arrow

उम्मेदवार चयनमा रस्साकस्सी

दुई उम्मेदवार छान्न कांग्रेसलाई सकस

मंगलबारको कार्यसम्पादन समितिको बैठक स्थगित, बुधबारलाई बैठक डाकेपछि एकाएक ताते पदाधिकारी, देउवा निवासमा घनिभूत छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
congress-flag3.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसलाई उपनिर्वाचनका लागि दुई उम्मेदवारको टुङ्गो लगाउन सकस परेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार ढिला गरी कार्य सम्पादन समितिको बैठक बसे पनि त्यसले सार्थक परिणाम दिन नसकेपछि बुधबार दिउँसो २ बजे पुनः बसेर टुङ्गो लगाउने निर्णय गर्दै स्थगित भएको हो । 

यद्यपि बुधबार दिउँसो २ बजे बैठक बस्ने भनिए पनि मंगलबार रातिसम्मै सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु बद्री पाण्डे, जीवन परियार लगायतका पदाधिकारीहरु छलफलमा जुटेका छन् । 

सकभर मंगलबारै उम्मेदवारको टुंगो लगाएर सकारात्मक सन्देश दिन नेताहरु लागिपरेका हुन् । 

यसअघि साँझ कार्य सम्पादन समितिको बैठकअघि पटक पटक सहमतिका लागि अनौपचारिक छलफल भए पनि नेताहरु आफ्नो अडानमा रहेपछि बिना निष्कर्ष टुंगिएको थियो । 

खासगरी बैठकमा सभापति देउवाले आफ्नो विचार नराखी अन्य नेताका कुरा सुनिदिँदा समाधान ननिस्केको एक सहभागी नेताले जनाए ।

उनका अनुसार उपसभापति पूर्णबहादुर खड्का र ज्ञानेन्द्र कार्कीले निरन्तर एउटा पक्षलाई बोक्दा अन्य नेताहरुले अर्कै नेता बोक्न पुगेका थिए । 

बैठकमा इलाम २ को प्रतिनिधि सभा सदस्य र बझाङ १ (क) को प्रदेश सभा सदस्यका लागि उम्मेदवार टुंगो लगाउन बुधबार दिउँसो पुनः बैठक बस्न लागेको हो । 

यसअघि सोमबार सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेर सम्भावितहरुको बारेमा छलफल गरेका थिए । 

सो छलफलमा स्थलगत अध्ययन गरेका नेताहरुले जानकारी गराएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले आन्तरिक रुपमा कांग्रेस एकढिक्का भए दुवै सिटमा कांग्रेसले जित्ने बताएका थिए । 

उनले कांग्रेस अहिले बलियो रहेको र नेताहरुबीच समझदारी भएर बलियो उम्मेदवार उठाउने हो भने दुवै सिट कांग्रेसले जित्ने बताएका थिए । 

त्यस्तै सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले बझाङ १ (क) का आकांक्षी र उनीहरुको पकडका बारेमा जानकारी गराएका थिए । 

सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पनि स्थानीय तहमा अहिले कांग्रेस बलियो भएकाले पनि जित टाढा नरहेको बताए । तर कांग्रेसबीचको एकता अनिवार्य भएकामा उनको जोड थियो । 

मंगलबारको छलफलका क्रममा डा. शेखर कोइराला र डा. शशांक कोइरालाले विशेष गरी इलाम २ मा जसको नाम एक नम्बरमा छ उसैलाई उम्मेदवार बनाउनु पर्ने अडान राखेका थिए । उनीहरुले तल्लो तहबाट आएको सिफारिसलाई केन्द्रले तलमाथि गर्न नमिल्ने बताएका थिए । 

महामन्त्री गगनकुमार थापाले पनि विभिन्न तहबाट लिइएको तथ्याङ्क र अनुसन्धानलाई आधार बनाएर त्यहाँको वस्तुस्थितिबारे जानकारी दिएका थिए । उनले बलियो उम्मेदवारलाई नै प्राथमिकता दिनुपर्ने बताएका थिए । 

इलाम २
इलाम २ मा यसअघि एमालेले जितेको थियो । एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र खाली भएको हो । नेम्वाङले त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बर खड्कामाथि संघर्षपूर्ण जित हासिल गरेका थिए । 

जसका कारण यसपालि एमालेलाई जितका लागि निकै संघर्ष गर्नुपर्ने देखिएको छ । एमालेले नेम्वाङकै छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीलाई लिएर एमालेभित्रै फुट देखिएको छ । 

नेम्वाङ जीवित छन्जेल निरन्तर आफू नै चुनाव लडिरहेको र निधन भएपछिसमेत उनकै छोरालाई उम्मेदवार बनाइएपछि असन्तुष्टि ब्याप्त भएको हो । 

यही असन्तुष्टहरुको मत पनि कांग्रेसले लिने गरी बलियो उम्मेदवार उठाउनुपर्नेमा पदाधिकारीहरुले जोड दिएका छन् । 

उपनिर्वाचनका लागि कांग्रेस क्षेत्रीय कार्यसमितिले चैत ६ गते उम्मेदवारको नाम सिफारिस गरेको थियो । इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो ।

बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाइएको छ । दोस्रो नम्बरमा पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधान सभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको छ ।

 बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम तेस्रो नम्बरमा सिफारिस गरेर पठाएको छ । सिफारिस भएका नामहरू जिल्ला र प्रदेश कार्यसमितिले राय लेखेर पठाएका छन् भने केन्द्रले आज फाइनल गर्दैछ । 

विशेष गरी आचार्य र खड्कामध्ये एकको सम्भावना बलियो रहेको बताइएको छ । 

इलाम २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ । राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको निधनपछि मुख्य प्रतिस्पर्धी एमालेभित्र उम्मेदवारमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले यसपटक सकारात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ । 

बझाङ १ (क) 
बझाङ प्रदेश सभा १ का सांसद एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते सवारी दुर्घटनामा परी निधन भएको थियो । 

त्यसपछि उक्त क्षेत्र खाली छ । उक्त क्षेत्रमा अहिले स्वर्गीय सिंहका छोरा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम सिफारिस भएको छ । 

सबै एकसे एक भए पनि स्वर्गीय सिंहका छोरा अभिषेकको सम्भावना बलियो भएको बुझिन्छ । उनलाई सहानुभूतिको भोटसमेत आउने आँकलन भइरहेको छ । दुर्घटनामा उनका बाबुमात्र हैन आमा अमृताकोसमेत निधन भएको थियो । 
 



नयाँ