arrow

नेत्ररोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शुरू

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
ophthalmologist-conference-2080.jpg

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा पहिलोपटक नेत्ररोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ । रेयुकाई एईको मासुनागा आँखा अस्पतालको आयोजनामा शुक्रबारदेखि सम्मेलन शुरू भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सम्मेलनको उद्घाटन गरे । कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनलाई संसोधन गर्नुपर्ने आवश्यक रहेको बताए । 

उनले चिकित्सा शिक्षा ऐनलाई संशोधन नगरे आगामी ५ वर्षभित्र नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी नै नहुने दाबीसमेत गरे । 

ऐनभित्र रहेका राम्रा कुरालाई आत्मसात गर्ने र संशोधन गुर्नपर्ने कुरालाई संशोधन गर्न मन्त्री परिषद्मा प्रस्ताव पेश गरेको उनले जानकारी दिए । 

एक सयदेखि तीन सय शैय्या सञ्चालन रहेका अस्पताललाई पारामेडिक्स र नर्स तथा तीन सय भन्दा बढी शैय्या सञ्चालनमा रहेका अस्पताललाई एमबीबीएस डाक्टर पढाउने अनुमति दिने योजनासमेत मन्त्रालयले अघि बढाएको उनको भनान थियो ।

कार्यक्रममा डुली इन्टरमेड इन्टरनेशनल अमेरिकाका अध्यक्ष स्कट ह्यामिल्टनले सबैको सहयोगबाट मात्रै अन्धोपन निवारण गर्न सकिने बताउँदै आँखा अस्पतालका लागि गर्दै आएको सहयोग आगामी दिनमा समेत निरन्तर रहने बताए । 

कार्यक्रममा अस्पतालका अध्यक्ष मधु आचार्यले सन् २००७ मा शुरू भएको अस्पतालले हालसम्म करिब दश लाख नागरिकको आँखाको विभिन्न उपचार गरेको जानकारी दिए । 

कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपककुमार गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सगुन जोशी, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोदकुमार यादव, सेवा फाउण्डेशनका क्षेत्रिय निर्देशक रविन्द्र शाक्यले आँखा अस्पतालले अन्धोपना निवारणका लागि पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

नेत्र रोग विशेषज्ञहरुको सम्मेलनमा अमेरिका र नेपालका करिब १५० विशेषज्ञको उपस्थिति रहनेछ । सम्मेलनकै अवसर पारेर आँखा अस्पतालमा नवनिर्मित ओपीडी ब्लकको उद्घाटनसमेत गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ