भारतबाट फर्किएका १० नेपालीमा देखियो कोरोना, परीक्षण अनिवार्य
भेरियन्ट यकिन गर्न नौ जनाको नमुना काठमाडौँमा
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
667
Shares
कञ्चनपुर । भारतका विभिन्न शहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।
भारतमा नयाँ भेरियन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ ।
हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए।
“भारतबाट आउनेहरूमा कोरोना सङ्क्रमण छ-छैन जाँच्न एन्टिजेन्ट परीक्षण गरिरहेका छौँ”, उनले भने, “अहिलेसम्म १० जनामा एजेन्ट पोजेटिभ देखिएको छ ।”
हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना संक्रमणमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ ।
गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कोरोनाको ‘भेरियन्ट’ यकिनका लागि नमुना सङ्कलन गरेर काठमाडौँ पठाइएको प्रमुख साउदले बताए ।
“भेरियन्ट यकिन गर्न नौ जनाको नमुना काठमाडौँ पठाएका छौँ”, उनले भने, “दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।”
कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।