arrow

तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण : स्वर्णिम वाग्ले

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
swarnim-wagley-2080.jpg
तस्बिर-फाइल

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ-१ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्वपूर्ण रहेको बताएका छन् । 

ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन उक्त आयोजनाको आइतबार निरीक्षणपश्चात् उनले तनहुँ जलविद्युत् आयोजना कुलेखानीपछि बनेको पहिलो जलाशययुक्त आयोजना भएकाले यसको निर्माण पश्चात विद्यमान ऊर्जा सङ्कट केही हदसम्म समाधान हुने बताए । 

कुलेखानी जलविद्युत् आयोजना बनेको ४० वर्षपछि मात्र पहिलो जलाशययुक्त जलविद्युत् आयोजना बनेको भन्दै वाग्लेले यस आयोजना ऊर्जा सुरक्षाको दृष्टिकोणबाट पनि महत्वपूर्ण हुने उल्लेख गरे । 

आयोजना निर्माणका क्रममा स्थानीय जनसरोकारवाललाई विश्वासमा लिएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

वाग्लेले भने, “वर्षामा धेरै पानी पर्ने हुँदा त्यसबेला धेरै विद्युत् उत्पादन हुने तर हिउँदमा पानी सुक्दै जाने र विद्युत् उत्पादन पनि घट्दे जाने हुँदा सरकारले धेरै भन्दा धेरै जलाशययुक्त आयोजना बनाउनुपर्छ ।” 

बूढीगण्डकी र नलसिंङगाड विद्युत् आयोजना जलाशययुक्त भएकाले त्यसको पनि चाँडै निर्माण गर्नुपर्नेमा उनले जोड दिए । 

विद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र, मुआब्जा र विस्फोटक पदार्थको आयातमा मुख्य समस्या हुने हुँदा यी तीनवटै समस्या समाधानका लागि नीतिगत रुपमा नै सम्बोधन हुनुपर्ने वाग्लेको भनाइ थियो । 

तीन प्याकेजमा निर्माण भइरहेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज-१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०७८ भदौ १४ मा ठेक्का सम्झौता भएर कार्यान्वयनमा आएको थियो । 

उक्त आयोजनाको बाँध निर्माणका लागि नदी डाईभर्सन कार्य सम्पन्न भई बाँध निर्माण सुरु भइसकेको आयोजना कार्यालयले जनाएको छ । 

आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम प्याकेज-२ मा परेका छन् । यसका लागि विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो ।

निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् निर्माण कम्पनीले विसं २०७५ माघ ६ गतेदेखि आयोजना स्थलमा परिचालित भई निर्माण जारी राखेको जनाएको छ । 

भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कङिक्रटिङ तथा टर्वाइन लगायतका उपकरण जडान भइरहेका छन् । 

टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खनिरहेको छ । 

यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशत भन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ । 

प्याकेज-३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किटप्रसारण लाइन निर्माणका लागि विसं २०७५ पुस १० गते खरिद सम्झौता भई सोही वर्षको फागुन १० गतेदेखि कार्यान्वयनमा आएको थियो ।

३४.७ किमि प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ६९को जग हालिएको छ भने ३३ टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । 

यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका-४ र बन्दीपुर गाउँपालिका-६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

उक्त सबस्टेसनसम्म विद्युत् पुर्‍याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । 

जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ