arrow

एकीकृत सम्पत्ति र भूमि करमा १५, व्यवसायमा १० प्रतिशत छुट

logo
हरि पन्त
प्रकाशित २०८० माघ २९ सोमबार
pokhara-mahanagar-office.jpg

पोखरा । पोखरा महानगरपालिकाले एकीकृत सम्पति र भूमि करमा १५ र व्यवसायमा १० प्रतिशत छुट दिने भएको छ । यो सुविधा आगामी असार मासान्तसम्म लागू हुनेछ ।

महानगरको आइतबार सम्पन्न १४औँ नगरसभाले यससम्बन्धी निर्णय गरेको हो । यसअघि तिरिसकेको हकमा भने आगामी आर्थिक वर्षको तिनुपर्ने करमा समायोजन गर्ने निर्णय नगरसभाले गरेको छ ।

नगरसभाले गठन गरेको दर पुनरावलोकन कार्यदलले विभिन्न योजनासहित दर घटाउने सुझाव दिएपछि नगरसभाले करको दरमा छुट दिने निर्णय गरेको हो । समितिले झण्डै डेढ महिना अध्ययन गरेर प्रतिवेदन नगरसभामा पेस गरेको थियो ।

वडाध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा वडाध्यक्षहरु प्रेमप्रसाद कर्माचार्य, किरण बराल, तोरण बानिया, गंगाबहादुर केसी, वडासदस्यहरु निर्मल दियाली, पूर्णचन्द्र न्यौपाने, शिवराम भण्डारी, कल्पना ढकाल र डाल्डादेवी भुजेलका साथै सदस्यसचिवमा दीपेन्द्र पण्डित थिए ।

पोखरामा भूमि कर अत्यधिक बढेको भन्दै नेपाली कांग्रेस, राप्रपा लगायतबाट चौतर्फी विरोध भएपछि नगरसभा करको दरमा छुट दिन बाध्य भएको हो । यस विषयले कांग्रेस समर्थित सदस्यले कार्यपालिका बैठक नै बहिष्कार गरेका थिए ।

अन्य निर्णय के-के भए ?

नगर सभाले अन्य विभिन्न विधेयक तथा प्रतिवेदनहरू पास गरेको छ । नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेद्वारा प्रस्तुत भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक सर्वसम्मतिले पास गरेको हो ।

यस्तै, पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङद्वारा प्रस्तुत समितिको अर्धवार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिका संयोजक झपट बहादुर रानाभाटद्वारा प्रस्तुत सार्वजनिक लेखा समितिको प्रतिवेदन पनि सर्वसम्मतिले पारित भएको छ ।

यसैगरी महानगर मातहत सञ्चालित स्वास्थ्य संस्थाहरूमा पदपूर्ति सहित थप जनशक्ति व्यवस्थापन गर्न १ सय ५४ जनाको दरबन्दी पनि स्वीकृत गरेको छ । जसमा ४ मेडिकल अधिकृत, १ जनस्वास्थ्य अधिकृत, २९ हेल्थ असिस्टेन्ट, २८ अहेव, ४३ अनमी, ४ स्टाफ नर्स, ल्याब असिस्टेन्ट ९, फार्मेसी २, वैद्य १, कविराज २, सहायक कम्प्युटर अपरेटर २ र २९ आवश्यक पदको दरबन्दी छ ।

नगर सभाले रिक्त महानगरको न्यायिक समिति सदस्यमा पोखरा-१३ की वडासदस्य रजनी परियारलाई नियुक्त गरेको छ । परियारले नगर प्रमुख धनराज आचार्यसँग पद तथा गोपनीयताको सपथ लिएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ