arrow

सार्वजनिक मञ्चमा नयाँ अर्थमन्त्रीको पहिलो सम्बोधनः तीन सन्देश, तीन सिकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
barshaman-pun-80-12-03.jpg

काठमाडौँ । शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा शनिबार आयोजित व्यवस्थापन सम्मेलनमा अर्थमन्त्री वर्षमान पुन सहभागी थिए । अर्थमन्त्री भएपछि सम्भवतः सार्वजनिक मञ्चमा उनको यो पहिलो सम्बोधन थियो । यद्यपि उनले विभिन्न भेटघाट, डेलिगेसन र संसद्को सम्बोधनमार्फत् पनि आफ्नो धारणाहरु व्यक्त गर्दै आएका छन् । 

पुनको सम्बोधन अन्य भेटघाट, छलफल वा डेलिगेसनमा दिएका मन्तव्यभन्दा अलग थिएनन् । तर उनले विषयहरुलाई जुन रुपमा उठाए, त्यसले अर्थ मन्त्रालयको अबको प्राथमिकतालाई प्रष्ट पार्दथ्यो । 

शनिबारको सम्बोधनमार्फत् उनले तीनवटा कुराको सन्देश प्रष्ट दिएका छन् । उनको यो सम्बोधनले खासगरी वित्तीय क्षेत्र र निर्माण क्षेत्रको मनोबल उकास्न खोजेको जस्तो देखिन्छ ।

सम्बोधनमा उनले बैंकिङ ऋण नतिर्न प्रोत्साहित गर्नेप्रति सरकार कठोर बन्ने दोहोर्याएर बैंकिङ क्षेत्रको विश्वास जित्न खोजेका छन् । अहिले बैंक तथा वित्तीय संस्थादेखि लघुवित्त संस्थासम्म यो अवस्थाबाट ग्रसित छन् । 

त्यसो त शुक्रबार लघुवित्त पीडितसँग भएको सहमतिमा पनि सरकारले पुरानै अवस्थामा उनीहरुलाई चित्त बुझाउन सफल भएको छ । सहमतिमा राष्ट्र बैंकको नियम विपरीत जाने लघुवित्त संस्थालाई कारबाही गर्ने भनिएको छ । 

तर अहिले अधिकांश लघुवित्त संस्थाले राष्ट्र बैंकको नियम उल्लंघन गरेको पाइँदैन । त्यसैले यो सहमतिप्रति लघुवित्त संस्थाका सञ्चालक र सीईओहरुलेसमेत खुशी व्यक्त गरेका छन् । 

शनिबारको सम्बोधनमा अर्थमन्त्रीले दिएको अर्को सम्बोधन निर्माण व्यवसायीको रकम भुक्तानी हो । यकिन तथ्यांक नभए पनि अहिले निर्माण सम्पन्न भएर पनि भुक्तानी नपाएको रकम ४० देखि ६० अर्बको बीचमा रहेको अनुमान गरिन्छ । 

म्याद थप्ने सहमति भएको अवस्थामा सार्वजनिक खरिद नियमावली संशोधन लगत्तै यो दायित्व सिर्जना हुन्छ । अर्थमन्त्रीले यो रकम तत्कालै भुक्तानी गर्ने सन्देश दिएका छन् । 

पहिलो आर्थिक वर्षको पहिलो ८ महिनामा करिब ७२ अर्ब मात्रै पूँजीगत खर्च गरेको सरकारका लागि यो भुक्तानी भनेको निकै ठूलो हो । यसले पूँजीगत खर्चलाई करिब १ अर्ब २० करोड भन्दा माथि पुर्याउँछ । यो रकम बजारमा चलायमान हुँदा यसले आर्थिक गतिविधि बढाउने अनुमान गर्न सकिन्छ जसले उद्योग व्यवसाय पनि सकारात्मक असर गर्छ ।  

अर्थमन्त्रीले दिएको तेस्रो सन्देश भनेको राष्ट्र बैंकका गभर्नरसँगको सम्बन्धको बारेमा हो । उनले अर्थमन्त्रीलाई गाली गर्नु आफ्नो कमजोरी ढाकछोप गर्नु भएको भन्दै पूर्व अर्थमन्त्रीलक्षित दोषारोपण गरे । नाम नलिइ भनिएको यो विषयले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत र त्यसभन्दा अघिका अर्थमन्त्री जनार्दन शर्मालाई समेत समेटेको देखिन्छ । 

दुवै पूर्व अर्थमन्त्रीसँग राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सम्बन्ध सुमधुर भएन । शर्माले त मन्त्रिपरिषद्मै जोडबल गरेर उनलाई बर्खास्त गर्ने निर्णय गराएका थिए । महतसँग सतहमा विवाद नदेखिए पनि सम्बन्ध राम्रो नभएको चर्चा हुने गरेको छ । 

नयाँ अर्थमन्त्री आएपछि गभर्नर अधिकारीले पहिलो दिन नै हार्दिकता देखाउने प्रयास गरेका थिए । आजको सम्बोधनबाट अर्थमन्त्री पुनले गभर्नर अधिकारीलाई रिझाउने काम मात्रै गरेनन्, पार्टीभित्रका सदावहार विपक्षी शर्मा र प्रमुख प्रतिपक्षी कांग्रेसका निवर्तमान अर्थमन्त्री महत विरुद्धसमेत फायर खोलेका छन् ।

राष्ट्र बैंक र सरकारको सम्बन्ध धेरै नहुने भए पनि अर्थतन्त्रलाई प्रभाव पार्ने विषयमा दुईवटै निकायको भूमिका अहम् हुने गर्छ । एउटा निकायले अर्को निकायलाई असहयोग गरेको अवस्थामा यसले अर्थतन्त्रको वृद्धि र निजी क्षेत्रको विश्वासमा प्रतिकूल प्रभाव पार्छ । अहिले अर्थमन्त्रीको सम्बोधन निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित रहेको देखिन्छ ।

अहिले नेपालका अर्थतन्त्र करिब ५५ खर्ब रुपैयाँको छ । त्यसमध्ये सरकारको हिस्सा करिब २० प्रतिशत मात्रै छ । निजी क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरु पछिल्लो समय आर्थिक संकट मात्रै नभएर विश्वासको संकटसमेत भोग्दै आएको बताउँदै आएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ