arrow

उग्रतारा मेला मंसिर १२ गते 

logo
तर्कराज भट्ट,
प्रकाशित २०८० मंसिर १ शुक्रबार
ugratara-festival-उग्रतारा मेला.jpg

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ यही मंसिर १२ गते लाग्ने भएको छ। 

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। मंसिर ११ गते रतेडी र १२ गते दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।

छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारओटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला शुरु हुन्छ। 

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन् ।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाटसमेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।

परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेकोसमेत उनको भनाइ छ। भगवती माताको पूजा बिहान ४ बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चार ओटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा शुरु हुने अध्यक्ष साँकीले बताए ।

देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ। 

वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ