arrow

विश्व बैंकको दुई करोड डलर अनुदान सहायता स्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
rekha-2080-08-14.jpg

काठमाडौँ । सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले यही मङ्सिर ७ र १३ गते गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा क्षेत्रको विकासका लागि स्विटजरल्याण्ड सरकारले प्रदान गर्ने रु ६५ करोड अनुदान सहायता स्वीकार गर्ने बताइन् । 

सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई खटाउने भएको छ । 

अस्थायी आवास निर्माणका लागि जनशक्ति अभाव भएमा प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिबाट निर्णय गराई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई काममा खटाउने अख्तियारी दिएको मन्त्री शर्माले जानकारी दिइन् । 

जिल्ला सुरक्षा समितिको निर्णयबाट माग भएबमोजिम नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट तत्काल आवश्यक जनशक्ति उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको मन्त्री शर्माले बताइन् । 
    
मन्त्रिपरिषद्ले राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेय तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र सामाजिक सञ्जालको प्रयोगलाई नियमन (सञ्जाल तथा व्यवस्थापन) गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा साविक भ्रमरपुरा-५ महोत्तरी निवासी सुवोधकुमार शर्मालाई मनोनयन गर्ने र स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा साविक चोक चिसापानी गाविस-५ तनहुँ निवासी डा गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय भएको छ । 

सांस्कृतिक संस्थानको सञ्चालक समितिको अध्यक्षमा हतुवागढी गापा-२, भोजपुरका चन्द्रकुमार राईलाई तोक्ने निर्णय भएको छ भने विद्युतीय सुशासन आयोगको सदस्यमा साविक कञ्चनपुर जिल्ला निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ