arrow

टावर सञ्चालनमा नआउँदा फोन सम्पर्क गर्नै सकस

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
Telecom-Tower-2.jpg
तस्बिर-फाइल

कञ्चनपुर । कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क नहुँदा यहाँका बासिन्दाले फोन सम्पर्क गर्न सास्ती भोगिरहेका छन् ।

भीमदत्त, बेदकोट, शुक्लाफाँटा तथा कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रअन्तर्गत पर्ने कतिपय ठाउँमा गतिलो मोबाइल नेटवर्क नहुँदा सम्पर्क गर्न सकस हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ ।

“नेपाल टेलिकमको टावर भएर पनि राम्रोसँग नेटवर्क टिप्दैन । फोन सम्पर्क गर्न समस्या हुन्छ,” बेदकोट नगरपालिका–४ का हरिश पन्त भन्छन्, “गतिलोरुपले इन्टरनेट पनि चल्दैन ।”

कृष्णपुर नगरपालिका-१ बण्डमा नेपाल टेलिकमको नेटवर्कका लागि स्थापना गरिएको टावर सञ्चालनमा नआउँदा यहाँका बासिन्दा टेलिफोन सम्पर्कका लागि समस्या झेल्न बाध्य छन् । 

लामो समयपछि टेलिकमको टावर स्थापना भए पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेको कृष्णपुर नगरपालिका-१ का विनोदसिंह धामी बताउछन् ।

“टेलिफोनको सुविधा थिएन । लामो रस्साकस्सीपछि टावर स्थापना भएको छ”, उनी भन्छन्, “वर्षौपछि सहजै सञ्चारमा पहुँच पुग्न भनेर सुखी थियौँ  तर अहिलेसम्म सञ्चालनमा आएको छैन ।”

उनका अनुसार नेपाल टेलिकमको सीम प्रयोग गर्ने ग्राहक नेटवर्क नआउँदा फोन सम्पर्क गर्न राजमार्गतर्फ झर्नुपर्ने बाध्यता छ । 

स्थानीय कालिका माध्यमिक विद्यालयको भवनमाथि टेलिकमको मोबाइल नेटवर्क टावर ठडाइएको छ । टावर सञ्चालनमा नआउँदा बण्ड, दोमिल्ला, पहरिया, सुन्दरीफाँटालगायत क्षेत्र गतिलो सञ्चार सुविधाबाट बञ्चित छन् ।

“टावर राख्न विद्यालयको ठाउँ उपलब्ध गराएको थियो । नेटवर्क सञ्चालनमा नआउँदा फोन सम्पर्क गर्न निकै समस्या हुन्छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बोहरा भन्छन्, “यो टावर सञ्चालनमा आए यहाँको नेटवर्कको समस्या समाधान हुने विश्वास छ ।”

नेटवर्क नहुँदा नेपाल टेलिकमको सीम प्रयोग गर्ने सेवाग्राहीले समस्या भोग्नु परेको स्थानीय चन्द्रादेवी रावतको भनाइ छ । 

“फोन राम्रोसँग सुनिदैन । इन्टरनेट पनि चल्दैन । चाहिएको बेला फोन सम्पर्क गर्न सकिदैन”, उनी भन्छन्, “नेटवर्क नहुँदा बोल्दाबोल्दै फोन काटिन्छ । चाहिएको बेला नियमित सम्पर्क गर्न सकिदैन ।”

कृष्णपुर नगरपालिका-१ बण्डमा निर्माण भएको टेलिकमको टावर सञ्चालनको अन्तिम चरणमा रहेको महेन्द्रनगरस्थित दूरसञ्चार कार्यालयका प्रमुख प्रितम भट्ट बताउछन् ।

विद्युत् उपलब्ध नहुँदा टावर सञ्चालनमा केही ढिलाइ भएको उनको भनाइ छ ।

“आवश्यक उपकरण आइसकेका छन् । एक महिनाभित्र सञ्चालन गर्ने गरी काम अघि बढेको छ,” उनी भन्छन्, “विद्युत् उपलब्ध नहुँदा केही ढिलाइ भयो । अब केही समस्या छैन ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ