छानबिन समितिको मागपछि गृहमन्त्री लामिछाने - हामीले कामले जवाफ दिने हो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
890
Shares
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई कामले जवाफ दिने बताएका छन् । संसदीय छानबिन समितिको मागपछि मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि कांग्रेसलाई चुनौती दिए ।
उनले कांग्रेसलाई चार वर्ष नै संसद गरिरहने र यही संयन्त्रले चार वर्ष काम गर्न पाए अहिले संसद्मा उपस्थित कांग्रेसका कतिपय सांसदहरू सांसद नै नरहने बताए । चिटिक्क परेर अनियमितता गर्ने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गरे ।
उनले भने,' एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली कांग्रेस दूधले नुहाएको पार्टी हो की होइन ? भन्ने कुरा नेपाली जनताले बुझेका छन् । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो । कांग्रेसले चार वर्ष संसद अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले चार वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता, सुशासन गर्ने ?’
उनले आफू सरकारमा रहेको र प्रत्येक दिन गरिएको कामले आफैँ बोल्ने बताए । उनले कांग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए ।
उनले भने, ‘मैले केही भन्नै पर्दैन नि । कामले बोलिरहेको छैन र ? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ, जस्तो लागेको थियो, तर साथीहरूको प्रश्न त सकिएको छैन जस्तो छ । संसदीय छानबिन समिति माग गरिएको छ, त्यो उनहरूले माग्ने कुरा हो । माग्ने कुरा आफ्नो ठाउँमा छ । कुन ढङ्गले जान्छ हेरौँ । विवाद हुनु र गराइनु फरक छ । विवादबाट मुक्त कहिल्यै हुँदैन । हामी काम गर्न अघि बढेका छौँ । कामको सङ्केत देखिरहनुभएको छ । जुन ढङ्गले संसद अवरोध भएको छ ।'