arrow

कला संस्कृति र स्थानीय उत्पादनलाई प्रबर्धन गर्न लक्ष्मीमार्ग महोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
belbari-industry-2080.jpg

बेलबारी । स्थानीय कला संस्कृति तथा स्थानीय उत्पादनलाई प्रबर्धन गर्ने उद्धेश्यले मोरङको लक्ष्मीमार्गस्थित सांस्कृतिक तथा औद्योगिक महोत्सव शुरू भएको छ ।

डाँगीहाट युथ क्लबको आयोजनामा सोमबारदेखि शुरू भएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८० प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् । 

स्थानीय कला संस्कृतिको प्रबर्धनमा महोत्सवको महत्वपूर्ण भूमिका रहेको प्रदेश सांसद सुवेदीले बताए । महोत्सव उद्घाटनको विभिन्न जातजातिका दर्जनौँ सांस्कृतिक झाँकीहरुसमेत प्रदर्शनी गरिएको थियो । 

महोत्सवमा प्रदर्शनीतर्फ १५ ओटा स्टल रहेका छन् । दुई सातासम्म चल्ने महोत्सवमा दिउँसो जाने अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको र साँझमा हुने साङ्गीतिक कार्यक्रमको समयमा भने टिकटको व्यवस्था गरिएको आयोजक समितिका स्टल संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।

स्थानीय कलाकारको प्रतिभा प्रस्फुटनको वातावरण बनाउन, स्थानीय जातिको पहिरन र खानपानको विशेषता चिनाउन तथा स्थानीय व्यवसाय र उद्योगको प्रबर्धन गर्न महोत्सवले सहयोग पुग्ने ओयोजक समितिका सचिव शम्भु बस्नेतले बताए । 

कार्यक्रममा ४१ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक शिवकुमार राईले बताए । 

महोत्सवमा सङ्कलित रकमको हिसाबकिताब दुरुस्त राख्न लेखा उपसमिति गठन गरिएको राईको भनाइ थियो । कार्यक्रममा राजेश पायल राई, मेलिना राई, एलिना चौहान, रचना रिमाल, सबिन राईलगायतका कलाकारले साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ