arrow

अपाङ्ग महासंघ विवादित, नेतृत्वले विधान विपरीत काम गरेको भन्दै कार्यालयमा तालाबन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
rastriya-apanga-mahasangh-2.jpg

काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । महासंघकी केन्द्रीय उपाध्यक्ष अनिता घिमिरेको नेतृत्वमा चार प्रदेशलेसमेत साथ दिएर केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो । 

महासंघको सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउदले नेतृत्व मनोमानी ढङ्गले चलेको, विधान विपरीत काम गरेको, आर्थिक अनियमितता गरेको लगायतका माग राखेर तालाबन्दी गर्नुपरेको बताए । 

आइतबारदेखि गरिएको तालाबन्दी माग पूरा नहुन्जेल कायम रहने पनि उनले बताए । उनले भने, ‘अध्यक्ष देवीदत्त आचार्यले महासंघलाई कुशासनतिर लगिरहेकाले यो त अति भयो भनेर अपाङ्गता भएकाहरुको हकहितमा जानु पर्नेमा प्रदेश फुटाउने, आवाज बुलन्द हुन नदिने काम विरुद्ध संघीय उपाध्यक्ष अनिता घिमिरेको नेतृत्वमा हामी सूदूरपश्चिम, कोशी, बागमती, मधेस प्रदेशलेसमेत सामूहिक विरोध गरेका हौँ ।’

उनले संघले मात्र कार्यक्रम गर्ने होइन प्रदेशलाई पनि काम गर्न दिनु पर्छ भन्ने आफूहरुको माग रहेको बताए । प्रदेशमा काम गर्दा संघकै एकाधिकार हुने गरेको भन्दै त्यसको विरोध गर्दा आफूलाई कार्यसम्पादन समितिले निलम्बन गरेको जनाएकोसमेत प्रदेश अध्यक्ष (निलम्बित भनिएका यद्यपि आधिकारिक पत्र नपाएका) साउदले बताए । 

उनले भने, ‘हामीले सुदूरपश्चिममा हकहितका लागि त्यत्रो आन्दोलन गर्यौँ अहिले आएर केन्द्रले नै बिना कारण कारबाही गरेको सुनेको छु । पत्र पाएको छैन । त्यो पनि कार्यसम्पादन समितिले रे । यस्तो पनि हुन्त ? बोल्न पाइँदैन ?’

उनले आफूसहित सुदूरपश्चिम प्रदेशका एक सदस्यलाई पनि निलम्बन गरिएको बताए । अहिलेका मागमा उनीहरु दुवैजनाको निलम्बन फुकुवा पनि परेको छ । 

साउदले प्रदेशको नीतिकानूनसमेत बनेको अवस्थामा केन्द्रले हस्तक्षेप गर्नु गलत भएको बताए । उनले राजनीतिक प्रभावमा परेर आफूहरुलाई हटाउने, कारबाही गर्ने र आफ्ना मान्छे ल्याउने अध्यक्षको कदम गलत भएको बताए । 

त्यसैगरी तालाबन्दीमा उत्रिएसँगै आइतबारै बसेको कार्यसम्पादन समितिको बैठकले संघीय उपाध्यक्ष घिमिरेसहितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ । 

आन्दोलनमा उत्रिएकाहरुले पत्रकार सम्मेलन गरेरै तालाबन्दीमा उत्रिनु परेको बताएका छन् । 

यस्तो छ प्रेस विज्ञप्ति– (जस्ताको त्यस्तैः भाषासमेत सम्पादन नगरिएको) 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ