arrow

मुगु एमाले अधिवेशन : 

नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै एमालेका १० भ्रातृ सङ्गठन अध्यक्षले निकाले विज्ञप्ति

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० मंसिर १७ आइतबार
uml-mugu-asantusti.jpg

मुगु । नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलबाट घोषित जिल्ला कमिटी प्रक्रियाप्रति असहमति जनाउँदै एमाले सम्बद्ध १० वटा भ्रातृ सङ्गठनका अध्यक्षले असन्तुष्टि जनाउँदै प्रेस विज्ञप्ति निकालेका छन् ।

यही मङ्सिर ९ गतेदेखि एमाले मुगुको जिल्ला अधिवेशन सुरु भए पनि सहमति हुन नसकेको भन्दै १४ गते राति अध्यक्ष मण्डलले जिल्ला कमिटी घोषणा गरेको थियो । घोषित जिल्ला कमिटी अलोकतान्त्रिक भएको र जिल्ला प्रतिनिधिलाई सहमतिका लागि छलफल गर्न नबोलाइएको आरोप प्रेस विज्ञप्ति निकालेर लगाइएको छ । 


अध्यक्ष मण्डलले घोषणा गरेको जिल्ला कमिटी अलोकतान्त्रिक,अवैधानिक र टीका प्रथाबाट चयन भएको र जिल्ला प्रतिनिधिलाई सहमतिको लागि छलफल गर्न,चाहेको नेतृत्व चयन गर्न मताधिकारबाट वञ्चित गरेको आरोप प्रेस विज्ञप्ति लगाइएको छ । 

विज्ञप्तिमा भनिएको छ, “बहुमत जिल्ला प्रतिनिधिको समर्थन रहेका डम्बर रावललाई अध्यक्ष घोषणा गर्न र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर अध्यक्ष मण्डलले घोषणा गरेको जिल्ला कमिटी खारेज गर्न नेकपा एमाले केन्द्रीय समितिसमक्ष माग गर्दछौँ ।”

नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल सांस्कृतिक सङ्घ, नेपाल खेलकुद महासङ्घ, मानवअधिकार एलाइन्स, उत्पीडित जातीय मोर्चा, राष्ट्रिय युवा सङ्घ नेपाल, अखिल नेपाल किसान सङ्घ, प्रेस चौतारी, नेपाल बुद्धिजीवी परिषद् र र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति निकालेका हुन् ।

नेकपा एमाले कर्णाली प्रदेश समितिका अध्यक्ष गुलावजङ्ग शाहको नेतृत्वमा अध्यक्ष मण्डल गठन भएको थियो । निर्वाचन कमिटीले तोकेको निर्वाचन तालिका घर्केको र सहमति पनि हुन नसकेको भन्दै अध्यक्ष मण्डलले पूर्ण बहादुर रोकाया अध्यक्ष,रत्नसिङ्ग विष्ट उपाध्यक्ष,सुरेन्द्र बहादुर मल्ल सचिव,मदन बानिया उपसचिव,होइजाली विक उपसचिव सहित ७१ सदस्यीय मुगु जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको भन्दै घोषणा गरेको थियो ।

अध्यक्षका आकाङ्क्षी डम्बर बहादुर रावलले आफ्नो पक्षमा २५० जना जिल्ला प्रतिनिधिले दस्तखत सहित समर्थन गरेको र दस्तखत सहितको समर्थन निर्वाचन कमिटी र अध्यक्ष मण्डललाई बुझाउन जाँदा नबुझेको आरोप लगाएका छन् । एमाले मुगुको नवौँ जिल्ला अधिवेशनमा ३७५ जना जिल्ला प्रतिनिधि रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ