arrow

आँबुखैरेनीको शिक्षा सुधार कोषमा २० लाख सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
Anbukhaireni.jpg

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको शिक्षा सुधार कोषमा रु २० लाख बढी सङ्कलन भएको छ । गाउँपालिकाले शिक्षा सुधारका लागि सुरु गरेको शिक्षा सुधार कोषमा विभिन्न सङ्घ संस्था तथा व्यक्तिबाट उक्त रकम सङ्कलन भएको हो ।

गाउँपालिकाभित्र सञ्चालित उद्योग, विभिन्न सहकारी, टोल सुधार समिति, सङ्घ संस्थाले पालिकाको उक्त अभियानमा हातेमालो गर्दै सहयोग गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाको आह्वान अनुसार सहयोग जुट्ने क्रम जारी छ ।

उक्त कोषमा एकैदिन साँढे छ लाख सहयोग प्राप्त भएको छ । गाउँपालिकामा रहेका विभिन्न उद्योगले शिक्षा सुधार कोषमा रु छ लाख ५० हजार सहयोग गरेका हुन् ।

आँबुखैरेनी गाउँपालिका-२ स्थित अभनिष डिष्टिलरी प्रालिले रु तीन लाख, सूर्य ब्लेन्डर्स प्रालिले रु एक लाख, मकालु डिष्टिलरी प्रालिले रु एक लाख ५० हजार र तिरुमाला प्लास्टिक इण्डष्ट्रिजले रु एक लाख सहयोग गरेको छ ।

गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार कार्यक्रमलाई थप टेवा पुर्याउने उद्देश्यसहित शैक्षिक क्षेत्रमा गरेको सहयोगप्रति गाउँपालिकाका अध्यक्ष चुमानले धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्ष चुमानले भने, “हामी गाउँपालिकाका सबै वडामा रहेका सामुदायिक विद्यालय सुधार्न योजनासहित अगाडि बढेका छौँ । त्यसका लागि हातेमालो गरेर यहाँका सङ्घ संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेको छ ।”

गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार योजनाको सुरुआत गरेको छ ।

गाउँपालिकाले रुप फेर्ने, सिकाइ गुणस्तर, अनुगमन र प्रोत्साहन गरी चार वटा विषयलाई प्राथमिकता दिएको अध्यक्ष चुमानले जानकारी दिए ।

चुमानले भने, “हामी निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौँ भनेर कार्ययोजना बनाएर लागेका छौँ । शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिएका छौँ ।”

रुप फेर्ने योजनाअन्तर्गत बाल विकासदेखि कक्षा ५ सम्मका सबै छात्रछात्रालाई निःशुल्क ट्र्याकसुट, झोला, जुत्ता मोजा तथा टिसर्ट वितरण गरिएको छ ।

गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका-४ भाँगेस्थित छिम्केश्वरी मावि र मर्स्याङ्दी आधारभूत विद्यालयमा पुराना डेस्क बेन्च हटाएर नयाँ व्यवस्था गरेको छ ।

शैक्षिक सुधार अभियान अन्तर्गत विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क बेन्च फेर्ने, नर्सरीदेखि कक्षा दुईसम्म स्मार्ट टिभी राखी सिकाइ सहज गर्ने र केही विद्यालयमा बस प्रदान गर्ने योजना छ ।

उनले भने, “कतिपय विद्यालयका विद्यार्थी विद्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ, त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौँ । त्यसले गर्दा विद्यालय आउजाउका लागि हिँड्नुपर्ने समय विद्यार्थीले अध्ययनमा लगाउन सक्छन् ।”

सिकाइ गुणस्तर योजना अन्तर्गत कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीको वार्षिक मूल्याङ्कन शिक्षण प्रतिवेदन अनुसार समस्याको पहिचान गरी समाधान तर्फ पहल गरिन उनले बताए ।

विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै स्रोतमा शिक्षक परिचालन गर्ने योजना रहेको चुमानको भनाइ छ ।

प्रोत्साहन योजनाअन्तर्गत जनप्रतिनिधिको छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउने निर्णय कार्यान्वयनमा आएको छ ।

“सामुदायिक विद्यालयमा अपनत्व बढाउने गरी सो निर्णय कार्यान्वयनमा आएको छ,” उनले भने, “जनप्रतिनिधिका छोराछोरी निजी विद्यालयमा पढाउने अनि सामुदायिक विद्यालय गुणस्तरको कुरा गर्न सुहाउँदैन ।”

आँबुखैरेनी गाउँपालिकाका-६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् ।

ती विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति ल्याउन लागेको चुमानले बताए ।

त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ