arrow

विरोधसभा स्थल

शान्त छ युवा संघले गर्ने विरोध सभा स्थल, अन्य क्षेत्रको सुरक्षा कडा

‘युवा संघको कार्यक्रमको तडक भडक होला भनेको केही पनि रैन्छ, अन्तै सारेछन् क्याहो’

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
tinkune-ground-2080-08-07.jpg

काठमाडौँ । राजधानीमा एमाले निकट युवा संघ र दुर्गा प्रसाईले नेतृत्व गरेको धार्मिक महाअभियानको दुईओटा छुट्टाछुट्टै समूहले विरोध सभा र प्रदर्शन गर्दैछन् । 

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले क्रमशः तीनकुने र बल्खुमा छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् । 

युवा संघले प्रदर्शन नभएको र विरोध सभा मात्रै भएकाले सिधै तीनकुने आउन आग्रह गरेको छ भने प्रसाईको समूहले विभिन्न आठ ओटा रुट तय गरेर राजधानी नै अस्तव्यस्त बनाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । 

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब साढे ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने सरकारी योजना रहेको छ । 

त्यसका लागि बिहानैदेखि सुरक्षाकर्मीहरु सिफ्ट अनुसार खटिएका छन् । प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । 

काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुुवेर कडायतले बताएका छन् । 

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना संकलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । 

प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर बनाइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेशसिंह हमाल र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ रहनेछन् । 

प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले गर्दैछन् । बल्खु र तीनकुनेमा हुने प्रदर्शनमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जनाएका छन् । 

प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ । तीनकुनेमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न संभव नभएको प्रहरीले जनाएको छ । 

काठमाडौँ प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुई वटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ । 

युवा संघका प्रवक्ता निरोज पौडेलले विरोध सभा मात्र भएकाले सभामा सहभागी हुन ११ बजेलाई खबर गरिएको बताए । ‘प्रदर्शन होइन विरोध सभा हो एमाले कार्यकर्ता तथा शुुभचिन्तकहरु सिधै तीनकुने आउनुहुनेछ’, उनले भने ।

युवा संघको विरोध सभामा बिहान ९ः०९ बजेसम्म पनि कोही कार्यकर्ता नदेख्दा भने भाषण सुन्न आएका एक जनाले अचम्म माने । उनले भने, ‘युवा संघको कार्यक्रमको तडक भडक होला भनेको केही पनि रैन्छ । अन्तै सारेछन् क्याहो ।’

त्यहाँ केही सुरक्षाकर्मी र चार पाँच जना भाषण सुन्न आएका बाहेक कोही पनि थिएनन् । त्यतिमात्र होइन भाषणका लागि कुनै स्टेजसमेत पनि बनाइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ