arrow

दार्चुलाबाट सर्‍यो महाकाली नदी नियन्त्रण आयोजना

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० मंसिर १९ मंगलबार
mahakali-nadi-niyantran-aay.jpg

दार्चुला । दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजना बैतडीको पाटन सरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मातहतको यो आयोजना नाम परिवर्तन भएर बैतडी सरेको हो । 

सोमबार आयोजना प्रमुखसहित कर्मचारीहरु बैतडीको पाटन हिँडेका छन् भने दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयका खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकेर हाललाई खटाइएको आयोजना प्रमुख दिनेशप्रसाद आचार्यले बताए ।

गत बैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले दार्चुला सदरमुकाम खलंगामा रहेको महाकाली नदी नियन्त्रण आयोजनालाई बैतडीको पाटनमा सार्ने निर्णय गरेको थियो ।

सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको छ । त्यहाँको कार्यालयको क्षेत्राधिकार सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला हेर्ने गरी बनाइएको छ ।

२०७० सालमा महाकाली नदीमा बाढी आउँदा महाकाली नदी नियन्त्रणका लागि महाकाली नदी नियन्त्रण आयोजना कार्यालय दार्चुलामा स्थापना गरिएको हो । 

नदी नियन्त्रणका लागि १९ वटा प्याकेजमा काम भइरहेको र अझै २ वटा प्याकेजको काम बाँकी रहेको छ । यस्तै गत वर्ष लास्कु खोलामा आएको बाढीले करिब १ किलोमिटर तटबन्धमा क्षति पुर्याएको छ ।

काम बाँकी छँदै कार्यालय सार्ने निर्णयप्रति दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडूले पटक–पटक प्रधानमन्त्री र मन्त्रीलाई भेटेर लिखित तथा मौखिक असन्तुष्टि जनाएका थिए । 

साथै तत्काल दार्चुलाबाट कार्यालय हटाउने पक्षमा सरकार नरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ