arrow

भ्रष्टाचार सम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्छ : मन्त्री गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
dhanraj-gurung-new.jpg
तस्बिर-फाइल

वालिङ । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार सम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् । 

भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिए । 

नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले छानबिन प्रक्रियाप्रति आफू पूर्णरुपमा सन्तुष्ट नरहेको बताएका हुन् । 

“भ्रष्टाचार, तस्करी, सुनकाण्डलगायतका विषयमा जब छानविन सुरु हुन्छ तब ठूला मान्छेको नाम जोडिन्छ अनि निष्कर्षमा पुग्न नपाउँदै रोकिन्छ, यो प्रवृत्तिको अन्त्य हुनुपर्छ, दोषी जोसुकै भए पनि सजायको भागीदार हुनैपर्छ”, उनले भने । 

मन्त्री गुरुङले गठबन्धनमा रहेका पार्टीको स्वीकृतिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनःगठन गर्नसक्ने बताए । 

मन्त्रीहरुको कामको मूल्याङ्कन, पार्टीको स्वीकृतिमार्फत मन्त्रिपरिषद् पुनःगठन हुनसक्ने उनको भनाइ थियो । 

“प्रधानमन्त्रीको सोचअनुसार काम गर्नसक्ने मन्त्रिमण्डलमा अटाउनु हुन्छ”, उनले भने, “सोअनुसार काम गर्न नसक्ने बिदा हुनुहुन्छ ।” 

मन्त्रिमण्डल पुनःगठन गर्दा गठबन्धनमा सहभागी भएका राजनीतिक दलहरुको सहमतिबाटै हुने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ