arrow

मासिक भविष्यफल

फागुनमा परिस्थिति मध्यम, मूल्यवृद्धिको प्रभाव

मंगलबारको संक्रान्ति र आइतबारको औँशीको योगले जनमानसका लागि नकारात्मक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
monthly-horoscope.jpg
तस्बिर – फाइल ।

मासिक फल : यस महिनामा समग्र परिस्थिति मध्यमजस्ता छन् । यो महिना मंगलबारको संक्रान्ति तथा आइतबारको औँशीको योगले जनमानसका लागि त्यति सकारात्मक रहने छैन । दैनिक उपभोग्य वस्तुहरुको केही अभाव वा मूल्यवृद्धिको प्रभाव रहनेछ ।

शतभिषा नक्षत्र तथा कुम्भ राशिका लागि सूर्यले चाँदी, सुन, सूती, कपास, कपास, तेल, जाइफल, रेशम, तील महँगा हुनेछन् । फागुनको मसान्तमा सुवर्ण, चाँदी, रुई, घृत, चिनी आदिको मूल्यमा भने केही कमी आउनेछ ।

शेयर बजारमा मन्दीको प्रभाव केही कमी हुनेछ । समताको प्रकृति रहे पनि महिनाको मध्यभागमा मेघ बादल र हल्का वर्षाको सम्भावना छ । यस महिनामा धान, गहुँ, जौँ आदि अन्न तथा मृतचर्म आदि आसन सौ गो सुवर्णादि धातुको दान गर्दा राम्रो हुने शास्त्रीय विधान छ ।

मासिक राशिफल :

मेष : २०८० को फागुन महिनामा राज्यस्थानमा सूर्य र भाग्यभावमा राशिस्वामी मंगलको उपस्थिति रहने समय छ । परिणामतः तपाईका इच्छा र आकांक्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । बहुप्रतीक्षित महत्वकांक्षा सिद्ध हुनेछन् । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । सरकारी कामबाट फाइदा हुनेछ । थालेको काम छिटै सम्पन्न हुन्छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवा–प्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद् र सफलतम् सिद्ध हुनेछ । यस महिनामा राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले राज्यबाट लाभ तथा सम्मान पाउने समय रहेको छ । नोकरीमा पदोन्नति तथा व्यापार व्यावसायमा बढोत्तरी हुने गतिलो सम्भावना पनि रहेको छ । लामो समयदेखि थाति रहेका काम तथा मुद्दाहरु किनारा लाग्नेछन् । प्राकृतिक स्रोत तथा साधनको भरपूर प्रयोग गरेर प्रशस्त धन तथा सम्पति कमाउन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई स्वादिष्ट भोजन गर्ने अवसर जुर्नेछ । धर्म तथा आध्यात्मिकतामा मन जानेछ भने लामो दूरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पैत्रिक धन तथा भौतिक सम्पति हात लागि हुने योग रहेको छ । विपरित लिङ्ग तथा साथी संगतले फाइदा हुने तथा विलासी सामान प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । विद्यार्थी वर्गहरुले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै नतिजा आफ्नो पक्षमा पार्न सक्नेछन् । महिनाको अन्त्यतिर खर्च बढेता पनि व्यापार व्यवसायमा समय दिनेहरुले प्रशस्त आम्दानी गर्न सक्नेछन् । यसै महिना कर्मेश र लाभेश मानिने शनिश्चर ग्रहको राशि परिवर्तन हुँदैन । यसको प्रभावले प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्वपूर्ण व्यक्तित्व र विद्वानहरू सम्पर्कमा रहनेछन् । सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । बन्दव्यापार र नोकरीका सिलसिलामा गरिएका यात्राहरू लाभकारी सिद्ध हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । यद्यपि कामको बोझ धेरै नै हुन्छ, पिता वा पितृतुल्य व्यक्तिको स्वास्थ्यमा उतारचढाव आइरहन्छ, तर पनि समय र स्वास्थ्य अनुकूल हुनाले सफलता मिल्नेछ । सामान्यतया यस महिनाको ४, ५, ६, १३, १४, १५, २३ र २४ गते तपाईका लागि अशुभ रहने छन् । यो महिना कुनै किसिमको विघ्न र जोखिम नआओस भन्ने उद्देश्यले तपाईले कुल र पितृको आराधना गर्ने वा हनुमान् चालिसाको नियमित पाठ गर्दा राम्रो हुन्छ ।

वृष : २०८० को फागुन महिनामा राशिस्वामी शुक्रले लाभस्थान र व्ययस्थानको यात्रा गर्ने समय छ भने मासाधिपति सूर्यले दशौं घरको यात्रा गर्नेछ । सूर्यको प्रभावले यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । मिहिनेत गरेमा नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना छ । साथै गरिआएको काममा बढुवा वा प्रगति हुनेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । व्यवसायिक–व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम् आर्थिक समस्याहरू हल हुन सक्छन् । राशिस्वामी शुक्रको समेत लाभ भावमा उपस्थिति रहने हुँदा यो महिनाको उत्तराद्र्धका तुलनामा पूर्वाद्र्ध बढी लाभकारक र अनुकूल हुने देखिन्छ, तर महिनाको अन्त्यतिर आकस्मिक र बाध्यताकारी खर्चको मात्रामा बृद्धि हुने सम्भावना हुन्छ । यस्तै, उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान, ईज्जत, प्रतिष्ठा बढेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको विकास हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको वर्चश्व कायम रहने छ । राज्यसँग नजिक रहेर गरिने प्रत्येक काममा सफलता हात लाग्नेछ । यो महिना नयाँ काम पाउने तथा नोकरीमा वढुवा हुने प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा समय लगानी गर्नेहरुले नयाँ नयाँ ठाउँमा लगानी गरी प्रशस्त नाफा कमाउँन सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक व्यवस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा शुयोग्य वर वधुको लगन गाठो बाँधिने गतिलो सम्भावना रहेको छ भने माया प्रेम तथा दाम्पत्य जीवनको गाठो झन् कसिलो भएर जानेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाई तथा खोज अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । यस महिनाको ४ गते शनिश्चर ग्रहले राशि परिवर्तन गरी मकर राशिमा प्रवेश गर्नेछ । यस परिवर्तनबाट तपाईको अढैया दशाको समाप्ति हुँदैछ । शनिश्चर ग्रहको राशिपरिवर्तनको प्रभावले आगामी केही समय प्रशन्नतापूर्वक व्यतित हुनेछ । तपाईबाट भएका प्रयासको राम्रो परिणाम आउन थाल्नेछ । राजनैतिक÷प्रशासनिक पदका व्यक्तित्व र मातापितासँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो यात्राबाट लाभ प्राप्त हुनेछ । मित्र र सहयोगीले पूर्णरूपेण सहायता गनेछन् । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ । नयाँ किसिमले व्यापार गर्नुहुने अथवा रोजगारीको प्रकृतिमा बदलाव हुने सङ्केत छ । शत्रु र प्रतिस्पर्धीबाट कुनै भय हुँदैन । सानातिना मौसमी रोगले भने सताउन सक्छ । दुर्घटनाजन्य जोखिमको निवारणका लागि तपाईले सिद्धि गणेशको पूजाआराधना गर्नु वा दैनिक रूपमा भगवती दुर्गाको सिद्धकुञ्जिका स्तोत्रको पाठ गर्नु उत्तम हुनेछ । सामान्यतया यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गते तपाईका लागि अशुभ रहने छन् ।

मिथुन : २०८० को फागुन महिनामा फागुन महिनामा भाग्यभावमा राशिस्वामी बुधका साथमा सूर्यको उपस्थिति रहने भएकाले बुधादित्य योग रहने छ । परिणामतः यो महिना पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल भइने छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सन्तानले उन्नति–प्रगति गर्नेछन्, सामाजिक वा परोपकारी काममा मन जानेछ । भााग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ । उता, बुधको प्रभावले वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । यसै महिनामा शनिश्चर ग्रहले गोचरको आठौं भावमा प्रवेश गर्दैछ, अब आगामी अढाई वर्षका लागि अढैया दशाको अवधि शुरु हुनेछ । शनिश्चर ग्रह तपाईको अष्टम र नवम भावको मालिक भएकाले यसबाट केही हदमा सकारात्मक फल नै प्राप्त हुनेछ । तर अढैयाको प्रकोपबाट यस अवधिमा तपाईको कुनै महत्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा हुन्छ । वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सङ्केत पनि छ । यसैगरी प्रशासनिक तथा सरकारी क्षेत्रमा तपाईकै वर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् । योजनाहरु चुस्तरुपमा अगाडि बढ्नेछन् भने चुनौतिहरुका पर्खालहरु आफै ढल्नेछन् । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुँदा मन प्रशन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरुले आफ्नो प्रतिस्पर्धीहरुलाई हराउन केहि मिहेनत गर्नुपर्नेछ । माया प्रेममा कहिले नजिक त कहिले टाढा हुने अवस्था रहेपनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । दशौँ भावमा गोचर गर्ने शुक्रले व्यापार व्यावसायमा नाफा कमाउन धेरै समय खर्चनु पर्नेछ भने नयाँ काम गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला । महिला मित्रहरुले हरतरह फसाउँन खोज्ने तथा असहयोग गर्नेछन् ध्यान दिनुहोला । समाजका पक्षमा राम्रा काम गर्दा गर्दै विपक्षीहरुले अनावश्यक भ्रम छरेर आलोचना गर्नेछन् । साथीभाइ र सहयोगीले आफ्नो वचन पूरा गर्न सक्दैनन् । घरपरिवारका सदस्यको व्यवहारमा पनि फरक भएको अनुभूति हुनेछ । त्यसैले यस राशिका जातकले आआफ्नो कुण्डलीमा शनिश्चर ग्रहले बनाउने प्रभावको अध्ययन गरी स्वस्तिशान्ति गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ८, ९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईका लागि अशुभ रहने छन् । समग्रमा यो महिना सामान्यतया सबैले शुभफल नै पाउने छन्, यद्यपि राशिस्वामी बुध ग्रह अस्त रहेकाले अझ राम्रो होस् भन्ने उद्देश्यले तपाईले दैनिक रूपमा गाईलाई खानेकुरा दिएको जाति हुन्छ ।

कर्कट : २०८० को फागुन महिनामा फागुन महिनामा आठौं भावको सूर्य एवं षष्ठम भावमा रहेको मंगल र शनिको युतिसम्बन्धको प्रभावले यो महिना त्यति लाभप्रद महिना देखिंदैन । छैटौं भाव रोगकारक र अष्टम भाव संकट कारक भएकाले यी दुबै भाव दुर्घटनाकारक भाव बन्न पुगेकाले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । खानपान र आहारविहारको अनुशासन पालना गरेको राम्रो हुन्छ । आफूबाहेक अभिभावक वा परिवारको कुनै सदस्यको स्वास्थ्यमा समेत नकारात्मकता देखिन सक्छ । पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग बनेको समय छ, नातागोता भित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, महत्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । यस अवधिमा चाहिंदा नचाहिंदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ । भ्रमका पछि कुद्नु राम्रो होइन । अनावश्यक डरले सताउन सक्छ । यसैगरी यो महिना मिश्रित फल पाईने छ भने तपाई आफ्नै कारणले घर परिवारमा तथा पति–पत्नीबीच मनमुटाव पनि बढ्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने छ भने दाँत, मेरुदण्ड, हाडजोर्नी तथा प्रेसर हाई–लो हुने समस्या आउँन सक्छ ध्यान दिनुहोला । ऋण, रोग तथा संकटको सामना गर्नुपर्नेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनुहोला । गलत व्यक्ति हरुको सल्लाहमा गलत निर्णयहरु हुन सक्दछन् । पढाई लेखाइमा ध्यान नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताइरहनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा अलि धेरै संघर्ष गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । यस्तै, नवौँ भावमा गोचर गर्ने शुक्रले नयाँ नयाँ फेसेनेवल तथा विलाशिताका सामानहरु प्रयोग गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । दाजुभाईबाट भनेजस्तो सहयोग पाईने हुँदा विलासी तथा फेसेनेवल वस्तुहरुको व्यापारमा लगानी गर्न सकिनेछ । लामो दूरीको शैक्षिक तथा धार्मिक यात्राको गतिलो सम्भावना रहेकोछ । आफन्तले बारम्बार धोका दिन सक्छन् । हड्बडी र शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ मिल्नेछैन । विपरीत लिङ्गीसँगको सम्बन्ध पनि राम्रो हुनेछैन । उता, शनिश्चरले तपाईको सप्तम भावमा गोचर गर्नेछ । यो दाम्पत्य जीवन र साझेदारीसँग सम्बन्धित घर हो । शनिको सातौं भावको यात्राका क्रममा साझेदार वा सहयोगीले होच्याउने प्रयास गर्नेछन् । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । दैनिकी सञ्चालनका क्रममा पनि समस्या हुनसक्छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु पर्छ । जीवनसाथी वा विपरीत लिङ्गी मित्रसँग पनि राम्रो सम्बन्ध हुनेछैन । समग्रतामा यो महिना त्यत्ति लाभकारक समय देखिंदैन । सामान्यतया यस महिनाको २, ३, ११, १२, १३, २०, २१, २२, २९ र ३० गते तपाईका लागि अशुभ रहने छन् । यो महिना तपाईले सूर्य ग्रहको शान्तिका निमित्त केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री, आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गर्दा र भगवान् विष्णुको नियमित पूजा आराधना गर्दा दुस्प्रभावहरू नष्ट हुनेछन् ।

सिंह : २०८० को फागुन महिनामा राशिस्वामी सूर्यले सप्तम भावको यात्रा गर्ने महिना हो, फागुन महिना । तपाईको लग्नभावमा पूर्णदृष्टिले राशिस्वामीको दृष्टि परेको हुँदा यो महिना प्रत्येक कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ । आत्मविश्वासको मात्रा बढ्ने छ । नोकरी र बन्द व्यापारमा उत्साहवर्द्धक परिणाम प्राप्त हुन्छ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । आम्दानीको मात्रा बढ्ने छ । तर सातौं भाव साझेदारी र प्रणय सम्बन्धसँग सम्बन्धित घर भएकाले तपाईको जीवनसाथी वा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय पनि हो । मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहँुदैन । निरङ्कुश बानी र कडापन तपाईका कमजोरी बन्न सक्छन् । घरायसी व्यवहारमा कडापन बढ्न सक्छ, त्यसैले परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । व्यक्तिगत स्वास्थ्य स्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, नजिकका साथीभाइ र कामदारले धोका दिन सक्छन् । आर्थिक पक्ष बलियो छैन, बाध्यताका खर्चमा धनव्यय हुनेछ । तर तपाईको जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । यसैगरी समय र कामको तालमेल नमिल्दा कामहरु समयमा सक्न मुश्किल पर्नेछ भने धन सम्पति तथा मान हानी हुने हुँदा मन विचलित हुनेछ । काममा अप्रत्यासित बाधा व्यावधान आईलाग्ने तथा ठूलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ । बौद्धिक व्यक्तित्व तथा अग्रजहरुसँग सैद्धान्तिक मतभेद रहनेछ । परिवारमा आफन्त तथा पति पत्नीबीच वैमनश्यता पैदा हुनेछ । लामो दूरीको कष्टकर यात्रा हुन सक्छ ख्याल गर्नुहोला । सामान्य टाउको दुख्ने समस्याले सताउन सक्छ । व्यापार व्यावसायमा फेन्सी तथा विलासी वस्तुको खरिद बिक्रीबाट प्रशस्त नाफा कमाउन सकिनेछ । विलासिताको सामान प्रयोगबाट भरपुर सन्तुष्टि लिन सकिनेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग तथा समर्थन पाईने हुँदा मन प्रशन्न रहनेछ । विद्या तथा प्रतिस्पर्धीमा विद्यार्थी वर्गहरुले धेरै मेहनेत गर्दा आफ्नो पोल्टोमा नतिजा पार्न सक्नेछन् । महिनाको पहिलो तथा चौथौ हप्ताको समय राम्रो रहेको छ । यस महिनाको ४ गते शनिश्चर ग्रहले राशिपरिवर्तन गरी छैठौं घरमा प्रवेश गर्नेछन् । यसको प्रभावले आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । नोकरी वा व्यवसायको क्षेत्रमा राम्रो सुधार आउने छ । प्रभावशाली व्यक्तिसित सम्पर्क बढ्ने छ । दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । शत्रु र प्रतिस्पर्धीले बदख्वाइँ गर्ने प्रयास गर्न सक्दैनन् । आर्थिक रूपले यो समय अनुकूल रहनेछ । ससाना यात्रा उपयोगी हुनेछ । पारिवारिक वातावरण पूर्ण सन्तोषप्रद हुनेछ । सामान्यतया यस महिनाको ४, ५, ६, १३, १४, १५, २३ र २४ गते तपाईका लागि अशुभ रहने छन् । यो महिना नकारात्मक प्रभाव हाबी नहोस् भन्ने उद्देश्यले तपाईले दिनहुँ सूर्योदयको १ घटिका (२४ मिनेट) भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखी सूर्यलाई अर्घ्य दिंदा लाभ हुनेछ ।

कन्या : २०८० को फागुन महिनामा षष्ठम् भावमा बसेको क्रुर ग्रहको गोचरमा शुभफल प्राप्त हुन्छ भन्ने मान्यता रहेको हुँदा फागुन महिनामा सूर्यले तपाईको राशिको छैटौं भावको यात्रा गर्ने भएकाले यो समय उपयोगी समयका रूपमा लिन सक्नुहुन्छ । जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुन सक्छ । मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । तर तपाईको राशिस्वामी बुधसमेत बक्र र अस्तावस्थामा यो महिनाभरि सूर्यकै साथमा छैटौँ भावमा नै भ्रमणशील रहने छ । कुण्डलीको छैटौँ भाव झगडा र रोगको घर भएकाले मौसमी रोगको चाप बढ्ने सम्भावना हुन्छ । यस्तै, उधारोमा गएको धन फिर्ता नहुन सक्छ, खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । व्यर्थका काममा समेत अल्मलिनु पर्नेछ । बोलीलाई नियन्त्रण गर्नु राम्रो हुन्छ, कटु शब्दको प्रयोग र अर्काको आलोचना गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । त्यस्तै यसै महिनामा शनिदेव चतुर्थ भावको यात्रा पूर्ण गरी पाँचौं घरमा प्रवेश गर्ने समय हो । त्यसैले अब तपाईको अढैया शनिको महादशाको समाप्ति हुँदैछ । तपाईको बुद्धिक्षेत्रको समेत मालिक शनिश्चर महाराज नै हुने भएकाले यस राशि परिवर्तनको प्रभावले आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ । घर परिवारमा माङ्गलिक कार्यको आयोजना हुन सक्छ । प्रणय र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ । आफ्नो बुद्धिमत्ता र तीक्ष्ण दृष्टिकोणका कारण उचित समयमा सही निर्णय लिन सकिने छ । बन्द व्यापार वा पेशाबाट लाभ प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध बढ्ने छ । धार्मिक क्रियाकलापमा सहभागी भइने छ । मित्रवर्ग र हितैषीले पूर्ण सहयोग गर्नेछन् । खासगरी छात्रछात्राका लागि आगामी साढे दुईवर्ष अत्यन्त सकारात्मक समय रहने देखिन्छ । यसैगरी विद्या तथा प्रतिस्पर्धामा विपक्षीलाई सजिलै हराउन सकिने तथा नतिजा आफ्नै हातमा पर्नेछ । लेखन कलाको विकास हुने तथा मनोरञ्जनात्मक कितावहरु अध्यन गर्ने अवसर प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन धेरै समय लगानी गर्नुपर्नेछ । पुरानो लेनदेन सम्बन्धित कारोबारहरु सल्टिनेछ भने संकट व्यवस्थापनका लागि चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउनेछ । कामहरु समयमा सम्पन्न हुने हुनाले तपाईको दैनिकी फेरिनेछ भने महिला मित्रसँग कारोवार गर्दा सजक रहनुहोला अनावश्यक लाल्छनाहरु लाग्न सक्छन् । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला पति पत्नीबीचको स्वास्थमा समस्या आउन सक्छ । कामको सवालमा अधिक यात्रा हुने योग रहेपनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्दा मनमा नरमाईलो महसूस हुनेछ । सामान्यतया यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गते तपाईका लागि अशुभ रहने छन् । बुध ग्रह अस्त रहेकाले यो महिना कुनै पनि अशुभता प्राप्त नहोस् र शुभफलमा बृद्धि भइरहोस् भन्ने कामनाले तपाईले कुनै एउटा आइतबारका दिन अन्धाश्रम, बृद्धाश्रम वा अस्पतालमा गई पाकेको अन्न दान गर्नु राम्रो हुनेछ ।

तुला : २०८० को फागुन महिनाको उत्तरार्द्धमा राशिस्वामी शुक्रले सप्तम भावको यात्रा गरी लग्नमा पूर्णदृष्टि लगाउने तथा मासाधिपति सूर्यले पञ्चम भावको यात्रा गर्ने यो महिना तपाईका लागि अत्यन्त शुभ परिणाम पाउने समय रहेको देखिन्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्वाकांक्षामा निरन्तर बृद्धि भइरहनाले असन्तुष्टिको पारो समेत बढ्ने परिस्थिति बन्ने समय छ । छोराछोरी प्रतिको जिम्मेबारीसमेत बढ्ने समय छ । खासगरी बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्नसक्छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्न सक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । यसैगरी समग्रमा महिना राम्रो रहेको छ । समाजका उच्च पदस्थ व्यक्तिहरुसँग सहकार्य गरि नयाँ काम गर्न सकिनेछ । घर जग्गा तथा सवारी साधन प्राप्तिको योग रहेको छ भने फलाम तथा इन्जिनसँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानी गर्न सकिनेछ । आकस्मिक लाभ हुनेछ भने भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । बाधा अवरोधहरु स्वतः हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ भने विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा उल्लेख्य सहयोग हुनेछ । व्यापारमा लगानी बढाउँदा लामो समयसम्म आम्दानी भइरहेनछ । प्रेम गर्ने जोडीहरुले एकअर्काबीच भावना साटासाट गरी समय व्यतित गर्न सक्नेछन् । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । उता, महिनाको १६ गतेपछि राशिस्वामी सप्तम भावको यात्रा गर्ने तर त्यसअघि शुरुदेखि नै छैटौं भावको यात्रा गर्ने भएकाले त्यसअघि विपरीत लिङ्गीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन । वासनाजन्य विचारले दुःखित तुल्याउने मात्र होइन, यसले अपमानित पनि बनाउन सक्छ, होस राख्नुपर्छ । यसै महिनाको ४ गतेदेखि शनिश्चर ग्रहले राशि परिवर्तन गरी चौथो भावमा यात्रा गर्नेछ । यो तपाईका लागि अढैया महादशाको शुरुवात हो । त्यसैले यस अवधिमा नगरेको र थोरै सहभागिता जनाएको काम कारोबारका कारण झूठो आक्षेप ब्यहोर्नु पर्ने हुन सक्छ । पारिवारिक सुखको पनि अभाव हुनेछ । गरेका प्रयासहरूमा असफल हुनाले मानसिक खिन्नता बढ्नेछ । स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । दीर्घ रोगको प्रकोपमा रहेका व्यक्तिले पूर्णरूपमा परहेजमा बस्नु राम्रो हुनेछ । शत्रु र प्रतिस्पर्धीहरूले छवि धमिल्याउने प्रयास गर्नेछन् । झैँझगडा र वादविवादमा नफँस्दा उचित हुनेछ । सामान्यतया यस महिनाको १, ८, ९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईका लागि अशुभ रहने छन् । शनिको अढैया दशा प्रारम्भ भएकाले शुभफल प्राप्त गर्न तपाईले हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तिमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु राम्रो हुनेछ ।

वृश्चिक : २०८० को फागुन महिनामा सूर्यको प्रभावले आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय हुनेछ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय पनि हो, खासगरी सवारी हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु ठीक हुनेछ । प्रत्येक कुरामा अडान लिने बानीले दुःख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । यो समय कडा मिहिनेत र परिश्रम गर्ने महिना हो । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिट्टै थाकिन्छ र कार्य क्षमतामासमेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । यस्तै, दोस्रो भावमा रहेको राशिस्वामी मंगल ग्रहको प्रभावले आर्थिक दृष्टिकोणले धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् । पारिवारिक जीवन सुखद् हुनेछ । व्यापार वाणिज्यबाट लाभ मिल्नेछ । स्थिर सम्पत्ति, घर जग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला नत्र घाटा लाग्न सक्छ । राजनीति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि विपक्षीहरुले अनावश्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । आमा, आफन्त तथा आत्मीय मित्रहरुसँग टाढिनु पर्दा मन खिन्न हुनेछ । छाती सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न गाह्रो महसुस हुनेछ भने माया प्रेमको बन्धन कसिलो हुनुको साथै एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । यस्तै, वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगति, उन्नतिमा रमाउने समय रहेको छ । बिद्या तथा प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीहरुले आफ्नो पक्षमा नतिजा ल्याएर घर परिवार तथा गुरुवर्ग हरुलाई खुसी पार्नेछन् । फेन्सी तथा विलासी सामानको व्यापार व्यवसाय फस्टाएर जाने तथा साथी भाईसँग जमघट भइ नयाँनयाँ दृश्यहरुको अवलोकन गर्ने अवसर जुर्नेछ । महिनाको दोस्रो तथा तेस्रो हप्ता अरु समय भन्दा राम्रो रहेको छ । उता, शनिश्चर ग्रहले यसै महिना तृतीय भाव अर्थात् पराक्रम स्थानको यात्रा प्रारम्भ गर्नेछ । अब लामो समयदेखि चलिरहेको साढेसाती शनि दशाको समाप्ति हुनेछ । अब तपाईभित्र प्रत्येक कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ । आत्मविश्वासको मात्रा बढ्ने छ । नोकरी र बन्द व्यापारमा उत्साहवर्द्धक परिणाम प्राप्त हुन्छ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । आम्दानीको मात्रा बढ्ने छ । पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । सञ्चार माध्यमबाट कुनै शुभ समाचार सुन्न पाइने छ । सामान्यतया यस महिनाको २, ३, ११, १२, १३, २०, २१, २२, २९ र ३० गते तपाईका लागि अशुभ रहने छन् । यो महिना शुभफल प्राप्त गर्न दैनिक गणेश कवच वा हनुमान् चालिसाको पाठ गर्ने एवं भगवान् गणेश वा हनुमानजीको आराधना गर्ने बानी विकसित गर्नु राम्रो हुन्छ ।

धनु : २०८० को फागुन महिनामा आफ्नै राशिमा राशिस्वामी बृहस्पति र भाग्येश मंगलको यात्रा हुने तथा तृतीय भावमा सूर्यको उपस्थिति रहने फागुन महिनामा पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम् समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद् रहनेछ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोग लिन–दिन सकिनेछ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकांक्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धन प्राप्तिको सम्भावनासमेत छ । सामान्यतया स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रै छ, तर व्यवसाय वा काममा बढी मिहिनेत गर्ने हुँदा स्वास्थ्यस्थितिमा नकारात्मक असर पर्न सक्छ । पहिलो घरमा बसेको राशिस्वामी बृहस्पतिको प्रभावले यस अवधिमा मन प्रशन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ । यसैगरी वादविवाद तथा प्रतिस्पर्द्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । न्यायलयबाट हुने न्यायिक सम्पादन तपाइँकै पक्षमा हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नुको साथै पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । छोटो तथा रमाईलो आन्तरिक यात्रा हुनेछ भने यात्राका क्रममा नयाँ ठाउँहरुको अवलोकन गर्न सकिनेछ । लेखन कलामा सुधार भएर जानेछ भने सामाजिक सञ्जाल तथा सञ्चारको माध्ययमबाट आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । व्यावसायमा राम्रो प्रगति हुन गई आर्थिक समृद्धिको बाटोमा लम्कन सकिनेछ । घरजग्गा तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ भने आधुनिक कृषि तथा पशुपालन व्यावसाय अवलम्वन गर्ने किसानहरुका लागि राज्यबाट आवश्कयक सहयोग प्राप्त हुनेछ । कारोबारबाट भने जस्तो नाफा कमाउन सकिनेछ । सेवामूलक समाजिक संघ सस्थामा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा अघि बढ्न सकिनेछ । उता, आफ्नै राशिमा बसेको शनिश्चर ग्रहको यसै महिना दोस्रो घरमा प्रवेश हुनेछ, यसबाट शनिको साढेसाती दशाको अन्तिम चरण प्रारम्भ हुनेछ । यस प्रभावले सम्पत्ति परिचालनको मार्ग अव्यवस्थित बन्नाले शनिको यस गोचरको पूरा अवधि आर्थिक कठिनाइको सामना गर्नुपर्ने हुन्छ । आम्दानीका मार्गहरू पनि ठीक रहने छैनन् । परिवारका सदस्यका आकांक्षा पूरा हुन सक्दैनन् । आफन्तहरूसित सम्बन्ध बिग्रन्छ । नयाँ व्यवसाय र उद्योग धन्धामा सम्बद्ध नहुनु बेस हुनेछ र महत्वपूर्ण कागतपत्रमा राम्ररी पढेर हस्ताक्षर गर्नु राम्रो हुन्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा पनि अङ्कुश लगाउनु उचित हुनेछ । मातापिता र अभिभावक वर्गको स्वास्थ्य समेत राम्रो हुनेछैन । सामान्यतया यस महिनाको ४, ५, ६, १३, १४, १५, २३ र २४ गते तपाईका लागि अशुभ रहने छन् । यो महिना अशुभ फल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईले आफ्ना दाजुभाइ र बन्धुबान्धव जम्मा पारी गुलियो भोजन गराउनु राम्रो हुनेछ ।

मकर : २०८० को फागुन महिनामा तपाईको राशिस्वामीले आफ्नै राशिको यात्रा प्रारम्भ गर्ने महिना हो । सूर्यलेसमेत दोस्रो घरको यात्रा प्रारम्भ गर्नेछ । अब अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्वपूर्ण व्यक्तित्व र विद्वानहरू सम्पर्कमा रहनेछन् । सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । तपाईभित्र धन सम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, महत्वाकांक्षा जाग्नेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । धनागम हुनेछ । उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध सम्पन्न हुनेछन् । शत्रुपक्ष नियन्त्रणमा नै रहनेछन् । एउटा सुखद् भ्रमणको सम्भावना छ । पारिवारिक वातावरण पनि अनुकूल रहने छ । फाइदा हुने क्षेत्रमा लगानी हुने सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा सक्रिय हुँदा यस अवधिमा धनको वर्षा नै हुने सम्भावना समेत छ । यसैगरी यो महिना खनिज पदार्थ तथा फलामजन्य व्यवसायमा लगानी गर्नेहरुले आम्दानीका स्रोतहरु फराकिला बनाउन सक्नेछन् । वादविवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ । अदालत तथा न्यायलयबाट हुने न्यायिक निणयहरु तपाईकै पक्षमा हुनेछन् । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने जाँगर आउनेछ । लेखन कलाको माध्यामबाट आफ्ना ओजिला भनाईहरु जनमानसमा पुर्याउन सकिनेछ । जनसम्पर्क बढ्ने तथा दाजुभाई, छरछिमेकीबाट काममा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । राज्यको नजिक भएर गरिने कामहरुबाट प्रशस्त फाईदा हुने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । रमाईलो तथा महत्वपूर्ण यात्राको तय हुनेछ । आँखामा समस्या बढ्न सक्छ ध्यान दिनुहोला । कुटुम्वसँगको सम्बन्धमा सामान्य मनमुटाव सिर्जना हुनेयोग रहेको छ । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला रुपैयाँ पैसा फस्न सक्छ । यस्तै, दोस्रो भाव कुटुम्बपक्ष, चेलीबेटी र मुखसमेत हो । त्यसैले यस अवधिमा शारीरिक तनाव र बोझलाई झेल्न सक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुन सक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ । प्रेम जीवन र दाम्पत्य जीवनमा कलहको सम्भावना भएकाले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । शनिश्चर महाराज तपाईका लागि शुभकारक ग्रह नै हुन्, यद्यपि गोचरमा शनिको आगमन हुँदा यो समय तपाईका लागि साढेसाती महादशाको मध्यावधिसमेत हो । साढेसातीको यस प्रभावले प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना हुन्छ, त्यसैले धैर्य, संयम र स्थिर भएर कार्यक्षेत्रमा लाग्ने र शुभ परिणामको आशा गर्ने बानी लिनुपर्छ । कहिलेकाँही असुरक्षाको हीन भावना विकसित हुन सक्छ । कामको बोझ बढ्ने छ । व्यर्थको काममा फँस्ने सम्भावनासमेत छ । सामान्यतया यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गते तपाईका लागि अशुभ रहने छन् । यो महिना शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईले राशिस्वामी शनिश्चर र मङ्गल ग्रहको उपासना गर्नु वा नियमित रूपमा हनुमान् चालिसाको पाठ गर्नु राम्रो हुन्छ ।

कुम्भ : २०८० को फागुन महिनामा आफ्नै राशिमा सूर्य तथा महिनाको प्रारम्भमा राज्यस्थानमा राशिस्वामी शनिश्चरका साथमा बृहस्पति, मंगल र केतुको उपस्थिति रहने यो महिना सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुने समय हो । यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, तपाईमा अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुने देखिन्छ । तपाईको राशिको मालिक मानिने शनिश्चर ग्रहले यो महिना गोचरको बाह्रौं भावको यात्रा प्रारम्भ गर्ने समय हो । यसैगरी राम्रा पहिरनमा सजिएर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । भौतिक सुख, सुविधा एवम् सत्कार मिल्ने समय रहेको छ । पारिवारिक जमघट तथा सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । विद्यामा तथा प्रतिस्पर्धामा तपाईकै जित निश्चित छ । गीत–संगीत तथा मोडलिङ पेशा व्यवसाय अंगाल्नेहरुले मनग्गे आम्दानी गर्न सक्नेछन् । आफूले माया गर्ने मान्छेलाई मन मुटुमा राख्न सकिने तथा सँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ भने सैद्धान्तिक विषयमा आफन्त, साथीभाई तथा अग्रज व्याक्तित्वहरुसँग विवाद सिर्जना हुनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महसुस हुनेछ । विद्यामा सफलता पाउँन निकै नै संघर्ष गर्नुपर्नेछ । स्वास्थमा रक्तचाप, आँखा तथा पेट सम्बन्धित समस्या आउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा सम्पन्न नहुदा आर्थिक व्यावस्थापनको पाटो कमजोर रहनेछ । यस्तै, आगामी साढे सात वर्ष तपाईका लागि साढेसाती महादशको समयावधि हुनेछ । यसको प्रभावले जीवनीशक्तिमा कमी भएको अनुभूतिका कारण आँफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जा नाश हुनेछ । धन हानि हुनेछ । परिजनको अस्वस्थताले अशान्त रहनुहुनेछ । खर्चको मात्रा बढ्ने छ । नचिताएको ठाउँमा बसोबास गर्नुपर्ने हुन्छ । धार्मिक क्रियाकलापमा संलग्न हुँदा अझ राम्रो हुन्छ । सांसारिक दृष्टिकोणले यो श्रेष्ठ समय होइन । त्यसैले आफ्नो कुण्डलीको योग्य र जानकार ज्योतिषीलाई चेकजाँच गराई राशिस्वामी शनिदेवका लागि समुचित उपचार गरिदिनु मुनासिब हुनेछ । सामान्यतया यस महिनाको १, ८, ९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईका लागि अशुभ रहने छन् । यो महिना कुनै असुविधा नहोस् भन्ने उद्देश्यले शनिबारका दिन कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नु वा खान दिनु राम्रो हुनेछ ।

मीन : २०८० को फागुन महिनामा राशिस्वामी बृहस्पतिले कर्मक्षेत्रमा बसेर सक्दो भरथेग गर्दैछन्, तर महिनाकै मालिक मानिने सूर्यदेवले फागुन महिनाभरि बाह्रौं घरको यात्रा गर्ने भएकाले यो महिना त्यत्ति सकारात्मक र अनुकूल समय होइन । त्यसैले यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुन सक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चमा अचानक वृद्धि हुनेछ, जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । धनमाल हराउने वा चोरी हुने सम्भावना पनि हुन्छ । मनमा कुविचार आउने छन् र दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुन सक्छ । प्रेम जीवन निरश हुन सक्छ । अनावश्यक यात्राको योग छ र यात्राका क्रममा झमेला व्यहोर्नु पर्ने हुन्छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकापसमा तनाव उत्पन्न हुन सक्छ । यसैगरी खर्च बढ्ने योग रहेको छ । अनावश्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिससँग सैद्धान्तिक विषयमा मतभेद बढ्नेछ भने मान्यजनहरुको सुझावलाई हुबहु लागु गरेर अगाडि बढे फाईदा हुने देखिन्छ । विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ भने स्वदेशी भूमिमा फलाम तथा विलासिताका सामानहरुको व्यापार व्यावसाय गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला घाटा लाग्न सक्छ । शिक्षा तथा कामको लागि लामो दूरीको विदेश यात्राको तय हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउँनेछ भने शरीरमा अल्छिपना बढेर जानेछ । साथीभाई तथा आफन्तको गलत सल्लाहले कामहरु बिग्रने हुँदा अरुको सल्लाह लिँदै निर्णय आफै गर्नुहोला । घर परिवारमा अनाश्यक भ्रम पैदा गरि झगडा गराउँन आफन्तहरु लागि पर्नेछन् । सामाजिक काम गर्दा ख्याल गर्नुहोला सत्रुलाग्ने तथा फसाएर तपाईको मान सम्मान तथा प्रतिष्ठा गिराउन लागि पार्नेहरुको जमात सक्रिय भएर लाग्नेछन् । यस्तै, राशिस्वामी बृहस्पतिको प्रभावले तथा यसै महिना राशि परिवर्तन गर्ने शनिश्चर ग्रहको प्रभावले शुभफल नै प्राप्त हुने सम्भावना छ । यसको प्रभावले व्यापार, नोकरी वा कारोबारमा धेरै गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा धेरै घुमफिर हुनेछ । शत्रुको प्रतिष्ठालाई हानि पुर्याउने प्रयत्न हुनेछ तर त्यसमा सफल बन्नुहुन्न । पारिवारिक जीवन सुखद् हुनेछ । सामान्यतया यस महिनाको २, ३, ११, १२, १३, २०, २१, २२, २९ र ३० गते तपाईका लागि अशुभ रहने छन् । खासगरी यो महिनामा शुभफल प्राप्त गर्न तपाईले बाँदर, रातो गाई, रातो कुकुर आदिलाई खान दिनु वा नरिवललाई सिन्दूरले रङ्गाएर, त्यसमा मौली सुप, तामाको पुरानो सिक्का, रक्त चन्दन राखी रातो कपडाले बाँधेर प्रत्येक मङ्गलबारका दिन बग्दो पानीमा बगाउनु उचित हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ