arrow

यसरी मौलाउँदैछ ट्राफिकको असुली धन्दा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
traffic-asuli-80-siraha.jpeg

सिराहा । सिराहामा ट्राफिक प्रहरीको अवैध असुली धन्दा अझै रोकिन सकेको छैन । व्यापक असुली गरेको गुनासो बढेपछि सरकारले विद्युतीय भुक्तानी प्रणाली लागू गरे पनि सिराहा ट्राफिक प्रहरीको असुली धन्दा अझै रोकिन नसकेको हो । 

पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, विङ्गर), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुसँग मासिक असुली गर्ने प्रकृया अझै नरोकिएको व्यवसायीहरु बताउँछन् ।

म्याजिक र विङ्गरहरुले क्षमताभन्दा बढी बोक्न पाउने सुविधा बापत व्यवसायी संघबाटै प्रत्येक महिनामा एकमुष्ट रकम जाने गरेको नाम नबताउने सर्तमा एक सवारी संघका पदाधिकारीले बताए । उनले भने,  ‘यसरी नै चल्दै आएको छ। दक्षिणा नटक्रयाए विभिन्न बहानामा दुःख दिने गर्छ। त्यसैले पनि सबैबाट थोरै थोरै उठाएर हामीले ट्राफिकलाई दिने गरेका छौँ ।’

यो प्रकृया जिल्लाका सवै ट्राफिक पोष्टमा त जान्छ नै लहानदेखि बर्दिवास सम्मका ट्राफिक मिलाउनु पर्ने बाध्यता रहेको उनले बताए । 

दिनभरि गाडी चलाएर ड्राइभर, खलासी, तेलको लागत कट्टा गरी मुस्किलले हजार १५ सय हात पर्ने गरेको लहान बर्दिबास चल्ने एक म्याजिक व्यवसायीले बताए।  उनले भने, ‘दिनभर सडकमा गाडी कुदेर घर फर्कदा आफ्नो हातमा पर्ने रकमको टुङ्गो हुँदैन तर संगठनमा रकम बुझाउनै पर्छ ।’

त्यसैगरी ओभरलोड गरेर सिराहा क्षेत्रमा हिँड्ने प्रत्येक ट्रकले मासिक एक देखि दुई हजार, ट्याक्टरले एक हजार देखि १५ सय सम्म बुझाउनु पर्ने बाध्यता नै रहेको व्यसायीहरु गुनासो गर्छन् ।
 
व्यवसायीहरु बताउँछन्, ‘थोरै लोड गरे पनि पोसाउँदैन, ओभरलोड गर्दा अलिकति फाइदा हुन्छ कि भन्ने हो। त्यो पनि बाटोको ट्राफिक नमिलाई हुन्न ।’ 

आर्थिक मन्दिका कारण मुस्किलले उद्योग चलाइरहेका सिरहाका इँटा व्यवसायीहरु ट्राफिक प्रहरीको असुली धन्दाको मारमा परेको बताउँछन् । उनीहरुले आफ्नो इँटा पुग्ने रुटमा सिजनको बेला प्रत्येक महिना १५ सयदेखि तीन हजार एउटा ट्राफिक बिटमा बुझाउनु परेको गुनासो गर्छन् ।
 
‘थोरै इँटा लग्दा पोस आउँदैन, ड्राईभर तिनै पर्यो, तेल खर्च भईनै हाल्छ। अलिकति बढी लोढ गर्यो ट्राफिक मनाउनै पर्यो जताबाट पनि व्यवसायी नै मारमा पर्छन्,’ इँटा व्यवसायी प्रमोद सिंहले भने, ‘यस्तै हो सवैले चल्नै पर्यो मिलाएर काम गर्नै पर्छ। काम गर्ने भए पछि कतिसँग नियम कानुनको कुरा गर्दै हिड्ने।’

सिराहामा ५५ भन्दा बढी इँटा उद्योगको करिव तिन सय ५० वटा ट्याक्टर नियमित चल्ने गरेको छ। त्यतिकै संख्यामा सिमेन्ट उद्योगमा चल्ने ट्रक, टिफर छन्। साना सवारीको संख्या भने हजारको आसपासमा रहेको व्यसायीहरु  बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ