arrow

गैरेलाई पाँच करोड नदिए मार्ने धम्की दिने दुई जना पक्राउ, यस्तो छ पृष्ठभूमि

logo
हरि पन्त, 
प्रकाशित २०८० माघ २५ बिहिबार
laxman-dipak-crime-pokhara.jpg

पोखरा । कास्की प्रहरीले पोखराको दीपस्थित सच्याई केन्द्र सञ्चालक केन्द्रका केन्द्रीय अध्यक्ष प्रकाश दीप गैरेलाई ज्यान मार्ने धम्की दिएर पाँच करोड रुपैयाँ फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं २ खुर्कोटका ३६ वर्षका लक्ष्मण दर्जी र कुश्मा १४ आर्थरका ४२ वर्षीय दीपक बहादुर क्षेत्री रहेका छन् ।

उनीहरुलाई पोखरा महानगरपालिका वडा नंं ८ सिमलचौर जाल्पा मन्दिर नजिकैबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । प्रहरी उपरीक्षक थापाका अनुसार दर्जी ४ वर्ष कतार बसेर एक महिना अघिमात्र नेपाल फर्किएका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका क्षेत्री यसअघि पनि आपराधिक गतिविधिमा संलग्न थिए । उनीविरुद्ध पर्वत प्रहरीमा २०७९ मा हातहतियार तथा खरखजनासम्बन्धी मुद्धा चलेको र २०७१ मा वडा प्रहरी कार्यालय बगर कास्कीमा अभद्र व्यवहारसम्बन्धी मुद्धा चलेको देखिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

पक्राउ परेकाहरुले सच्याईका अध्यक्ष गैरेसँग हिन्दी भाषामा कुराकानी र एमएमएस गर्दै निकै चलाखीपूर्ण तरिका अपनाएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार दर्जीले सच्याईका अध्यक्ष गैरेको भिडियो हेर्ने गरेको, माघ १३ गते शनिबार सच्याई केन्द्रमै पुगेर २ घण्टा बसेर गैरेको सम्पर्क नम्बर लिएका थिए ।

त्यसपछि उनीहरुले माघ १८ गते हिन्दी भाषामा म्यासेज लेखेर धम्की दिएर रकम माग गरेका थिए । माघ २० गते दर्जी र क्षेत्री दुवै सच्याई केन्द्रमा पुगेर घटनाको असरबारे बुझेका थिए । माघ २३ गते पनि उनीहरु केन्द्रमा पुगेर आधा घण्टा बसी फर्किएका थिए ।

उनीहरुको डेराबाट बरामद गरेका कागजहरुमा ३० जना प्रतिष्ठित व्यक्तित्वको नाम लेखेको पाइएको प्रहरीले जनाएको छ । 

बरामद कागजमा बिग मनि बिग टार्गेट, किड्न्याप, फिरौती, सर्ट आउट, प्रोटेसन मनी, रिच किड्मा नेता, व्यापारी, गुण्डा, भूमाफिया, औद्योगिक माफिया, मेडिकल माफिया, मेनपावर माफिया लेखिएको पाइएको छ । यस्तै, वीक प्याइन्टमा गणतन्त्र, राजतन्त्र, धर्म निपेक्षता र हिन्दूराष्ट्र पनि लेखेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट भरुवा बन्दुकमा लाग्ने केप २७ थान, खुकुरी, नेपाली भारतीय सिमकार्डहरु, चार थान मोवाइल, रन्दा मेसिन, ग्लेण्डर मसिन, हेक्सा व्लेड, पेन्चिस, ५ सय ७२ ग्राम गाजालगायतका सामाग्री बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध लागूऔषध गाजासम्बन्धी, हातहतियार तथा खरखजनासम्बन्धी र आपराधिक लाभ एक्सटर्सनसम्बन्धी तीन ओटा मुद्धामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ