arrow

सरकार सत्ता जोगाउने, मन्त्री हुने, बढी कमाउने र आफन्त पोस्ने काममा सक्रिय – केपी ओली 

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
kp-oli-2080-08-15.jpg

डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार सत्ता स्वार्थमा केन्द्रित रहेको आरोप लगाएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको दोस्रो दिन शुक्रबार डडेल्धुरा सदरमुकाममा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार कसरी सत्ता जोगाउने, कसरी मन्त्री हुने, कसरी बढी कमाउने, कसरी आफन्त पोस्ने  भनेर लागेको आरोप लगाएका हुन् । 

सरकारले भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाउँदै ओलीले अहिलेको सरकार खुट्टा नभएको गठबन्धनका छेस्काले उभिएकाले जुनसुकै बेला ढल्न सक्ने बताए । उनले यो सरकारको कुनै सिद्धान्त, कार्यक्रम र नीति नभएको आरोप लगाएका छन् । 

नेपाली जनताको बीचमा द्वन्द्व मच्चाउन खोज्नेहरु सल्बलाइरहेको भन्दै अध्यक्ष ओलीले १५ वर्ष पुरानो राजतन्त्रको चिहान खनेर राजतन्त्र फर्काउने सपनामा केही ब्यक्ति र तत्वहरु लागेको बताए ।

आज देश राजनितिक, आर्थिक, सामाजिक र सास्कृतिक हिसाबले ओरालो लागेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको सरकार कर्मचारी पाल्न पनि नसक्ने अवस्थामा पुगेको उल्लेख गरे । 

उनले सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाइरहेको दाबी गरे । सभालाई सम्बोधन गर्दै उनले भने‘ ‘एमालेले शुरु गरेको महाकाली करिडोर, सेती करिडोर अवरुद्ध रहेको छ । विकास निर्माणका कामहरु रद्ध भएका छन् । उद्योगहरु बन्द भएका छन् । कर्मचारीलाई तलब दिनका लागि सरकारले आन्तरिक ऋण उठाउनु परेको छ । अर्थतन्त्र र विकासको लहर ओरालो लागेको छ ।’

कृषिमा आधुनिकीकरणको शुरूआत एमालेले गरेको दाबी गर्दै ओलीले अहिलेको सरकार र सत्ता गठबन्धनका कारण सबै ठप्प रहेको आरोप लगाए । एमाले जनताको हितमा काम गर्ने भन्दै ओलीले महाकाली करिडोर, सेती करिडोर, महाकाली बहुउद्येशिय आयोजना, यहाँको शिक्षा, स्वास्थ्यलगायत अन्य विकास निर्माणका समस्याहरु समाधानमा एमालेले आवस्यक कदम चाल्ने बताए । 

देश निर्माणको अभियानअन्तर्गत संकल्प यात्रा सञ्चालन गरिएको बताउँदै उनले तीन हप्ताको यात्रामा ग्रामिण स्तरका जनताका समस्या बुझ्न, किसान मजदुर र आम जनतासँग संवाद गर्न, ऐतिहासिक धरोहरहरु, मठ मन्दिरहरुको अवस्था हेर्न, कहाँ कस्ता विकासका सम्भावना छन त्यो बुझ्नका लागि र स्थलगत रुपमा जनतासँग पुगेर उनीहरुका मागहरु कसरी सम्बोधन गर्न सकिन्छ भनेर यो अभियान सञ्चालन अघि बढाएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ