arrow

धर्मो रक्षति रक्षितः

नागरिकको हैसियतले आफ्नो देशको रक्षार्थ, धर्मको रक्षार्थ लाग्नुपर्छ : शंकर भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
shankar-bhandari-2080-10-24.jpg

नेपाली कांग्रेसका सांसद एवं केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा नेपालमा हिन्दूराष्ट्र स्थापनाका लागि महाअभियानको घोषणा भएको छ । अभियानको समितिले अझै पूर्णता पाइसकेको छैन । भण्डारीले पछिल्ला केही वर्षदेखि आफ्नो पार्टी हिन्दूराष्ट्रको पक्षमा उभिनु पर्ने भन्ने वकालत गर्दै आएका छन् । कांग्रेसको आसन्न महासमिति बैठकमा यो विषयलाई दरिलोसँग उठाउने बताएका भण्डारीसँग हाम्राकुराले अभियानको आवश्यकता र यसको उद्धेश्यबारे छोटो कुराकानी गरेको छ । 

हिन्दूराष्ट्र महाअभियान कस्तो अभियान हो ? 
यसको मूल विषय भनेको वैदिक सनातन हिन्दू धर्मलाई संरक्षण गर्ने, यसको विरुद्धमा भएकाहरुलाई असफल पार्ने, हिन्दू धर्मको सम्मान गर्ने र यसलाई स्थापित गर्ने नै यसको मूल उद्धेश्य हो । 

यसअघिकै अजेन्डालाई निरन्तरता दिइएको हो कि नयाँ हो ? 
मुख्य अजेन्डा त्यही हो । शताब्दीऔँदेखि वैदिक सनातन हिन्दू धर्म संस्कारविरुद्ध, नेपाली एकताको विरुद्धमा, भौगोलिक अखण्डताको विरुद्धमा षड्यन्त्र भइरहेको छ । त्यो षड्यन्त्र सफल हुँदै गएको र हाम्रो शक्ति क्षीण हुँदै गएको विषयलाई गम्भीरपूर्वक लिएर हाम्रो शक्तिलाई, हाम्रो धर्मलाई, हाम्रो संस्कार प्रदत्त संस्कृतिलाई जोगाउनु पर्छ भन्ने उद्धेश्य हो । त्यसका लागि हामी निरन्तर क्रियाशील छौँ । क्रियाशील हुँदै अगाडि बढ्ने हाम्रो प्रतिबद्धता हो । 

रास्वपाले केही दिनअघि हिन्दू राष्ट्रको मुद्धा ल्याउनु उल्टो बाटो हिँड्नु भनेको छ । त्यसलाई काउन्टर दिन पनि महाअभियानको थालनी गरिएको हो भन्ने चर्चा छ नि ? 
राष्ट्रिय स्वतन्त्र पार्टीले समयमै उसले आफ्नो अलग्गै असली हैसियतलाई स्पष्ट पार्न खोजेको छ धन्यवाद दिन चाहन्छु । अर्थात् उनीहरुको पृष्ठभूमि के हो ? उनीहरु कोबाट परिचालित छन् ? उनीहरुलाई कस्तो शक्तिको सहयोग छ ? भन्नेबारे जुन कुरामा हामी शंका गर्दैछौँ त्यो कुरालाई उनीहरु आफैँ पुष्टि गर्दैछन् । उनीहरु नेपालको समग्र भविष्यलाई, नेपालको समग्र पहिचान र शक्तिलाई अक्षुष्ण राख्ने उद्धेश्यले हैन कि निश्चित कसैको उद्धेष्य परिपूर्ति गर्नको लागि कसैबाट प्रशिक्षित, दीक्षित शक्ति हुन् भन्ने कुरा म लगायतका हामीले भन्दै आएका थियौँ देशको मूल धर्मको विरुद्धमा लाग्ने जोकोही पनि राष्ट्रवादी हुनै सक्दैन । जसले नेपालमा धर्मको कुरा गर्नु हुँदैन भन्छ उसले अमेरिका र बेलायतमा गएर इसाई धर्मको कुरा गर्नु हुन्न भनेर हैसियत राख्छ ? राख्दैन । जो जो हिन्दू धर्मको विरुद्धमा लागेका छन् तिनीहरु पश्चिमा शक्तिहरुबाट सञ्चालित छन् भन्ने कुरामा कुनै भ्रम नरहोस् । भ्रममा नपरौँ । 

कांग्रेसको महासमिति बैठक नजिकिँदै गर्दा यो विषय पनि मुद्धा बन्दै हो ? 
यो त अनिवार्य । हामीले केन्द्रीय समितिमा बारम्बार भनेका छौँ । यसलाई अजेन्डाका रुपमा ल्याउनुस् भनेका छौँ । कथंकदाचित् यसलाई केन्द्रीय समितिमा ल्याइएन भने केन्द्रीय समितिमै हामीले असहमति राख्छौँ  र महासमितिको बैठकमा फ्लोरबाट यो अजेन्डा हामी बहसमा ल्याउँछौँ । अनि हामी गन्तव्यमा पुग्छौँ । 

नेपाल फेरि हिन्दूराष्ट्र हुनेछ भन्ने आधार छ र ? 
यो त स्वतः हिन्दू राष्ट्र हो नि । वैदिक सनातन सबै धर्मको धार्मिक स्वतन्त्रता भनेका छौँ । यो बुद्ध जन्मेको देश, सीता जन्मेको देश, भृकुटी जन्मेको देश, ऋषिमुनि जन्मेको देश, पवित्र भूमि, तपोभूमि, सगरमाथाको देश । यति ठूलो शक्ति र अर्थ छ । आज जिसस क्राइष्टप्रति हाम्रो कुनै पूर्वाग्रह छैन । तर जिसस क्राइष्ट कहाँ जन्मे अमेरिका लगायतका पचासौँ मुलुकका सयौँ ग्रुप छन् । यो त पवित्र देवताहरुको जन्मभूमि हो । ऋषिमुनिहरुको तपोभूमि हो । हामी सबैले यो कुराको हेक्का राखौँ । सबैले गम्भीरपूर्वक सोच्नुस् भन्ने हाम्रो आग्रह हो । सबै नेपाली नागरिक हो । आफू जन्मेको माटोप्रतिको दायित्व हुन्छ । जिम्मेवारी हुन्छ । अपनत्व हुन्छ । हाम्रो शक्तिलाई, हाम्रो पहिचानलाई, हाम्रो वास्तविकतालाई जुन बेला अश्वीकार गर्छौँ हामी पालितपोषित हौँ । यसमा कुनै भ्रम छैन । तसर्थ एउटा नागरिकको हैसियतले आफ्नो देशको रक्षार्थ, धर्मको रक्षार्थ लाग्नुपर्छ । हाम्रो क्रियाशीलता त्यही हो, हाम्रो अभियान त्यही हो । 

तपाई संयोजक भएको महाअभियानको समितिले कहिले पूर्णता पाउँछ ? 
बल्ल संयोजक तोक्ने काम भएको छ । हामी छलफल गर्दैछौँ । हामीले काठमाडौँमा पत्रकार सम्मेलन गरेरै घोषणा सभा गर्छौँ । त्यसपछि हाम्रो औपचारिक कार्यक्रम अगाडि बढ्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ