arrow

सिक्लेसमा तामाङको हत्या, श्रीमतीसहित चार जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
murder-pakrau.jpg

पोखरा । कास्कीमा सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ३ का ३६ वर्षीय रामबहादुर तामाङको हत्या भएको छ ।

फागुन १ गते बिहान ११ बजे कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेसस्थित हाइड्रोपावर नजिकै उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । तामाङ हत्यामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगचोकगढी-१ का ३० वर्षीय धनबहादुर लामा भन्ने धन लामा, सिन्धुपाल्चोक जुगल-३ घर भई साँगचोकगढी-३ मा डेरामा बस्दै आएकी ३५ वर्षीया च्याङमा लामा भनेर चिनिने कान्छी लामा तामाङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ६ का १८ वर्षका नवीन तामाङ भनिने फुर्वा लामा र अजित तामाङ भनिने छेदोर्जे लामा छन् ।

पक्राउ परेकामध्ये कान्छी लामा तामाङ मृतक रामबहादुरकी श्रीमती हुन् । उनले नै हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । कान्छीकै योजना बमोजिम धनबहादुर लामाले चैत १ गते सिक्लेसमा रामबहादुरको टाउकोमा ढुंगाले प्रहार गरी हत्या गरेका थिए ।

हत्याको गर्दैगर्दाको दृश्य नवीन र अजितले देखेका थिए र घटना लुकाउन जनही २० हजार रुपैयाँ लिएका थिए । अनुसन्धान गर्नेक्रममा धनबहादुर कान्छीका प्रेमी भएको खुलेको समेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामबहादुर र कान्छीबिच लामो समयदेखि विवाद र मनमुटाव हुँदै आइरहेको थियो । यसैबीचमा धनबहादुरसँग प्रेमसम्बन्ध झागिँदै गएपछि कान्छीले हत्याको योजना बनाएकी थिइन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ