arrow

नेपालबाट घरजग्गा किन्न अष्ट्रेलियामा एक वर्षमा पठाइयो १७ अर्ब ५८ करोड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
australia-flag1.jpg

काठमाडौँ । हुनत विदेशबाट आएको रेमिट्यान्सले नेपाल चलेको छ । तर के विदेशमा गएका सबैले नेपालमा पैसाको खोलो बगाएका छन् त ? त्यो पक्कै हैन । पछिल्लो समय अध्ययन ,रोजगारी तथा व्यवसायका लागि विदेशिएकाहरुले जहाँ जान्छन् त्यहीँ घरजम गर्ने क्रममा नेपालबाटै पैसा उतै पुगेको छ । 

घर व्यवस्थापनका लागि रोजीरोटी मजबुत बनाउन खाडी लगायतका मुलुकमा मजदुरी गर्न जानेहरुको पैसा नेपालमै आए पनि महत्वाकांक्षा बोकेका र सकभर विदेशमै बस्ने लक्ष्य राखेकाहरुले नेपालमा भएको पैसा पनि सोहोरेर उतै लैजाने गरेको पाइएको हो । 

पछिल्ला केही जोडी वर्षदेखि निकै आकर्षणको देश बनेको अष्ट्रेलियामा पर्मानेन्ट रेसिडेन्सी (पीआर) प्राप्त गरेपछि बस्ने एउटा घर हुनुपर्छ भन्ने मान्यता राखेकै कारण नेपालमा भएको पुर्ख्यौली सम्पत्ति बेचेरै भए पनि घर बनाइरहेको खुलेको हो । 

नेपालमा भविष्य नै छैन भनेर सोच्ने युवा र उनीहरुका अभिभावकका कारण पुर्ख्यौली सम्पत्ति बेचेरै भए पनि सुविधा सम्पन्न अष्ट्रेलियामा घर घडेरीको जुगाड गर्ने गरेको पाइएको हो । 

अष्ट्रेलियाको विदेशी लगानी नियामक निकायको ट्रेजरी डिपार्टमेन्टले हालै सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नेपालीको ठूलो लगानी रहेको जनाइएको छ । 

सन् २०२२ को जुलाई १ तारिखदेखि २०२३ को जुन ३० सम्मको अवधिमा २० करोड डलर नेपालबाट अष्ट्रेलिया भित्रिएको र उक्त रकम त्यहाँको घर–जग्गा व्यवसायमा लगानी गरिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

यो रकम भनेको आजको मितिमा १७ अर्ब ५८ करोड ६० लाख रुपैयाँ हो । 

यो अवधिमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नेपालीहरुले आफूलाई सातौँ ठूलो लगानीकर्ताको रुपमा उभ्याएका छन् । अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा चीन, हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुरपछि ठूलो लगानी नेपालको रहेको छ । 

अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने प्रमुख १० राष्ट्रमा नेपालले इन्डोनेसिया, बेलायत र मलेसियालाईसमेत पछाडि पारेको छ । 

पछिल्लो एक वर्षमा अष्ट्रेलियामा घर–जग्गा कारोबारका लागि नेपालीको २ सय ८१ वटा प्रस्ताव पास भएको थियो भने २०२३ को अप्रिल, मे र जुनमा मात्र नेपालीले १० करोड डलर लगानी गरेको पाइएको छ । 

उक्त अवधिमा मात्र नेपालीहरुको घरजग्गा किन्ने ८८ वटा प्रस्ताव स्वीकृत भएको प्रतिवेदनमा समेटिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ