arrow

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
uml-lalitpur-oli-conventation-2078-2.jpg
तस्बिर : फाइल

काठमाडौँ। सरकारको कामलाई भन्दा पार्टी सङ्गठनलाई बढी जोड दिएको एमालेले आगामी वैशाखको पहिलो साता महाधिवेशन प्रतिनिधि परिषद्को बैठक राख्ने भएको छ। एमाले स्थायी कमिटीको बैठकले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा महाधिवेशन प्रतिनिधि परिषद् सदस्यरतको बैठक बोलाउने निर्णय गरेपछि फागुन २५ गते बसेको एमाले सचिवालय बैठकले वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय गरेको हो। ‘वैशाख ८ र ९ गते पार्टी महाधिवेशन प्रतिनिधिहरूको बैठक गोदावरीमा हुनेछ,’ पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनका पार्टी स्थापना दिवस वैशाख १० गते भव्य रूपमा मनाउने तयारी भइरहेको छ। यसका साथै स्थायी समिति सदस्य तथा केन्द्रीय प्रचार विभागका प्रमुख गौतमले पार्टीले प्रत्येक वर्ष विभागहरूसँग वार्षिक कार्य योजना मागेर काम गराइरहेकाले उनीहरूले गरिरहेका काम र परिणामबारे जानकारी लिने र राज्यका मन्त्रालयसँग मिल्ने गरी गठित विभागलाई उनीहरूलाई आवश्यक सुझाव दिन निर्देशन दिने उद्देश्य राखेर बैठकमा छलफल गर्नेछ। ‘वार्षिक कार्य योजनाअनुसार पार्टीका विभिन्न विभागहरू तथा प्रतिनिधि परिषद् सदस्यहरूले के–कसरी काम गरिरहेका छन्, परिणाम के छ जानकारी लिने र राज्यका मन्त्रालयसँग मिल्ने गरी गठन भएका विभागले सम्बन्धित मन्त्रालयलाई सरकारको काममा सहयोग पुग्ने गरी आवश्यक नीतिगत सुझाव दिन निर्देशन दिनका लागि बैठक बोलाइएको हो,यसअघि विभागीय बैठकहरू सकिएका छन्’, प्रचार विभाग प्रमुख गौतमले भने।

आगामी दुई वर्षभित्र एमालेले सङ्गठन विस्तारको क्रममा पार्टी सदस्य सङ्ख्या १० लाख पुर्‍याउन योजना बनाएको छ। ७७ वटै जिल्ला कमिटी र पार्टीका विभिन्न विभागहरूलाई गरिएको सर्कुलर मै पार्टी सदस्यको सङ्ख्या बढाउन निर्देशन दिइएको छ। अहिले कायम करिब ६ लाख हाराहारी सदस्य सङ्ख्या बढाएर १० लाख पुर्‍याउने गरी काम गर्न प्रदेश, जिल्ला, पालिका र वडा कमिटीहरूलाई एमाले महासचिव शङ्कर पोखरेलले गरेको सर्कुलरमा उल्लेख छ। ‘एघारौँ महाधिवेशनसम्ममा सक्रिय सदस्य सङ्ख्या नै १० लाख पुर्‍याउनु पर्नेछ।

प्रत्येक गाउँपालिकाले एक वर्षमा कम्तीमा ५० जना, नगरपालिकाले सय जना, उपमहानगरले एक सय ५० जना र महानगरपालिकाले दुई सय जना ४० वर्षमुनिका युवाहरूलाई पहिचान गरी नेतृत्व विकासको प्रशिक्षणसहित पार्टीमा आबद्ध गराउनुपर्दछ,’ सर्कुलरमा उल्लेख छ । २०७९ पुस १० पछि दोस्रो पटक सरकारमा सहभागी भएको एमालेले पहिलो पटक प्रतिनिधि परिषद् सदस्यहरूसँग सरकारको काम कारबाही र पार्टी सङ्गठनको बारेमा सामूहिक छलफल गर्ने भएको हो।

पार्टी स्थापना दिवस भव्य रूपमा मनाउने र आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी मात्र नभई बहुमत प्राप्त गराउने गरी सबै नेता कार्यकर्तालाई परिचालन गराउने उद्देश्यले बैठक आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। आइतबार पनि एमाले कार्यालय व्यवस्थापन समितिको बैठक बस्दै छ। सोही बैठकले सचिवालय बैठक तय गर्ने एमाले कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार सचिवालय बैठकले आगामी परिषद् बैठकको एजेन्डा तय गर्नेछ।

परिषद् बैठकका लागि देशभरबाट नेता कार्यकर्ताहरू काठमाडौँ आउने भएका छन्। एमालेले प्रदेश अधिवेशनपछि जेठभित्र जिल्ला अधिवेशन गरिसक्न निर्देशन दिइसकेको छ। त्यसैअनुसार जिल्ला अधिवेशनहरू भइरहेका छन्। सबै जिल्लामा नयाँ नेतृत्व चयन गरेर उत्साहका साथका अघि बढ्ने एमालेले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ