arrow

एमालेको सङ्कल्प यात्रा बिहीबार र शुक्रबार कास्कीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
UML Kaski.jpg

पोखरा । नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ को टोली बिहीबार कास्की आइपुग्ने भएको छ ।

यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको उक्त सङ्कल्प यात्रा अन्तर्गत कास्कीमा दुई दिनसम्म विविध कार्यक्रम तय गरिएको मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

एमाले जिल्ला किमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार दिउँसो कास्की र पर्वतको सीमास्थल नयाँपुलमा स्वागत गरिने भएको छ ।

सोही दिन कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

शुक्रबार बिहान पोखराको अमरसिँहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबँेसीमा स्वागत कार्यक्रम हुने उनले बताए ।

सोही दिन उक्त टोली रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने जनाइएको छ ।

“हेम्जा र तालचोकमा भेटघाटसहित पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ”, अध्यक्ष गुरुङले भने, “स्थानीयवासीसँग विकास निर्माण र जनजीविकाका विषयमा अध्यक्षले अन्तरक्रिया गर्नुहुनेछ ।”

सङ्कल्प यात्रामा सहभागी टोलीलाई एमाले स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इञ्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले कास्कीमा स्वागत गर्ने एमालेले जनाएको छ ।

एमाले स्थायी कमिटी सदस्य थापाले गणतन्त्र, नेपालको संविधान र राजनीतिक उपलब्धिको रक्षार्थ समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सङ्कल्प यात्रा सुरु गरिएको बताए । सङ्कल्प यात्राका क्रममा नागरिकका अनुभूति, सुझाव र गुनासा सङ्कलन गरिएको उनले बताए ।

पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीले सरकार बदलिने वा मन्त्री परिषद् फेरिनेमा एमालेको चासो र रुची दुबै नभएको बताएका छन् । उनले वर्तमान सरकारबाट सर्वहारा तथा श्रमजीवि वर्गको हित नहुने दावीसमेत गरे ।

उनले दुर्गा प्रसाईंको समूहले संविधान विरोधी काम गरिरहँदा सरकारले टुलुटुलु हेरर रमिते बनेको आरोप लगाए ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका नेता अधिकारीले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने हो भने छिमेकी देशका सेनाले नेपाली आमाको छातीमा परेड खेल्ने दावी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ