arrow

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको ऐक्यबद्धता र अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
prakash-pant-apangata-samsad.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले प्रचलित कानूनमा व्यवस्था भए बमोजिम पूर्ण र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताका आधारमा राज्यले सहयोगी सेवा र सामग्री उपलब्ध गराउनुपर्ने मागसहित काठमाडौंको रत्नपार्क, शान्ति बाटिकामा गत सातादेखि जारी धर्नामा ऐक्यबद्दता जनाएको छ । 

पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्नाका सम्बन्धमा अपाङ्ग सङ्घले ध्यानाकर्षण भएको जनाउँदै उक्त धर्ना र आन्दोलनको पूर्ण समर्थन गर्दै ऐक्यबद्धता जनाएको हो । 

पटक पटकका आन्दोलन र अभियानको सफलतासँगै संविधान सभाबाट संविधान जारी भएको झन्डै एक दशक बितिसक्दा पनि संवैधानिक तथा कानूनी हक र अधिकार प्राप्तिका लागि अझै पनि आन्दोलन गर्नुपर्ने अवस्था आउनु लोकतान्त्रिक तथा लोककल्याणकारी राज्यका लागि लज्जाको विषय भएको भन्दै संङ्घले संविधानतः आर्थिक, सामाजिक, शारीरिक रूपमा कमजोर र जोखिमको अवस्थामा रहेका नागरिकहरूको विशेष व्यवस्थासहित संरक्षण गर्नु राज्यको दायित्व भएको अध्यक्ष प्रकाश पन्थले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा नियमावली २०७७, नेपाल पक्ष राष्ट्र भएको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासिन्ध, २००६ मा व्यवस्था भएका प्रावधानहरू लागू गरियोस् भन्दै विभिन्न निकायमा पटक पटक आन्दोलन गर्दासमेत माग पूरा हुन नसक्नु गैरजिम्मेवारी, विडम्बनापूर्ण र मानवअधिकारको गम्भीर उल्लङ्घनसमेत भएको पन्थको विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिमा भनिएको छ, 'अनिश्चितकालीन धर्नामा बस्नुभएका दीपक भण्डारीलगायत अपाङ्गता भएका व्यक्तिहरूले उठाएका मागहरूप्रति नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै उक्त मागहरू छिटोभन्दा छिटो सम्बोधन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ । विभिन्न राजनीतिक दल र तिनका भ्रातृसंस्था र जनप्रतिनिधि, सरोकारवाला, सङ्घसंस्था, अधिकारकर्मी, अभियन्ता, नागरिक समाज, पत्रकारलगायत सबैमा उक्त सवालमा साथ, सहयोग र समर्थनका लागि राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ हार्दिक अपिलसमेत गर्दछ ।'

यस्तो छ अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि नियमावली २०७७ 
नियम ९: सामुदायिक सहायता सेवा : 
(१) पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई त्यस्ता व्यक्तिको आवश्यकता अनुसार देहाय बमोजिमका सामुदायिक सहायता सेवा उपलब्धताको आधारमा नि: शुल्क रुपमा उपलब्ध गराइनेछ :-
(क) व्यक्तिगत सहयोगी सेवा पूर्ण अशक्त
तथा अति अशक्त अपाङ्गता भएका
व्यक्तिका लागि आवश्यकता अनुसारका आधारभूत सहयोगी सेवा,
(ख) दैनिक हेरचाह तथा स्याहार सेवा :
अपाङ्गता, श्रवण पूर्ण अशक्त दृष्टिविहीन अपाङ्गता, बौद्धिक अपाङ्गता, अटीजम वा मनोसामाजिक अपाङ्गता भएका दैनिक रूपमा निरन्तर हेरचाह तथा सहयोग आवश्यक पर्नेअवस्थाका अपाङ्गता भएका व्यक्तिका लागि परिवारको कुनै सदस्य वा संरक्षक नभएको अवस्थामा सम्बन्धित स्थानीय तह मार्फत उपलब्ध हुने हेरचाह तथा स्याहारको सेवा र स्थानीय तहमा पुनर्स्थापना कार्यक्रम मार्फत उपलब्ध हुने आवश्यक
आधारभूत थेरापी, पुनर्स्थापना, दैनिक जीवनयापन सीप, सामाजिकीकरण सीप लगायतका सेवा,
(ग) क्लिनिकल परामर्श तथा रेफरल सेवा : स्थानीय स्वास्थ्य संस्था मार्फत अपाङ्गता भएका व्यक्तिको लागि उपलब्ध हुने आवश्यक क्लिनिकल
परामर्श सेवा तथा स्वास्थ्य उपचारसँग सम्बन्धित रेफरल सेवा,
(घ) सामान्य परामर्श तथा दौतरी परामर्श सेवा : नेपाल सरकार वा स्थानीय तह मार्फत स्थानीयस्तरमा सञ्चालित पुनर्स्थापना केन्द्र वा विभिन्न व्यक्ति वा अपाङ्गता सम्बन्धी गैर सरकारी संस्थाबाट सञ्चालित पुनर्स्थापना केन्द्रहरू मार्फत उपलब्ध गराइने सामान्य परामर्श सेवा दौतरी परामर्श सेवा, अभिभावक परामर्श सेवा जस्ता सेवा ।
(२) उपनियम (१) बमोजिमको सेवा प्रदान गर्नका लागि आवश्यक बजेट नेपाल सरकारले सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ