसँग छलफल गरे पनि सबै सदस्यलाई आ–आफ्नो पक्षमा उभ्याउन निर्देशन दिने बताइएको छ । 

यता केन्द्रको गठबन्धनमा असर पर्ने भएपछि माधव नेपालले फोन गरेर तत्कालै कांग्रेससँग सहमति नगर्न निर्देशन दिनु परेको थियो । 

केन्द्रको सहमतिअनुसार जान नेकपा एसका अध्यक्ष र महासचिवले प्रदेशका सांसदलाई निर्देशन दिएको नेकपा एसका प्रदेश सांसद तथा पूर्वमन्त्री नरेश शाहीले बताए ।

‘अध्यक्ष र महासचिवले गठबन्धनमा नै बस्न निर्देशन दिनुभएको छ । प्रदेशमा नेतृत्वले समयमा नै विवाद सुल्झाउन सकेन भने केन्द्रसम्म नै विवाद बढ्न सक्छ यसलाई नेतृत्वले बुझ्नुपर्छ भन्ने निर्देशन छ’, युवा संघका पूर्व अध्यक्षसमेत रहेका शाहीले भने । 

केन्द्रमा नयाँ गठबन्धन बनेपछि नेकपा एसले एक प्रदेशमा मुख्यमन्त्री मागेको थियो । गठबन्धनमा पनि सुदूरपश्चिम प्रदेशमा दोस्रो कार्यकाल मुख्यमन्त्री दिने सहमति भएको छ तर नेकपा एसका प्रदेश सभाका दलका नेता दीर्घ सोडारी पहिलोपटक नै मुख्यमन्त्री हुनुपर्ने चाहना राखेका थिए । 

यता बागमती प्रदेशमा पनि दोस्रो पटकमा पालो परेपछि सुदूरपश्चिममा पहिलो पालो एसले मागेको थियो । बागमतीमा माओवादीका नेता शालिकराम जम्कट्टेलले हाम्रो नेपाली पार्टीलाईसमेत मिलाएर सरकार बनाएपछि बाध्य भएर एस पनि सहभागी भएको थियो । 

साथै एसलाई अर्को पटक मुख्यमन्त्री दिने सहमति गरिएको थियो । गठबन्धन दलहरुमध्ये एमालेलाई कोशी, कर्णाली र गण्डकी, माओवादीलाई लुम्बिनीमा पूरै कार्यकाल तथा बागमतीमा आधा कार्यकाल बाँडफाँट गरिएको थियो । 

नाउपालाई सुदुरपश्चिम प्रदेशको आधा कार्यकाल दिने सहमति भएको थियो । मधेस प्रदेश जसपालाई दिइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ