arrow

कांग्रेस महासमिति बैठक

महामन्त्री थापाको प्रतिवेदनले जगाएको कांग्रेसको आशा 

logo
बाबु नेपाली,
प्रकाशित २०८० फागुन ९ बुधबार
gagan-thapa-80-11-08.jpg

काठमाडौँ । अहिले प्रतिनिधि सभा सदस्यको संख्याको हिसाबले सबैभन्दा ठूलो दल मानिएको नेपाली कांग्रेसको माहोल त्यति राम्रो छैन । त्यसका पछाडि थुप्रै कारण हुन सक्छन् ।  सत्ता साझेदार दल भएर पनि उल्लेख्य काम गर्न नसक्नु लगायतको विषय छँदैछ । त्यसमध्ये एउटा प्रमुख कारण पार्टी आफ्नो नीतिअनुसार चलेन भन्ने नै हो । 

राजनीतिक दलको आफ्नो नीति र विचार हुन्छ । त्यही विचारले दल चल्ने हो । विचारकै पछि लागेर नेता, कार्यकर्ता र शुभेच्छुक बढ्दै जाने हुन् । जुन दलको विचार छैन, जुन दलको खास नीति छैन र केवल सत्ताका लागिमात्र हानथाप गरिरहेको छ भने त्यस्तो दलको भविष्य पनि हुन्न । त्यसैले विचार अपरिहार्य छ ।  

२१ औँ शताब्दीका मतदाता र शुभेच्छुक निकै नै बुद्धिमानी भइसकेका छन् । अहिलेका मतदाता अगाडि घाँसको हाँगा देखाएर बाख्रो त्यही लोभमा लामो यात्रामा बिना खाना घाँसको तिर्सनामा बाध्य भएर अगाडि बढेजस्ता अवश्य हैनन् । कारण हो अहिलेका मतदाता र शुभेच्छुकले पढेका छन्, बुझेका छन् र कसैले अनुभवका धेरै जुत्ता र भोटा फटालिसकेका छन् । 

कांग्रेसको नीति महाधिवेशनको झल्को पाएको महासमिति बैठक बिहीबार सकिँदैछ । चार दिने महासमिति बैठक सकिँदै गर्दा कम्तीमा पार्टी जीवित छ है भन्ने सन्देश दिएको छ । 

त्यो सन्देश दुई विषयलाई जोडतोडका साथ उठाएर महामन्त्री थापाले नै दिएका हुन् भन्दा अत्युक्ति नहोला । ती दुई विषयमा पहिलो हो समयमै पार्टीको महाधिवेशन र दोस्रो हो निर्वाचनअघिको गठबन्धन नगर्ने प्रतिबद्धता । 

थुप्रै बुँदामध्ये यी दुई बुँदा कांग्रेसलाई मात्र होइन सबै दललाई जीवित राख्ने र लोकतन्त्रलाई न्याय गर्ने प्रमुख बुँदा हुन् । 

अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलको बहुमत नआएका खण्डमा सत्ता सञ्चालनका लागि मतपरिणाम आइसकेपछि गठबन्धन हुन सक्छ । त्यो स्वभाविक हो । किनकि मुलुकलाई अनिर्णयको बन्दी बनाउने अधिकार सकैलाई छैन । र निकासका लागि त्यो अवस्थाको गठबन्धनलाई स्वभाविक मान्न सकिन्छ । 

तर विचारै नमिल्ने दलहरुसँग चुनावी गठबन्धन गर्नु भने सरासर धोका हो । चुनावी गठबन्धन नै गर्नुछ भने विचार मिल्नेहरुबीच पार्टी एकता हुन सक्छ । विचारको कतै साइनो नलाग्ने दलहरु स्वार्थका लागि चुनावअघि नै मिलिदिँदा भने त्यसको असर स्वयं पार्टीलाई पर्छ । 

यसको उदाहरणको रुपमा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्र, नेकपा एस लगायतका दलहरुसँग चुनावी तालमेल गरेपछि भोगेको परिणाम । त्यसकै प्रभावले कांग्रेस पहिलो दल त बन्यो । तर ख्याल गर्नुपर्ने विषय कहाँ छ भने समानुपातिकमा कांग्रेसको मत किन बढ्न सकेन ? 

यसको उत्तर सहज छ । जसरी प्रत्यक्षमा भागबण्डा हुँदा अन्य दललाई मतदाताले मत हाल्न पुगे त्यसरी नै समानुपातिकमा उनीहरुलाई कांग्रेसलाई मत हाल्न मन नलागेको हुन सक्छ । त्यो अन्य दलमा पनि भएको हुन सक्छ । अहिलेको विषय कांग्रेसको भएकाले यतामात्र जोड दिइएको हो । 

कोही बिना स्वार्थ किन पार्टीको समर्थक बन्छ ? पार्टीलाई मत हाल्ने सबै स्वार्थी हुँदैनन् । उनीहरुलाई कहीँ न कहीँ विश्वास हुन्छ कि यो पार्टीलाई मत दियो भने यसले राम्रो गर्ला । भ्रष्टाचार नहोला । सुशासन कायम होला । 

२०४८ सालदेखि २०७९ सालसम्मका जति पनि पार्टी सत्तामा गएका छन् के सबैले राम्रो गरेका छन् त ? अवश्य छैनन् । कम्तीमा खराब भरिमा पनि कम खराब को छ भनेर मूल्याङ्कन त मतदाताले गर्छन् नै । अर्कातर्फ कुनै भरोसाको नेता देखे भने स्वभावतः उसलाई आत्मादेखि नै चाहेर मत राखेका हुन्छन् । 

नेपालको निर्वाचन प्रणालीअनुसार व्यक्तिभन्दा पार्टी बलियो हुनु जरुरी छ । तसर्थ एक दुई जना नेता भन्दा सिंगो पार्टीलाई चलायमान र भरोसायोग्य बनाउनु अहिलेको आवश्यकता हो । 

त्यही आवश्यकतालाई परिपूर्ति गर्नका लागि यतिबेला कांग्रेस महामन्त्री थापाले त्यो सूत्र ल्याएका छन् । उनका तिनै प्रस्तावलाई महासमिति सदस्यहरुले रुचाएका छन् । 

संस्थापन पक्षका महासमिति सदस्यहरुले पनि थापाको यो प्रस्ताव रुचाएका छन् । यसको प्रमुख कारण नै पार्टीको अपनत्व हो । पार्टी रहे नेता रहन्छ । जब पार्टी नै धरापमा छ भने गठबन्धनको आडले कहिलेसम्म धान्न सकिन्छ ? बिना विचारको गठबन्धन जतिबेला पनि ढल्न सक्छ । 

दलहरुबीच आपसी प्रतिस्पर्धा भयो भने उनीहरुमा कामको पनि सन्तुलन हुन्छ । प्रतिपक्षको डरले पनि ‘चेक एन्ड ब्यालेन्स’ हुन्छ । यदि दलहरु आपसमै मिलेर बाँडिचुँडी सत्ताको प्रयोग गर्ने हो भने त्यहाँ तानाशाह तन्त्रको उत्पत्ति हुन सक्छ । 

चाहे त्यो एमाले र माओवादी मिल्दाखेरि भएको अहिलेसम्मकै सबैभन्दा भ्रष्ट सरकार (ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनअनुसार) होस् वा गठबन्धनका धेरै दलहरु मिलेर बनेको सरकार किन नहोस् । भारी बहुमत भयो भने सरकार ढल्ने सम्भावना नहुँदा उनीहरु उन्मत्त भएर गर्न हुने नहुने सबै काम गर्छन् । 

यी समस्याबाट मुक्त हुनका लागि थापाले ल्याएको प्रस्तावले पक्कै तरंगित गरेको छ । यो गठबन्धनको विषयमात्र होइन पार्टीलाई रफ्तारमा समयअनुसार अगाडि बढाउन समयमै महाधिवेशन हुनु पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ । 

पार्टीको स्थानीय तहको पहिलो चरणको कार्यकर्तादेखि पार्टीको केन्द्रीय सभापतिसम्मका आ–आफ्ना गति हुन्छन् । हरेक कार्यकालमा एक कदम अगाडि जान खोज्नु सबैको चाहना हुन जान्छ । 

अब सोचौँ । जो पदमा छन् कहिले पनि छोड्न चाहेनन् र पुनः उही पदमा रोकिए भने नयाँ अवसर वा नयाँ पुस्ता कसैले पनि स्थान पाउँदैनन् । त्यसले समग्र बौद्धिक विकास रोकिन्छ । दोहोरिनेले पहिलेको तुलनामा कम काम गर्छ जसको फलस्वरुपः सिंगो असर पार्टीलाई पर्न जान्छ । 

यही अर्थमा महामन्त्री थापाले समयमै महाधिवेशन गर्न जोड दिएका छन् । यहाँ एक जना नेताकोमात्र हैन सिंगो पार्टीको भविष्य जोडिएको हुन्छ । अवसर नदिएर पार्टी छोड्न बाध्य पारिएका उदाहरण प्रशस्तै भेट्न सकिन्छ । 

यी सबै कुरालाई मध्यनजर गर्दै महामन्त्री थापाले यसपालि ल्याएको प्रतिवेदनले धेरैको मन जितेको अनुभूति महासमिति बैठकस्थल पुग्ने जोकोहीले गर्न सक्छन् । कसैले मुखैले व्यक्त गर्छन् कसैले भावले । जतिबेला पनि आफ्नो नेतालाई कसैले गुटको नजरले हेर्न सक्दैन । किनकि हरेक नेता पार्टीका सम्पत्ति हुन् । 

यद्यपि कोही गुटबन्दीमा रमाउने बानी परेका, कोही अर्को गुटमा भएका कारण समर्थन गरे पनि आफू त्यो क्याम्पभित्र परिने होइन क्यारे भन्ने मनस्थिति बनाएकाहरुको भने कमी छैन । यो सबै व्यक्तिगत स्वार्थले निम्तिएको उपजमात्र हो । 

र पनि पार्टीलाई दीर्घकालीन बनाएर समयसँगै चलायमान बनाउन कार्यकर्ताको भावनाको कदर भने गर्नैपर्छ । सोही अुनसार नेता थापाले उठाएको विषयले उनको कद त उँचो भएको छ नै कांग्रेसलेसमेत समय सान्दर्भिक लय समातिरहेको छ भन्ने अनुभूति दिलाउँछ । 

केही बुँदाहरु केलाउँदा –
–ध्येयमा प्रष्टतालाई केलाउने हो भने यसमा समुन्नत नेपाल निर्माणको स्पष्ट भिजन रहेको छ । यसमै देश, जनता र पार्टीको भविष्य अन्तर्निहित रहेको छ ।

–जिम्मेवारी र जवाफदेहितामा जाने हो भने पार्टीका हरेक सदस्यलाई स्पष्ट कार्य विभाजन र जिम्मेदारी अहिलेसम्म तोकिएको छैन । अबदेखि तोक्ने हो भने यसले पार्टीलाई नयाँ जीवन दिन्छ । पार्टीका हरेक सदस्यलाई जिम्मेवार बनाउँछ । 
–सांगठनिक कार्यतालिका हेर्ने हो भने हालसम्म सांगठनिक कार्यतालिका र क्यालेन्डरको अभ्यास नै भएको थिएन र थापा महामन्त्री भएपछि बल्ल यो अभ्यासको थालनी भएको हो । यसले संगठनलाई गतिशील बनाएको छ । कार्यकर्तालाई ऊर्जाशील बनाएको छ र नेताहरुलाई जनता र कार्यकर्ताप्रति उत्तरदायी बनाएको छ । 
–नेपाली जनसम्पर्क समिति हेर्ने हो भने विदेशमा संगठन विस्तारको ठोस कार्यक्रम ल्याउनै पर्छ । 
–समावेशीताको विषयलाई हेर्ने हो भने संविधानको मर्म र पार्टीको विधानुअनुसार समावेशीकरणको ठोस कार्यक्रम हुनुपर्छ । 
–डिजिटल कांग्रेसको विषयलाई हेर्ने हो भने युवा र प्रविधिमैत्री कार्यक्रमले नयाँ र युवा पुस्तालाई पार्टीसँग जोड्न प्रभावकारी भूमिका निर्वाह गर्नेमा शंका छैन । 
–पार्टी र सरकारको विषयलाई हेर्ने हो भने पार्टी र सरकार तथा सबै तहका जनप्रतिनिधिबीच समन्वय, संवाद र सहजीकरणका लागि संयन्त्र बनाउने प्रस्तावले प्रभावकारी रुपमा कार्यसञ्चालन गर्न सफल भइने छ । 
–पार्टी योद्धा सम्मान र सहयोगले पार्टीमा संघर्ष गरेका संघर्षशील, शहीद परिवार, विस्थापित, द्धन्द्ध पीडित, प्रजातन्त्र सेनानी, घाइते तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट भूमिका निर्वाह गरेका परिवारलाई सम्मान र सहयोग गर्ने नयाँ अभ्यास र संस्कारको प्रारम्भ हुनेछ । 
–संगठन परिचालन तथा विस्तार विशेष अभियानले २०८१ साललाई संगठन विस्तार वर्ष घोषणा गरी पाँच लाख नयाँ सदस्य बनाउने विशेष अभियान बनाउन सकिन्छ । संगठन विस्तार गर्ने ठोस प्रस्ताव आउनु नै महत्वपूर्ण प्रस्ताव भएको छ । 
–युवासँग कांग्रेस प्रस्तावले युवालाई पार्टीमा आवद्ध गराई संगठन युवा र नयाँ पुस्तामा विस्तार गर्न मद्धत पुग्नेछ । 

सांगठनिक प्रस्तावको पूर्णपाठ–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ