arrow

खानेपानीद्वारा सात करोड भुक्तानी गर्न बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
damauli-khanepani.jpg

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित तीन वडामा खानेपानी वितरण गर्दै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई करिब रु सात करोड भुक्तानी गर्न बाँकी छ ।

दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत नगर विकास कोषले दमौली खानेपानीलाई ऋण उपलब्ध गराएकामा संस्थाले रु छ करोड ९८ लाख ६८ हजार तीन सय १८ भुक्तान गर्न बाँकी रहेको छ । विसं २०७० असार २० गतेको सम्झौताअनुसार नगर विकास कोषले संस्थालाई रु १२ करोड ६७ लाख ३२ हजार दुई सय ९६ ऋण उपलब्ध गराएको थियो । 

खानेपानी आयोजना निर्माणका क्रममा नेपाल सरकारको ५० प्रतिशतले हुन आउने रु १२ करोड ६७ लाख ३२ हजार दुई सय ९६, उपभोक्ता संस्थाको रु १२ करोड ६७ लाख ३२ हजार दुई सय ९६ लगानी गरिएको थियो । त्यसमध्ये पनि रु १२ करोड दुई लाख ७७ हजार एक सय ७४ संस्थाले र रु ६४ लाख ५५ हजार एक सय २२ जनताबाट उठाएको थियो । 

दमौली खानेपानी संस्थाले व्यास नगरपालिका-२, ३ र ४ मा खानेपानी सुविधा उपलब्ध गराउँदै आएको छ । यी तीनवटा वडामा तीन हजार छ सय ५० निजी धारा र एक सय २२ कार्यालय तथा सङ्घसंस्थाका गरी तीन हजार सात सय ७२ धारा जडान गरिएको संस्थाका सचिव योगिता श्रेष्ठले जानकारी दिए । 

आयोजनाको मुख्य स्रोतहरु गुणादी बाराही मूल खानेपानी मुहानदेखि फिल्टर ट्याङ्कीसम्म ९।२ किमी, मादी नदी सम्वेलदेखि बाघभञ्ज्याङ फिल्टर ट्याङ्कीसम्म ०.९५ किमी, बाघभञ्ज्याङस्थित फिल्टर ट्याङ्कीदेखि साँखरसम्म १.१९५ किमी र साँखरदेखि शीतलचोक ट्याङ्कीसम्म ०.४४० किमी हुन् । 

आयोजनाअन्तर्गत दुईवटा इन्टेक, तीनवटा ग्रिट च्याम्बर, पाँचवटा पानीपोखरी, पानी प्रशोधन प्रणाली, २।६३ किमी मुख्य प्रसारण लाइन, ६२ किमी वितरण पाइप सञ्चालनमा रहेको श्रेष्ठले बताए ।

मादी नदीस्थित पम्पिङ प्रणालीबाट पानी तानेर फिल्टर गरी वितरण गर्ने उद्देश्यसहित विसं २०६९ पुस २० गते चौपक्षीय सम्झौता भएको थियो । आयोजनाको निर्माण विसं २०७५ असार मसान्तमा सम्पन्न भएको थियो । हाल दमौली बजारमा दैनिक ३१ लाख लिटर पानी आवश्यक पर्ने भए पनि आवश्यकता अनुसारको पानी वितरण हुन नसकेको संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए । 

संस्थाले तीन वडामा चौबिसै घण्टा पानी उपलब्ध गराउने लक्ष्य राखे पनि सफल हुन नसकेको उहाँको भनाइ छ । उनले भने, “अहिलेको आर्थिक मन्दी, सडक विस्तारका कारण पानीका संरचनामा क्षति, गुणादी बाराही मूलमा समय समयमा समझदारीको उपयुक्त वातावरण नहुनुजस्ता कारणले उपभोक्तालाई लक्ष्यअनुसारको सेवा दिन सकिरहेको छैन ।”

बढ्दो जनसङ्ख्याको चापलाई यथास्थितिमा थेग्न कठिन भएकाले सहरी खानेपानी विकास आयोजनाबाट सवा तीन करोडको योजना स्वीकृत गराई ठेक्का बोलपत्र हुँदा रु एक करोड ८० लाख छ हजार चार सय ९१ को आयोजनाको काम पनि अगाडि बढेको जनाइएको छ । श्रेष्ठले भने, “सो आयोजना विस्तार भएपछि दमौली बजारभित्र पानीको अभाव देखिएका सत्यवती लाइन, मालपोत लाइन, देउराली नगरमा पानीको अभाव हुनेछैन ।”

संस्थाले ० देखि ७ युनिटसम्म न्यूनतम् रु एक सय महसुल दर निर्धारण गरेको छ । साथै ८ देखि १० युनिटसम्म प्रतियुनिट २५, ११ देखि १५ सम्म प्रतियुनिट रु ३०, १६ देखि २० सम्म प्रतियुनिट ३५, २१ देखि २५ सम्म प्रतियुनिट ४०, २६ देखि ३० सम्म प्रतियुनिट ४५ र ३१ माथि प्रतियुनिट रु ५० कायम गरिएको छ । 

संस्थाले व्यास नगरपालिका-२, ३ र ४ क्षेत्रमा खानेपानी सेवा सञ्चालनलाई निरन्तरता दिनाका साथै गुणादी मुहानलाई व्यवस्थित गर्ने, जनसङ्ख्याको बढ्दो चापलाई दृष्टिगत गर्दै बजारमा पर्याप्त खानेपानी उपलब्ध गराउन नयाँ स्रोतको खोजी गर्ने तयारी गरेको छ । 

भावी योजना

संस्थाले सहरी विकास खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत स्वीकृत थप आयोजना सम्पन्न गर्ने कार्यलाई भावी योजनाका रुपमा अघि सारेको छ । व्यास २, ३ र ४ मा थप तीन किलोमिटर पाइप लाइन विस्तार, बाराही मूल गुणादीबाट परम्परागत रुपमा ल्याइएको खानेपानीको सुनिश्चितता व्यवस्थापन गर्नेलाई भावी योजनाका रुपमा राखिएको छ । 

आर्थिक वर्ष २०८१/८२ देखि खानेपानी सुरक्षा लागू गर्ने र नगर विकास कोषलाई तिर्नुपर्ने ऋणको साँवाब्याज किस्ताबन्दीका रुपमा भुक्तानी दिने कार्य अघि बढाइने संस्थाका सचिव श्रेष्ठले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ