arrow

पार्टीका नाममा युवा संघले महिलामाथि गर्‍यो अमानवीय व्यवहार, दुर्गा प्रसाई समूहसँग मुठभेडको खतरा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
yuba-sangh-mahila-2080-08-06.jpg

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ र नेकपा एमालेको भ्रातृ संगठन युवा संघले गर्ने भनिएको कार्यक्रम मुठभेडतिर जाने देखिएको छ । 

प्रसाईले नेतृत्व गरेको कार्यक्रममा भाग लिन इटहरीदेखि काठमाडौँ आएका नागरिकलाई नेकपा एमालेको भ्रातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटेको आरोप लागेपछि मुठभेडतिर जाने संकेत देखिएको हो । 

मंगलबार राति चाबहिलस्थित एक पार्टी प्यालेसमा सुतिरहेको अवस्थामा अमानवीय तवरले आफूलाई युवा संघका कार्यकर्ता बताउने एक समूहले उनीहरुलाई लखेटेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ । 

भिडियोमा पार्टी प्यालेसमा अधिकांश महिलाहरू देखिएका छन् । उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर – तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको देखिन्छ । 

महिलाहरूले भने, ‘पर्खिनुस् न, लुगा त लाउन दिनुस्’ भन्दै गरेको देखिन्छ । तर युवा संघले भने यसलाई ठाडै अस्वीकार गरेको छ । संघका अध्यक्ष क्षितिज थेवले यसलाई अस्वीकार गरेका छन् ।

 ‘हामी अमानवीय काममा लाग्दैनौँ, सामाजिक सद्भावको सुशासनको आन्दोलनमा लागेको हो, यस्तो गतिविधिमा निर्देशन दिएको पनि छैन दिँदा पनि दिँदैनौँ, हिजो बेलुकी हामीले सांकेतिक विरोधस्वरुप तीनकुनेमा विरोध प्रर्दशन गरेका थियौँ, त्यसपछि साथीहरु आफ्नो स्थानमा जानुभएको छ । अहिले प्रहरीले भनेपछि यो घटना थाहा पाएँ, मैले र्यालीमा भेट हुने वातावरण नहोस् भनेको थिएँ’, उनले भने । उनले यस्तो अमानवीय हर्कतमा युवा संघका कार्यकर्ता भेटिए प्रहरीलाई बुझाउने पनि बताए ।  

तर भिडियोमा महिलाहरूले  ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, उज्यालो भएपछि हामी जान्छौँ’ भनेर बिन्ती गर्दा पनि ‘हुँदैन’ भनेर तुरुन्त फर्किन चेतावनी दिएको प्रस्ट सुनिन्छ । 

भिडियोमा आफूलाई युवा संघको बताउने युवकले, ‘युट्युबमा दुर्गा प्रसाईं भनेर कुर्लिएजस्तो होइन । देखाइदिन्छौँ भनेको होइन, अब हामी देखाइदिन्छौँ, सबैलाई काठमाडौँबाट लखेटेर’ भनेर बोलेको आवाज सुनिन्छ । भिडियोको अन्तिममा ‘दुर्गा प्रसाई पागललाई फोन गरेर युवा संघले लखेट्यो भनेर भन्नुस्’ भनिएको छ । 

प्रसाईको कार्यक्रममा भाग लिन आएका महिलाहरूलाई मध्यरातमा लोकन्थलीस्थित ईन्द्रसन पार्टी प्यालेसभित्र पसेर धपाउन जाने युवा संघका सचिवालय सदस्य खोटाङका विनोद राई भएकोसमेत पुष्टि भएको छ ।

यो घटनाका कारण बिहीबार राजधानीम हुने भनिएको प्रसाई समूह र युवा संघको कार्यक्रममा मुठभेड हुने खतरा देखिएको छ । 

सोही सम्भावनालाई लिएर काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा निषेधाज्ञा बढाइएको छ । सुरक्षा व्यवस्थासमेत कडा पारिएको जनाइएको छ । 

यता, निषेधाज्ञाविरुद्ध सर्वोच्च अदालतमा सुनवाई हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ