arrow

केएमसीमा ब्रेन ट्युमरबारे कार्यशाला, नयाँ प्रविधिले उपचार झन् प्रभावकारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
kmc-neuro-lab.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज केएमसीको न्यूरोसर्जरी विभागले ब्रेन ट्युमर शल्यक्रियामा नयाँ अपडेटहरूबारे छलफल गर्न र नयाँ प्रविधिहरू परिचय गर्न विभिन्न विषयका १५ जना संकायहरूसँग कार्यशाला आयोजना गरेको छ । बुधबार र बिहीबार गरी दुई दिन भएको ग्लाइओमा वर्कशप २०२४ मा नेपालभरका ५६ जना चिकित्सकहरु मुख्यत: न्यूरोसर्जन र न्यूरोसर्जिकल प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । 

कार्यशाला न्यूरोसर्जरी विभागका प्रमुख प्राडा अमित थापा र  जर्मनीको डसेलडोर्फका प्रख्यात न्यूरो-अन्कोसर्जन प्रोफेसर माइकल साबेल र प्रोफेसर मेरियन र्यापले आयोजना गरेका थिए । 

कार्यशालाका पाठ्यक्रमले भर्खरको प्रमाणमा आधारित अभ्यासहरू मात्र होइन अल्ट्रासाउन्ड, इन्ट्राअपरेटिभ न्यूरोमोनिटरिङ प्रणाली, टिश्यु फ्ल्यूरोसेंसमा आधारित सर्जिकल प्रविधिहरू र क्याभिट्रोन एस्पिरेटरहरूको प्रयोग सम्बन्धी विभिन्न ह्यान्ड्स-अन सत्रहरू मार्फत नेपाली शल्यचिकित्सकहरूमा मस्तिष्क ट्युमरको शल्यक्रियाबाट व्यवस्थापन गर्ने रुची र सीपहरू सिर्जना गर्न सक्षम भएको छ।
  
केएमसीको न्यूरोसर्जरी विभागले प्रयोग गरेको नवीनतम प्रविधि र ब्रेन ट्युमर सम्बंधित शल्यक्रियाको भिडियो र अभिलेखहरु हेरेर जर्मनीका न्यूरो-अन्कोसर्जनहरु प्रभावित भएका छन् ।  भविष्यमा जर्मनीका विद्यार्थीहरु नेपाल आएर नेपालमा भइराखेको उत्कृष्ट काम सिक्न सक्ने पिन उनीहरुले बताए । उनीहरुले नेपालका न्यूरोसर्जनहरुसित कोलाबोरेटिभ कामहरु गर्न इच्छासमेत प्रकट गरेका छन् ।

यस कार्यशालाको मुख्य विशेषता भनेको ब्रेन ट्युमरको शल्यक्रियालाई झन् प्रभावकारी बनाउनु थियो । फाइभ एएलए भन्ने फ्लोरोसेंट डाई, ट्युमर कोशिकाहरूद्वारा लिइन्छ र यसलाई शल्यक्रियाको समयमा पहिचान गर्न सकिन्छ जुन कहिलेकाहिँ माइक्रोस्कोप मुनि पनि सामान्य बत्तीहरूमा गाह्रो हुन्छ। अनुसन्धानले देखाएको छ कि यो मोडालिटी प्रयोग गरेर बाँच्ने दर सुध्रिन सक्छ ।

इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरका अनुसार नेपालमा ब्रेन ट्युमरले हरेक वर्ष १.३ % नयाँ व्यक्तिहरु प्रभावित हुन्छन्  र यो देशमा सबै उमेरका मानिसको मृत्युको १५औँ प्रमुख कारण हो ।

प्राडा अमित थापाले समयमै प्रारम्भिक पहिचान गर्नु क्यान्सर रोगको निदानको लागि उत्तम हुने बताउँछन् । काठमाडौँ मेडिकल कलेजमा पछिल्लो २ वर्षमा रेडियो-डायग्नॉसिट्कमा उल्लेखनीय प्रगति भएको छ ।

पछिल्लो १२८ स्लाइस सीटी स्क्यान र ३ टेस्ला एमआरआईले क्यान्सर डायग्नोसिस प्रभावकारी भएको छ । 

न्यूरोसर्जरी विभागले दक्षिण पूर्व एसियाका केही केन्द्रहरूमा मात्र उपलब्ध नवीनतम उपकरणहरू र ग्याजेटहरू, रोबोटिक बायोप्सी, रोबोटिक माइक्रोस्कोप, नवीनतम नेभिगेसन प्रणाली र इन्ट्राअपरेटिभ अल्ट्रासाउन्ड र न्यूरोमोनिटरिङ प्रणालीहरूको सफल प्रयोग गर्दै आएको जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ