arrow

रातारात प्रदेश प्रहरी अस्पताल इनरुवा सारिएपछि बेलबारीबासी असन्तुष्ट

logo
विवेक मिश्र, 
प्रकाशित २०८० मंसिर २७ बुधबार
kedar-karki-gyapan-patra-be.jpg

मोरङ । स्थापना भएको वर्षदिन पनि बित्न नपाउँदै मोरङको बेलबारी नगरपालिका–३ मा रहेको नेपाल प्रहरीले सञ्चालन गरेको कोशी प्रदेश स्तरीय अस्पताल रातारात सारेर सुनसरीको इनरुवा सारिएपछि बेलबारी असन्तुष्ट बनेको छ । 

के कति कारणले नगरबासी निदाएका बेला मध्यरातमा अस्पतालका सरसामान इनरुवा पुर्याइयो भन्दै बेलबारीका प्रदेश सांसदलगायत जनप्रतिनिधिहरुले प्रदेश सरकारसँग प्रश्न गरिरहेका छन् । 

मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालय पुगेका स्थानीयसहित राजनीतिकर्मी, जनप्रतिनिधि र सरोकारवालाले अस्पताल साविककै स्थानमा पुनःस्थापित गराउन माग गर्दै मुख्यमन्त्री केदार कार्कीलाई ध्यानाकर्षण गराएका हुन् ।  

नेपाल प्रहरीको व्यवस्थापनमा बेलबारीमा सञ्चालित अस्पताल एक्कासी सारिएपछि मंगलबार साँझ त्यस क्षेत्रका प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, उपमेयर नितु थापा कोइराला र स्थानीय राजनीतिकर्मीको टोलीले मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

अस्पताल साविककै स्थानमा कायम गराउन पहल लिइदिन ध्यानाकर्षण गरेको उपमेयर नितु थापा कोइरालाले बताइन् । “बिहान एकाएक अस्पताल त खाली भएछ भनेर खबर आएपछि हामी सबै हतारिएर हेर्न गयौँ । रातबिरात अरूको सुरक्षा गर्ने प्रहरीले आफ्नै अस्पताल नगरबासी निदाएका बेला मध्यरातमा सारेर लगेछन्, यो घटना एकदमै दुखद रहेको” मोरङ बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाले बताइन् ।

“रातको समयमा सरसामान लगिएपछि हामी सबै छक्क परेका छौँ । केही विषय भए छलफल गर्दा हामी निकास निकाल्ने थियौँ । तर, त्यस्तो केही भएन,” प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले बताए ।

२०७९ फागुन ११ गते तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बेलबारीमा प्रादेशिक प्रहरी अस्पताल उद्घाटन गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारी नयाँ भवनमा सरेपछि राजमार्गसँगै रहेको प्रहरी भवनमा अस्पताल सञ्चालन गरिएको थियो ।

सञ्चालनको एक वर्ष पनि नपुग्दै सुनसरी जिल्ला समन्वय समितिको भवनमा अस्पताल सारिएको छ । उपमेयर थापाले प्रहरी अस्पताललाई नगरपालिकाले एसी जडान गर्नेदेखि अन्य सहयोगसमेत गरेको बताइन् । 

‘प्रदेश प्रहरी अस्पताललाई हामीले बेलबारी ४ मा निर्माण सम्पन्न हुनै लागेको पर्याप्त सुविधा र क्षेत्रफल रहेको नगर अस्पताल दिन्छौँ भनिरहेकै थियौँ तर उहाँहरु हामीलाई जानकारीसमेत नदिई रातिनै निस्किएर जानुभएछ’,  उपमेयर थापाले भनिन् । 

“प्रदेशको सेन्टरको हिसाबले पनि बेलबारी उपयुक्त स्थान थियो तर यसमा राजनीतिकरण भयो” उपमेयर थापाले बताइन् । 

“यसपटक अस्पतालको संरचनादेखि अन्य सुधारका लागि सहयोग होस् भनेर रातो किताबमै उल्लेख गरी १० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका थियौँ,” थापाले भनिन् । 

अस्पतालले जग्गा उपलब्ध गराउन स्थानीय सरकार समक्ष प्रस्ताव गरेको थियो । त्यसबारे छलफल गरी पूर्वनगर प्रमुख तथा वर्तमान कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले आफ्नै दुई बिघा जग्गा दिने सहमतिसमेत जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ