arrow

ब्रह्मायणी मेलाको पौराणिक साख जोगाउन चुनौती 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० चैत १३ मंगलबार
brahmayani-mela-kavre.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकास्थित ब्रह्मायणी माताको रथ यात्रा गरिएको छ। नगरपालिकाको वडा नम्बर ५ मा रहेको उक्त मन्दिरबाट माताको मूर्तिलाई वडा नम्बर ६ स्थित गैरिबिसौना माईपाटीमा राखिएको हो । 

हरेक वर्ष फाल्गुन शुक्ल पूर्णिमाको दिनदेखि शुरु हुने रथ यात्रा तीन दिनसम्म चल्ने स्थानीयहरूले बताएका छन् । परापूर्व कालदेखि चल्दै आएको जात्रामा सबै जातजाति, भाषाभाषी र जन समुदायको सहभागिता रहने छ। 

उक्त दिन सूर्यास्तपछि (माई अन्माएपछि) खाना खान नहुने स्थानीय चूडामणि डोटेलले बताए । उनका अनुसार माईलाई गहना लगाएर, शृङ्गार गरी भजन कीर्तन गाएर बाजा बजाई अन्माउने गरिन्छ। माईलाई बेहुली झैँ सजाएर मन्दिर परिसरबाट रथ यात्रासहित गैरिबिसौनस्थित माइतीघर माईपाटीमा ल्याउने चलन छ । 

त्यसको भोलिपल्ट मध्यरात १२ बजे पुनः रथ यात्रा गरी घुमाउने भन्ने स्थानमा माईको मावली लैजाने गरिएको छ। पूर्णिमाको पर्सीपल्ट बिहान मावलीबाट मन्दिरमा नै लगिन्छ। ब्रह्मायणी माईको उत्पत्ति विक्रम सम्वत १४०८ भदौ महिनामा दुलालहरूको भण्डारमा भएको जनविश्वास रहिआएको छ । 

माईको उत्पत्ति भएको स्थानमा दुलाल परिवारको घर थियो । दुलाल परिवार त्यसपछि माई उत्पन्न भएको स्थानबाट स्थानान्तरण भई केही तल भदौरेमा बस्न थाले । 

सो स्थानमा मन्दिर बनाई माईको स्थापना गरिएको थियो । दुलालको परिवारमा माईको उत्पत्ति भएकाले दुलालहरूको परिवारमा सुत्केरी पर्दा पनि पूजाआजा गर्दा कुनै भार नलाग्ने मन्दिरका पुजारी तिलकमान बज्राचार्यले बताए । 

सुत्केरी महिला बसेको ठाउँमा रातको समयमा जमीन उचाल्ने र  कम्पन दिने हुन थाल्यो । त्यसपछि उनका श्रीमान् आएर हेर्दा केही नदेखेपछि पुनः सोही स्थानमा सुत्केरी सुतेको र फेरि पनि कम्पन दिन थालेपछि त्यस स्थानमा कोदालोले खन्दा माईको तालु काटियो र माईको उत्पत्ति भएको इतिहास पाइन्छ । 

यस मन्दिरमा पुजारीको १४ चौधौँ पुस्ताले पूजा गर्दै आएको छ। त्यहाँको ऐतिहासिक पुरानो मूर्ति २०२८–२९ सालतिर चोरी भएको अनुमान गरिन्छ। हाल स्थानीयहरूको सक्रियतामा नयाँ मूर्ति ल्याएर राखेको स्थानीय युवा प्रदीप न्यौपानेले बताए । 

उतिबेला जात्रा सञ्चालनार्थ ब्रह्मायणी माईको गुठी स्थापना गरिएको थियो । सो गुठीबाट मन्दिरमा चिउरा दिने गुठी, दाउरा दिने गुठी, बाजा बजाउने लगायतका गुठीहरू थिए । हाल सो गुठीहरू लोप हुँदै गएका छन् ।

यो मण्डनदेउपुर नगरपालिका भित्रको ठूलो धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको मेला हो। स्थानीयहरूका अनुसार यो मन्दिरलाई व्यवस्थित गर्न र हराएको मूर्ति खोजी गर्नको निम्ति स्थानीय सरकार तथा पुरातत्त्व विभागले पहलकदमी लिनु पर्ने आवश्यकता देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ