arrow

जग्गा रोक्का गर्न भन्दै पूर्वमन्त्री लामाले आफ्नै ८३ वर्षीया आमाविरुद्ध हाले मुद्धा 

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० पुष ५ बिहिबार
resham-lama-kavre-uml-centr.jpg
तस्बिर – फाइल ।

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका वडा नं १० दाप्चा निवासी ८३ वर्षीया डोलकुमारी लामा हिजोआज जिल्ला सदरमुकाम धुलिखेलस्थित सरकारी कार्यालय तथा अड्डा अदालतमा दिनहुँजसो भेटिन थालेकी छिन् । 

पूर्व स्थानीय विकास राज्यमन्त्री, एमाले केन्द्रीय सदस्य रहेका आफ्नै कान्छो छोरा रेशमबहादुर लामाले आमाको नाममा रहेको घर जग्गाहरु रोक्का राख्न भन्दै २०८० जेठ १० गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । 

पूर्वमन्त्री लामाले हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालय काभ्रेमा दर्ता गराएको निवेदनमा ‘आमाले घरसल्लाहमा नै नगरी मेरोसमेत हक लाग्ने घरजग्गा घरमा थाहा नै नदिई विगतमा पनि बेचबिखन गरिसकेको र अरु जग्गा पनि बेचबिखन गर्ने तरखरमा रहेको हुँदा बेचबिखन गर्नबाट रोक्का गरी पाउँ’ भन्ने उल्लेख छ । 

सोही पत्रमा जिल्ला प्रशासन कार्यालय काभ्रेले ‘बेचबिखन गर्न आएका बखत पक्षहरु बोलाइ छलफल गराइ सहमति (पारिवारिक) बमोजिम गर्ने र नमिलेमा वा सहमति नभएमा छलफलका लागि यस कार्यालयमा पठाउनको लागि यस कार्यालयमा पठाउनका लागि मालपोत कार्यालयमा यो निवेदन पठाउने’ तोक लगाएको थियो । 

जिल्ला प्रशासन कार्यालयले सोही दिन नै मालपोत कार्यालय धुलिखेलमा पत्राचार गरेपछि डोलकुमारीको नाममा साविक दाप्चा छत्रेबाँझ गाविस वडा नं २ मा रहेको जग्गा कारोबार गर्न नमिल्ने बनाइएको मात्रै छ, अनलाइन प्रणालीमा रोक्का भएको छैन । 

रेशमले परिवारमा सल्लाह नै नगरीकन अंशसमेत दाबी नगरी किन एक्कासी रोक्का गर्नको लागि प्रशासनमा निवेदन दिए, आमा डोलकुमारी र अंशियार दाजुभाइहरु अन्योलमा परेका छन् ।

रेशमका बुबा ज्ञानबहादुर, आमा डोलकुमारी, छोराहरु कमलबहादुर, देवबहादुर र भक्तबहादुर, छोरी गुणकुमारी र प्रेमकुमारीले जिल्ला प्रशासन कार्यलयमा दर्ता गराउन तयार गरेको निवेदनमा ‘घरायसी व्यवहार परिवारको प्रेमले हामी सुखमय जीवन गुजारा गरी आएका थियौँ र सगोलमा रहेका छौँ । हाम्रा जग्गा सम्पत्ति हाम्रा आमा बुबाकै नाममा रहेको र कुनै पनि सन्तानले हालसम्म अंशवण्डा गरौँ, अंश सम्पत्ति छुट्याइ पाउँ वा मेरो आमाले नराम्रो गर्नु होला कि भनी हालसम्म कुनै व्यहोरा नदेखाउनु भएकोमा अत्यन्त माया, सद्भाव, विश्वास गरिएको छोरा रेशमबहादुर लामालेसमेत कहिले कतै पनि अंशको विषयमा कुरा उठाएको वा माग गरेको परिवारको सदस्यहरु, नातागोताहरुमा कसैलाई थाहा जानकारी छैन’ भनी उल्लेख छ । 

निवेदनमा रेशम लामाको लामो समय देखिको व्यक्तिगत, सामाजिक र राजनीतिक कारण तथा व्यवहारले उनीहरुको इज्जत प्रतिष्ठामा नै आघात हुने गरी घर सल्लाह बेगर जानकारी नदिइ अनेकन बहाना बनाएर निवेदन पेश गर्दैमा रोक्का हुन सक्ने कानूनी आधार र कारण नभएको भन्दै रेशमले मागेको बखत घर सल्लाहमा कानून बमोजिम पाउनु पर्ने अंश लिने दिने हुँदा उनले दिएको निवेदन खारेज गरी घरजग्गा फुकुवा गर्न रेशमका बाबु, आमा, दाजुभाइ र दिदिबहिनीले निवेदन तयार गरे पनि प्रशासनले शक्तिको आडमा दर्ता नै गरेको छैन । 

रेशमले आमा डोलकुमारी लामा समेतलाई प्रतिवादी बनाइ फिराद दर्ता गरिएको लिखत दर्ता बदर मुद्धामा २०८० कात्तिक २० गते काभ्रेपलाञ्चोक जिल्ला अदालतद्धारा २१ दिने सूचना म्याद जारी भएपछि जानकारी भई म्याद बुझिसकेपछि के कसो र छ ? भनी बुझ्दा मात्रै सबै घर जग्गा रोक्का रहेको जानकारी पाएका थिए । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नमोबुद्ध १० का रेशमबहादुर लामाले प्रशासनमा निवेदन दिएपछि प्रशासनले सक्कल नै निवेदन पठाएर के भएको बुझ्न लगाएको तर जग्गा रोक्का गर्न नभनेको बताइन् ।

‘जग्गा रोक्का राख्न हामीले भनेका छैनौँ, के भएको हो बुझ्न भनिएको हो, छलफल गराउने भनिएको छ, कानूनले दिएका अधिकार अनुसार नै काम अघि बढ्छ ।’ 

उनले भनिन्, ‘अर्को पक्ष (आमाहरु) पनि आउनुभएको थियो, हाम्रो क्षेत्राधिकार नभएकोले मालपोतमा नै बुझ्न भनेका हौँ, निवेदन दर्ता नगरेका हैनौँ ।’

मालपोत कार्यालय काभ्रेका प्रमुख दीपक कोइरालाले प्रशासन वा अन्य कुनै निकायको पत्रकै आधारमा जग्गा रोक्का नहुने र नभएको बताए ।

‘अदालतको आदेश वा कर्जा लिएको हकमा वित्तीय संस्थाको पत्रको आधारमा मात्रै जग्गा रोक्का हुन्छ, अन्यथा हुँदैन,’ उनले भने, ‘पद, शक्तिका कारण रोक्का हुने भन्ने हैन, छलफलका लागि बोलाउने भनेर अर्को पक्ष नआउञ्जेल कारोबार नभएको हो ।’ मालपोत कार्यलयले प्रयोग गर्ने अनलाइन सफ्टवेयरमा जग्गा रोक्का देखिएको छैन । 

आमा डोलकुमारीले नेताको धम्कीका आधारमा व्यक्तिको जग्गा रोक्का गर्न मिल्छ त भनेर प्रतिप्रश्न गरिन् । ‘मैले जन्म दिएर देशमा नै बोल्न सक्ने नेता भएको छ, खान लाउन नपुग्ने पनि छैन, अशक्त पनि छैन, अंश मागेको पनि छैन,’ आमाले आक्रोश पोखिन्, ‘मलाई नुनको ढिको पनि नदिने, अनि मैले अंश दिएन भनेर मुद्धा गर्न मिल्छ त ?’ 

छोरा रेशम लामाले आमाले विदेशी नागरिकलाई आफ्नो घरसमेत रहेको जग्गा बिक्री गरेकाले पैतृक सम्पति जोगाउन मुद्धा दर्ता गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ