arrow

मंसिरमा सूर्य बलवान् हुनाले राज्य व्यवस्थामा तुलनात्मक सुधार

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० मंसिर १ शुक्रबार
monthly-horoscope.jpg

मासिक फल : २०८० सालको मंसिर महिनाको ग्रहस्थिति सामान्य रहनेछ । यस महिनामा शुक्रबारको संक्रान्ति र मंगलबारको औँशीको योग रहेको छ । जसले सामान्य जनजीवनमा केही सकारात्मक प्रभाव हुनेछ ।

बर्खेबालीको राम्रो उत्पादनले कृषकवर्ग खुशी हुनेछन् । यो महिनाको मासिक कुण्डलीमा दशमेश सूर्य बलवान् हुनाले राज्य व्यवस्थामा तुलनात्मक सुधारको आभास हुन सक्नेछ ।

स्वाथ्यको क्षेत्रमा सुधारात्मक स्थितिको सिर्जना हुने ग्रहगोचर रहेको छ । आर्थिक क्षेत्रमा भने केही उतार–चढाव हुनेछ । गै्रह गोचरअनुसार कपास, सुतीकपडा, गहुँ, चामलको मूल्य केही सस्तिने र सुनचाँदीको मूल्य बढ्ने देखिन्छ । यस्तै, चिनी तथा दाल पनि केही महँगो हुनेछ । शीतकालको आभास हुनेछ । महिनाको दोस्रो सातामा मुलुकका केही स्थानमा झरी वर्षाको सम्भावना देखिन्छ । यस महिनामा गूँड, नुन, कपास, सुतीवस्त्र, दूध, शख्खर आदिको दान गर्नु उचित हुनेछ ।

मासिक राशिफल :

मेष : मंसिर महिना तपाईका लागि आमरूपमा राम्रो समय हुने छैन, किनभने यो महिना सूर्यले तपाईको राशिबाट अष्टम भावमा र राशिस्वामी मङ्गल ग्रहले बाह्रौं भावमा यात्रा गर्ने महिना हो । वैदिक ज्योतिषमा आठौँ भावलाई सङ्कट र दुर्घटनाकारक मान्ने गरिन्छ, त्यसैले यस महिनामा सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । यो महिनाको हरेक काममा विघ्नबाधा आउने र ढिलासुस्ती हुने समय हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुने समय हो । अनायासै खर्चको मात्रामा ह्वात्तै बृद्धि हुने समय हो । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुने समय पनि हो । शत्रुले तपाईका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन् । पछाडि बसेर आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुने समय हो । सरकार, प्रशासन वा अड्डा अदालतका काममा पनि विघ्नबाधा हुन सक्छ । कार्यक्षेत्रमा उच्च पदस्त कर्मचारीहरूसँग सम्बन्ध बिग्रने, नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । यो महिना कुनै पनि शुभकर्म र दीर्घप्रयोजनको काम नगर्ने समय हो । धनस्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हराउने वा चोरी हुने समय रहेको छ । त्यस्तै बन्द व्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा अङ्कुश लगाउनु र विवादबाट जोगिने प्रयास गर्नु वाञ्छनीय हुन्छ । आफन्तका बीचमा नै विश्वासको कमी हुनसक्छ । यो तपाईको मानसिक सन्तुलन गुम्ने र बेचैन हुने समय हो, त्यसैले आफन्तका बीचमा राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुने समय छ । स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनुपर्छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको जाति हुन्छ । यो महिना शनिश्चर ग्रहले कर्मक्षेत्रमा स्वगृही भई यात्रा गरेको समय हुनाले श्रमिक तथा कर्मचारीका लागि सिनियर कर्मचारी वा कुनै विशिष्ट मान्छेलाई खुसी तुल्याउने अवसर मिल्नेछ, सानो प्रयासले उद्देश्यको परिपूर्ति हुनेछ, नयाँ काम पाउने वा बढुवा, प्रशंसा मिल्ने सम्भावना रहेको देखिन्छ । गृहिणीहरुका लागि सप्तमेश शुक्रले सातौं र आठौं भावको यात्रा गर्ने समय भएकाले रमाइलो र आनन्दानुभूति हुने महिना हो, हरेक क्रियाकलापमा सन्तुष्टि पाइने छ, झगडा, विवाद वा मुद्दामामिलामा विजय प्राप्त हुने समय हो । पतिपत्नीका बीचमा समझदारी बढ्ने छ । यो महिना कुनै भनुँ भनुँ लागेको कुरा बताउने र गरुँ गरुँ लागेको काम गर्ने समय हो । विद्यार्थीहरुका लागि पञ्चमेश सूर्यले अष्टम भावको यात्रा गरेको हुँदा कला, साहित्य र अभिनय क्षेत्रका विद्यार्थीले बाह्य विषयवस्तुमा भन्दा निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय आएको छ । व्यवसायीहरुका निमित्त यो महिना मनले इच्छाए झैं परिणाम प्राप्त हुने समय छैन । मित्र र सहयोगीले बाचा पूरा गर्ने छैनन् र यहि मौकामा बन्नै लागेको काम बिग्रने डर छ, त्यसैले सचेत हुनुपर्छ । सामान्यतया यस महिनाको १, २, ९, १०, ११, १९, २०, २१, २८ र २९ गतेको चन्द्रमा पनि तपाईका लागि प्रतिकूल रहने देखिन्छ । यो महिना कुनै पनि अशुभता नहोस् र शुभ फलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईले राशिस्वामी मङ्गलको प्रियताका निमित्त हरेक मङ्गलवारका दिन गणेश वा हनुमानको मन्दिरमा गई मूर्तिको पाउमा रहेको सिन्दूरको टीका लगाउने बानीको विकास गर्नुपर्छ अथवा प्रत्येक मङ्गलबारका दिन भगवान् गणेश वा भगवान् हनुमानको आराधना गरी देवालयमा आफैंले वा घरका कुनै सदस्यले चोखोनीतो गरी निर्माण गरेको २१ वटा लड्डु चढाउँदा लाभ हुन्छ ।

वृष : तपाईको आफ्नै राशिमा राहु ग्रहको उपस्थिति रहने छ, राहुको अर्थ हो, अस्थिरता, भ्रम, चिन्ता र शंका । त्यसैले यो महिना यी चिजबाट मुक्त हुने प्रयास गर्नु पर्नेछ । सातौं घर साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो, यो महिनाको पूरै अवधि सूर्यले र उत्तरार्द्धमा राशिस्वामी शुक्रले यसै भावमा भ्रमण गर्ने समय हो । यसको प्रभावले बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । बन्द व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने समय हो । कार्यक्षेत्रमा पनि तपाईको वर्चस्व कायम हुनेछ । तर यस अवधिमा पेसा परिवर्तन गर्ने वा नयाँ ठाउँमा जम्प गर्ने विचार गर्नु भएको छ भने अर्को ठाउँमा पक्का भए मात्र पुरानो ठाउँ छाड्नु होला, नत्र धोका हुनसक्छ । समग्रतामा बन्दव्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना हो । यद्यपि यो महिना घरमा पिताजी वा जीवनसाथीसँग साथै कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय पनि हो । अतः तपाईले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । वैवाहिक जीवनमा देखिएका मतभेद र असन्तुष्टिहरू हटाउने र आपसी सम्बन्धलाई मीठो बनाउने प्रयास गर्नु राम्रो हुन्छ । त्यस्तै कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति बन्नसक्छ, साझेदार, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । सूर्यको पूर्णदृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्यभागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ, अतः व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईका कमजोरी बन्नसक्छन् । उता महिनाको पूर्वार्द्धदेखि अधिकांश समय राशिस्वामी शुक्रको छैटौं भावमा यात्रा हुनेछ, त्यसैले यस अवधिमा तर्कक्षमता र निर्णयात्मक शक्तिमा बृद्धि हुने समय छ । यदाकदा अहंकार र घमण्ड हाबी हुनाले सामान्य विषयमा झैझगडा र विवाद खडा हुने डर हुन्छ । हरेक क्रियाकलापमा शत्रु वा प्रतिद्वन्द्वीले आँखा लगाइरहेका छन् भन्ने बुझेर काम गर्ने समय हो । यो महिना श्रमिक तथा कर्मचारीका लागि धनस्थानको मालिक मानिने बुध ग्रहको छैटौं भावको यात्राको समय भएकाले धनमा विकार भएको समय हो, सापटी माग्ने व्यक्तिलाई नाई भन्नुहोला, यदि बाध्यता नै छ भने पनि जसैतसै यो महिना टारेको जाति हुन्छ । गृहिणीहरुका लागि सप्तमेश मङ्गल राज्यस्थानमा उपस्थित भएकाले व्यक्तिगत उन्नति÷प्रगतिका लागि उत्तम समय छ, साथै सन्तान सुख र व्यक्तिगत प्रयोजनका लागि केही खर्च बढाउने समय छ । त्यस्तै कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर काम गर्नुपर्ने परिस्थितिसमेत खडा हुनसक्छ । पञ्चमेश बुधको छैंटौं भावको यात्राको समय भएकाले विद्यार्थीहरुले यो महिना झैझगडा, कलह वा विवादबाट टाढा बसेको जाति हुन्छ, साथै यो महिना अभिभावक र शिक्षकहरूसँग कुनै किसिमको असन्तुष्टि वा बहस गर्नुको साटो वहाँहरूको मार्गनिर्देश पछ्याएको राम्रो हुन्छ । व्यवसायीहरुका निमित्त कारोबार विस्तारका सिलसिलामा बहुप्रतीक्षित भ्रमणको सम्भावना देखिन्छ । पारिवारिक वातावरण पनि सुमधुर रहने छ । व्यवसायबाट सधैं झैं शुभफल नै मिल्नेछ । चन्द्रगोचरका आधारमा विश्लेषण गर्दा यस महिनाको २, ३, ४, १२, १३, १४, २१, २२, २३ र ३० गते तपाईका लागि अशुभ रहने सङ्केत देखिन्छ । यो महिना अझ बढी शुभफल मिलोस् भन्ने उद्देश्यले तपाईले शिरमा रहेको राहुको शान्तिका लागि दिनैपिच्छे नाग गायत्री मन्त्रको नौ आवृत्ति जाप गर्नुपर्दछ अथवा अस्पतालमा भर्ना भएका रोगीको उपचार र स्याहार सुसारमा संलग्न हुनुपर्दछ ।

मिथुन : यो महिना सूर्यले तपाईको राशिबाट छैटौं भावमा गोचर गर्ने समय हो । यो कार्यक्षेत्र वा बन्द व्यापारका लागि कडा परिश्रम गर्ने समय हो । त्यस्तै वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सकारात्मक समय हुनेछ । यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । यस अवधिमा तपाईले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउने, ऋण काढ्ने आदि सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने प्रयास गर्ने समय आएको छ, समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । यो उधारो वा कर्जा चुक्ता गर्ने समय पनि हो । हुन त शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । तर पनि यो शत्रुपक्ष अर्थात् प्रतियोगी र प्रतिस्पर्धीसित सतर्कता अपनाउने समय हो । त्यसैले कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ । त्यस्तै मास प्रवेश लग्न बाह्रौं भावमा परेको अनि सूर्यले समेत बाह्रौं भावमा पूर्णदृष्टि राख्ने हुँदा यो खर्च बढ्ने समय पनि हो । यस महिना तपाईको राशिस्वामी बुधले पाँचौं र छैटौं भावको यात्रा गर्नेछ, परिणामतः मनमा प्रेमिल भावना र विनोदी स्वभाव विकसित हुने समय चल्दैछ । व्यक्तित्व आकर्षक हुनाका साथै स्वभावमा मिलनसार बन्नुहुनेछ । विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ । यसै महिनादेखि शनिश्चरको अष्टम भावको यात्रा प्रारम्भ भएकाले अब साढे दुई वर्षका लागि शनिश्चरको अढैया दशा रहने छ । यो महिना दशमेश बृहस्पतिले अष्टम भावको यात्रा गरेको अवधि भएकाले श्रमिक तथा कर्मचारीका लागि धैर्य र संयम भएर काम गर्ने समय हो । महत्त्वाकाङ्क्षा राख्नाले निराशा हुनेमात्र होइन अवगाल बेहोर्नु पर्ने हुनसक्छ । त्यस्तै सप्तमेशसमेत बृहस्पति नै रहेकाले गृहिणीहरुका लागि पनि उत्साहप्रद समय देखिंदैन, काम गर्ने जाँगरमा कमी आउन सक्छ, मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय छ । पञ्चमेश शुक्रले पाँचौं भावकै यात्रा गरेको तथा राशिस्वामी बुधसमेत पञ्चम भावमा रहने भएकाले विद्यार्थीहरुका लागि बडो उत्साहप्रद समय देखिंदैछ । यस समयावधिमा तपाईले गरेको प्रयास र मिहिनेतले राम्रो रिजल्टको बाटो देखाउने छ । व्यवसायीहरुका निमित्त यो महिना प्रतिस्पर्धीहरू बलियो हुने समय हो । खुट्टा तान्नेहरूको सक्रियता बढ्न सक्छ । अर्काका कुरामा झट्ट सहमत हुनुहुँदैन । चन्द्रगोचरका आधारमा यस महिनाको ५, ६, १४, १५, १६, २३, २४ र २५ गतेको समय कमजोर रहने छ । यस महिनादेखि प्रारम्भ गरी लगातार साढे दुई वर्षसम्म शनिदेवको प्रसन्नताका निमित्त हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु समुचित हुनेछ ।

कर्कट : सन्तान, बुद्धि, विवेक, हृदय संवेद्यता बताउने पाँचौंभावमा सूर्यले गोचर गर्ने महिना प्रारम्भ भएको छ । अब तपाईको कार्यक्षेत्र र बन्दव्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले खूब कमाइ गर्ने समय आएको छ । जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय हो । यस अवधिमा शिक्षार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ । यो महिना तपाईले नियमित आहारविहारको अनुशासन पालना गरेको राम्रो हो, अन्यथा पेट र पाचन प्रणालीका रोगव्याधिले कष्ट दिनेछ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम र प्रणयप्रसंगका लागि यो त्यत्ति राम्रो समय देखिंदैन । बरु ध्यान, कसरत, योग र अध्यात्मका क्षेत्रमा शान्तिको अनुभूति हुने समय हो । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । सङ्क्रान्तिका दिन राशिस्वामी चन्द्रमाले समेत पाँचौं भावकै यात्रा गरेको देखिन्छ । त्यसैले यो महिना प्रेमजीवन र दाम्पत्यजीवनका लागि अनुकूल समय रहने छ । व्यापार वा नोकरी आदिमा उत्तरोत्तर प्रगति हुने राम्रो सम्भावना छ । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । दर्शन एवं साहित्यमा रूचि बढ्ने छ । विद्वानसित सम्पर्क बढ्ने छ । कर्मेश मङ्गलले भाग्य भावको यात्रा गरेको यो महिना श्रमिक तथा कर्मचारीका लागि पितातुल्य व्यक्तिको सहानुभूति प्राप्त गर्ने समय हो । यो महिना जोसुकै पाको व्यक्तिलाई सकेको सहयोग गर्नुहोला, भाग्य बदलिने समय छ । सप्तमेश शनिदेवको सप्तम भावकै यात्राको समय भएकाले गृहिणीहरुका लागि पतिपत्नीका बीचमा मनमुटाव समाप्त भई सामीप्यता बढ्ने समय सुरु भएको छ । गीतसङ्गीत एवं अन्य ललितकलाका विषयहरूमा र सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्ने छ । व्यवसाय र व्यापारमा राम्रो प्रगति हुनेछ । गरेको प्रयासका कारण आम्दानीका मार्गमा सहजता आउने छ । पारिवारिक जीवन सुखद हुनेछ । त्यस्तै पञ्चमेश मङ्गल ग्रहको भाग्यभावको यात्राको समय भएकाले विद्यार्थीहरुका लागि समेत यो महिना प्रशस्त सम्भावना र उपलब्धीहरू भएको राम्रो समय छ । व्यवसायीहरुका निमित्त सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । शिक्षाक्षेत्र, खाद्य पदार्थ र जग्गाजमीनका कारोबारीले केही गर्न सक्ने समयावधि हो । सामान्यतया यस महिनाको ७, ८, ९, १७, १८, २५, २६ र २७ गते तपाईको राशिस्वामी चन्द्रमाले अशुभ गृहको यात्रा गर्ने भएकाले सचेतता अपनाउनु राम्रो हुन्छ । यस महिनामा अझ उत्कृष्ट फलको आकांक्षाले तपाईले राशिस्वामी चन्द्रमाको प्रियताका निमित्त दिनैपिच्छे आमा वा आमातुल्य कुनै स्त्रीको पाउमा शिर राखी आशीर्वाद प्राप्त गर्ने र प्रातःकालमा भगवती लक्ष्मीको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ ।

सिंह : तपाईको राशिबाट चौथो घर अर्थात् मातृसुख, वाहनसुख प्रदान गर्ने भावमा सूर्यको गोचर प्रारम्भ भएको छ । आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । हुन त यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने समय हो । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन् । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, परिणामतः कमाएको धन सञ्चित नहुने महिना पनि हो । बरु ऋण काढेर व्यवहार धान्नुपर्ने परिस्थिति खडा हुनेछ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ । नयाँ घरघडेरीको जोहो गर्ने मानसिकता भएका व्यक्तिका लागि यो महिना उक्त कामका लागि उचित समय हुनसक्छ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा बसेको क्रूर ग्रहको मानसिक उलझन बल्झाउने परिणाम प्राप्त हुने गर्दछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन्छ, खासगरी पिता वा कार्यक्षेत्रका सिनियर्ससित मनमुटाव र तिक्तता बढाउने समय हो । हृदय र पेटसम्बन्धी स्वास्थ्य समस्या आइलाग्ने समय पनि हो । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि सामान्य रहने छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो, त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । यस महिना राशि परिवर्तन गर्ने दुई ग्रहहरू बृहस्पति र शनिदेवले छैटौं भावमा प्रवेश गर्ने हुँदा झैझगडा, मुद्दामामिला आदि जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । स्वास्थ्यको प्रतिकूलताका कारण कठिनाइ हुनसक्छ । यसरी यिनै फलहरूको मिश्रित परिणाम प्राप्त गर्न सकिने अहिलेको समय हो । यो महिना कर्मेश शुक्र ग्रहले तृतीय र चतुर्थ भावको यात्रा गर्ने भएकाले श्रमिक तथा कर्मचारीका लागि धार्मिक÷सामाजिक क्रियाकलापमा रुचि बढ्ने समय छ, यो महिना प्रतिष्ठा बृद्धिका लागि गरेको प्रयासमा सफलता मिल्नेछ । उता सप्तमेश शनिश्चरको छैंटौं भावको यात्राको समय भएकाले गृहिणीहरुका लागि सन्तोषजनक र रमाइलो समय हुनेछ । पारिवारिक सुखमा वृद्धि हुनेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ अनि दाम्पत्य जीवन सुमधुर रहनेछ । पञ्चमेश बृहस्पतिले समेत छैटौं भावकै यात्रा गर्ने महिना भएकाले विद्यार्थीहरुका लागि विदेशी विश्वविद्यालयका विद्यार्थीले उपलब्धी पाउने समय हो, एकोहोरिएर रट्नु भन्दा बुद्धि कौशल अर्थात ट्रिक प्रयोग गरेर अघि बढ्नु होला । व्यवसायीहरुका निमित्त अचानक अयाचित लाभ मिल्ने समय छ । होटल, मोटल, रेस्टोरेंट र तरल पदार्थसँग सम्बद्ध व्यवसायीले राम्रो नतिजा प्राप्त गर्नेछन् । चन्द्रगोचरका आधारमा यस महिनाको १, २, ९, १०, ११, १९, २०, २१, २८ र २९ गते तपाईका लागि कमजोर दिन साबित हुने सङ्केत छ । यस महिना अझ शुभ फल प्राप्त होस् भन्ने उद्देश्यले अष्टम भावमा बसेको भाग्येश मङ्गलको प्रियताका लागि बाँदर, रातो गाई, रातो कुकुर आदिलाई खान दिनु अथवा रातो कपडामा मौलीसुप बाँधेर आफ्नो शयनकक्षमा राख्नसकेमा शुभतामा बृद्धि हुनेछ ।

कन्या : तेस्रो घर अर्थात् पराक्रम स्थानमा भगवान् सूर्यनारायणको आगमन भएको छ । यस गोचरको प्रभावले तपाईमा आत्मबल, सामर्थ्य र हिम्मतको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद् रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन÷दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । मित्रशक्तिबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न्न पाइने छ । जीवनसाथीसँगको सम्बन्ध सामान्य नै रहने छ । प्रेमभावना निरस हुने वेला हो, त्यसैले पार्टनरको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठीक हुन्छ । तर भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । परकाले सहयोग गर्ने तर आफन्तले पछाडि बसेर आलोचना गर्ने परिस्थिति हुनसक्छ । त्यसैले नजिकका आफन्तहरू, नोकरचाकर र अनुयायी वा शिष्यहरूदेखि सतर्क रहने समय हो । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । उता राशिस्वामी बुधको दोस्रो र तेस्रो भावमा यात्रा हुने महिना हो, मंसिर महिना । त्यसैले यो समय मिठो खाने, राम्रो लगाउने र महँगा महँगा वस्तुको खरीद गर्ने इच्छाको जागृति हुने समय हो । कहिलेकाहीं सांसारिक सुखसुविधा भोग गर्न र मौजमस्तीमा धनखर्च गर्ने परिस्थिति पनि बन्नसक्छ । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । परिवारका सदस्यहरू सकारात्मक हुनेछन् । लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कर्मक्षेत्रको मालिक समेत बुध ग्रह भएकाले यो महिना श्रमिक तथा कर्मचारीका लागि आमदानीको स्रोत बढ्ने छ । कार्यक्षेत्रमा काममा रूचि जाग्ने समय हो । यो महिनाको आम्दानीले कुनै महत्त्वपूर्ण पारिवारिक खरखाँचो टार्न मद्दत पुग्नेछ । सप्तमेश बृहस्पतिको पञ्चम भावको यात्राको समय भएकाले गृहिणीहरुका लागि परिवारमा नयाँ कुरा भित्र्याउने समय हो । आयस्रोतमा बृद्धि हुनेछ । मन कल्पना र भावनामा अलमलिन सक्छ, तर सातौं भावमा नै मङ्गलको भ्रमण रहेकाले विपरीत बुद्धिको सिर्जना हुने खतरा छ, जुन मुनासिब होइन । पञ्चमेश शनिश्चर बृहस्पतिका साथमा पञ्चम भावमा नै रहेकाले शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिहरू र विद्यार्थीहरुका लागि यो गज्जबको समय हुनेछ । कुनै लक्ष्यमा नचिताएको सफलता पाउने समय हो, त्यस्तै व्यवसायीहरुका निमित्त सार्वजनिक क्षेत्र, होटल मोटल, रेस्टुरेन्ट र निर्माण सामाग्रीका कारोबारीले सन्तोष लिने समय छ । सामान्यतया यस महिनाको २, ३, ४, १२, १३, १४, २१, २२, २३ र ३० गतेका दिन असहजता सिर्जना हुने परिस्थिति बन्ने भएकाले सतर्कता अपनाउनु राम्रो हुन्छ । अझ शुभ फलमा बृद्धि होस् र अशुभ फल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईले सप्तम भावमा रहेको अष्टमेश मङ्गलको प्रियताका निमित्त मङ्गलवारको व्रत लिनुपर्छ । कुनै देवालय वा तीर्थस्थलमा पुगेको वेला बाँदरलाई चना र गुड खुवाउनु पर्दछ अथवा दैनिक गणेश कवच वा हनुमान् चालिसाको पाठ गर्ने एवं भगवान् गणेश वा हनुमानजीको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ ।

तुला : शिरमा बसेका बुध र शुक्रले तपाईलाई उत्साह र उमंग प्रदान गर्नेछन् । त्यस्तै यो महिना तपाईको राशिबाट सूर्यदेवले दोस्रो भावमा रहेको धनस्थानमा प्रवेश गर्दैछन् । अब कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक सर्कलमा नाम÷सुनाम चल्ने र साख बढ्ने सङ्केत छ । यो धनवृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको हिमचिम र भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले शिक्षार्थीहरूले राम्रो नतिजा प्राप्त गर्नेछन् । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । यो प्रेम जीवन र दाम्पत्य सम्बन्धमा नोकझोक चलिरहन्छ, तर प्रेमसम्बन्ध झन् प्रगाढ बन्दै जानेछ । बन्दव्यापार र पेसागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । समग्रमा सूर्यको यस गोचरको प्रभाव सन्तोषप्रद नै रहे पनि दोस्रो भावमा बसेका क्रूर ग्रहले केही अशुभ परिणाम पनि प्रदान गर्दछन्, जस्तै, दोस्रो भाव भनेको मुख पनि हो । बोलीमा कडापन देखिने छ, त्यसैले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेको जाति हुन्छ । यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, अतः प्रकृतिमा अलि कडापन र कठोरता देखापर्न सक्छ । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना हुन्छ, सचेत हुनुपर्छ । यो महिनाको प्रारम्भमा तपाईको आफ्नै राशिमा राशिस्वामी शुक्र र बुधको भ्रमण रहेको देखिन्छ । यसको प्रभावले समग्रतामा यो महिना सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्ने छ, साथीभाइ र मित्रवर्गले पनि साथ दिनेछन् । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । थोरै मिहिनेत गर्दा पनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । तर यसै महिनादेखि शनिदेवले चतुर्थ भावको यात्रा प्रारम्भ गरकाले शनिको अढैया दशा प्रारम्भ भएको छ । यसको प्रभावले पारिवारिक सुखको अभाव हुनेछ । गरेका प्रयासहरूमा असफल हुनाले मानसिक खिन्नता बढ्नेछ । स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । दीर्घ रोगको प्रकोपमा रहेका व्यक्तिले पूर्ण रूपमा परहेजमा बस्नु राम्रो हुनेछ । कर्मेश चन्द्रमाले धनस्थानको यात्रा गरेको समयमा महिनाको सुरुवात भएकाले यो महिना श्रमिक तथा कर्मचारीका लागि आमदानीको स्रोत बढ्ने समय छ । कार्यक्षेत्रमा काममा रूचि जाग्ने समय हो । यो महिनाको आम्दानीले पारिवारिक खरखाँचो र व्यक्तिगत आवश्यकता टार्न मद्दत पुग्नेछ । सप्तमेश मङ्गललको छैटौं भावको यात्राको समय छ, त्यसैले गृहिणीहरुका लागि काममा जाँगर नचल्ने र स्वास्थ्यमा बाधा पुग्ने समय छ । मनमा अनावश्यक चिन्ता र भय व्याप्त हुनेछ । पञ्चमेश शनिदेवको चतुर्थ भावको यात्रा प्रारम्भ भएको महिना भएकाले विद्यार्थीहरुले कुनै नजानेको वा नसुल्झिएको विषयवस्तुमा यो महिना सहपाठी र गुरुहरूको सहयोग लिएको राम्रो हुन्छ । व्यवसायीहरुका निमित्त यो महिना अचल सम्पत्तिको कारोबारबाट लाभ मिल्ने समय छ । त्यस्तै कला, कविता र साहित्यमा रूचि बढ्ने छ र यस क्षेत्रका व्यवसायीले केही राम्रो गर्न सक्नेछन् । सामान्यतया यस महिनाको ५, ६, १४, १५, १६, २३, २४ र २५ गते तपाईका लागि अशुभ रहने छन् । शनिदेवको अढैया दशा प्रारम्भ भएकाले तपाईले यो महिनादेखि लगातार साढे दुई वर्षसम्म शनिदेवको प्रियताका लागि उपाय गर्नु उपयुक्त हुनेछ । यसका लागि शिव स्तोत्र व शनि स्तोत्रको पाठ गर्नु पर्छ अथवा शनि यन्त्र धारण गर्नु पर्छ, त्यसबाहेक हनुमान् जीको उपासनाबाट पनि लाभ लिन सक्नुहुन्छ ।

वृश्चिक : एकातिर तपाईको आफ्नै राशिमा कर्मक्षेत्रका मालिक सूर्यको प्रवेश हुँदैछ, अर्कातिर यस अघि नै बुध र केतुले तपाईको राशिमा भ्रमण गरिरहेको देखिन्छ । सूर्यको तपाईको राशिमा भ्रमण सुरु हुनासाथ यसको प्रभावले तपाईले पेसा, व्यवसाय, रोजगारी आदिमा केही राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । कुनै महत्वाकांक्षी र स्थिर काम सम्पन्न हुने समय आएको छ । तपाई सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईलाई फाइदा हुनेछ । यस समयमा तपाई मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाई भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । यो समय अल्छी गर्ने वा अकर्मण्य हुने होइन काम गरेर देखाउने समय हो । त्यसैले लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ, सफलताले तपाईको हात चुम्नेछिन् । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, तपाईमा अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ । स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ । उता अहिलेको समय तपाईको राशिस्वामी मङ्गल ग्रहले पाँचौं घरमा भ्रमण गरेको समय पनि हो । यसको परिणाम पनि शुभ नै हुनेछ । व्यक्तित्व आकर्षक हुनाका साथै स्वभावमा मिलनसार बन्नुहुनेछ । तर शिरमा बसेको केतुको प्रभावले यतिबेला बुद्धि र विवेकले काम नगर्न सक्छ, त्यसैले यस समयमा सावधान हुनु आवश्यक छ । कर्मेश समेत सूर्य नारायण नै हुने र सूर्यको आफ्नै राशिमा भ्रमणको अवधि भएकाले श्रमिक तथा कर्मचारीका लागि मिहिनेत र कर्मठताले कामधन्धामा प्रगति र विकास हुनेछ । वरिष्ठ व्यक्तित्व र सत्ताधारी व्यक्तिसित सुमधुर सम्बन्ध कायम हुनेछ । सप्तमेश शुक्र ग्रहले बाह्रौं भावको यात्रा गरेको हुँदा गृहिणीहरुका लागि खर्चको मात्रा बढ्ने समय छ । बजेट सन्तुलनमा नरहन सक्छ । सामान्य घरायसी परिबन्द नमिल्नाले मनोमालिन्य बढ्ने देखिन्छ, परिस्थितिलाई बुझेर चल्नुपर्ने समय हो । उता पञ्चमेश बृहस्पतिले तृतीय भावमा गोचर गरेकाले विद्यार्थीहरुका लागि परीक्षा वा प्रतियोगिताको तैयारी गर्दै हुनुहुन्छ भने यो महिना आत्मविश्वास बढ्ने समय छ, प्रयास गर्नुहोस् सफलता मुट्ठीमा छ । व्यवसायीहरुका निमित्त परिवारमा सुखसुविधाको जोहो गर्न धन व्यय गर्ने समय हो । जग्गाजमिन, माटो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्री तर्फ राम्रो कारोबार देखिन्छ । सामान्यतया यस महिनाको ७, ८, ९, १७, १८, २५, २६ र २७ गतेको चन्द्रमा तपाईको प्रतिकूल रहने देखिन्छ । ग्रहजन्य दुष्प्रभावमा कमी होस् र यो महिना अझ धेरै शुभता प्राप्त होस् भन्ने उद्देश्यले तपाईले शिरमा रहेको केतुको शान्तिका लागि यो महिना प्रत्येक मङ्गलबार वा बिहीबारका दिन गच्छेअनुसार कुनै गुलियो पक्वान्न कुनै बृद्ध जोगीलाई वा माता दुर्गाको शक्तिपीठमा दान दिनु राम्रो हुन्छ ।

धनु : यो महिना तपाईको राशिबाट बाह्रौं भावमा सूर्यले भ्रमण गर्ने समय हो । यस अवधिमा खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नति प्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । स्वदेशमा नै रहेका जातकहरूले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । जागीरको सिलसिलामा घरबाहिर हुनुहुन्छ भने प्रयास गर्नुहोस् तपाईको घरपायक सरुवा हुनसक्छ । यो वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । याद गर्नुहोला, बाह्रौं भाव खर्चको घर हो । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, नत्र कुनै ठूलै आर्थिक सङ्कटको परिस्थिति सिर्जना हुनसक्छ । यो धनसम्पत्तिको थैलो कसेर राख्ने समय पनि हो, लापरवाही गर्दा गहनागुरिया वा रुपैयाँपैसा चोरी हुने खतरा छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । त्यस्तै व्यक्तिगत स्वास्थ्यका बारेमा लापरवाही नगर्नु होला, टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । यसै समयावधिमा सँगीसाथीबीचमा मौजमस्ती र खानपानमा खर्च बढ्ने समय पनि हो । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ । त्यस्तै नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । उता राशिस्वामी बृहस्पतिले यो महिना दोस्रो भावमा भ्रमण गरेको अवधि भएकाले आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ । कर्मक्षेत्रको मालिक बुध ग्रहले एघारौं र बाह्रौं भावको यात्रा गर्ने महिना भएकाले श्रमिक तथा कर्मचारीका लागि भाग्योदयको योग छ, बौद्धिक र ज्ञानमूलक क्षेत्रमा रुचि जाग्ने छ, सहयोगी र मित्रवर्गको साथ सहयोग मिल्नेछ । सप्तमेश ग्रहसमेत बुध नै हो, त्यसैले गृहिणीहरुका लागि छोराछोरीको कुरा बुझी त्यस अनुरूप काम गर्ने हुँदा घरपरिवारमा विवादको परिस्थिति खडा हुने समय हो । त्यसैले सामन्जस्यको भूमिका खोज्नुपर्ने हुन्छ । पञ्चमेश मङ्गलले कर्मक्षेत्रको भ्रमण गरेको समय छ, त्यसैले विद्यार्थीहरुका लागि अत्यधिक आत्मविश्वासको जागृति हुने समय छ । पठनपाठनमा भन्दा कर्मप्रति लगनशील बन्ने प्रेरणा जाग्ने समय हो, रोजगारीका लागि प्रयास गर्दै हुनुहुन्छ भने सफलता पाउनु हुनेछ । व्यवसायीहरुले बढी महत्वाकांक्षा राख्नु बेकार हुनेछ । अनावश्यक र प्रतिफल नआउने क्षेत्रमा खर्च बढ्ने समय हो । शत्रु र प्रतिस्पर्धीले तनावको सिर्जना गर्नेछन् । जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाति हुनेछ । सामान्यतया यस महिनाको १, २, ९, १०, ११, १९, २०, २१, २८ र २९ गते तपाईका लागि अशुभ रहने सङ्केत छ । यस महिनामा शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईले सूर्य ग्रहको शान्तिका निमित्त केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री, आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गर्दा र भगवान् विष्णुको नियमित पूजा आराधना गर्दा दुष्प्रभावहरू नष्ट हुन्छन् ।

मकर : यसै महिनादेखि तपाईको राशिमा पुनः राजयोगको सिर्जना भएको छ । केही समयअघि बक्री भई धनु राशिमा प्रवेश गरेका शनिदेवले पुनः तपाईको राशिको भ्रमण सुरु गरेका र बृहस्पतिको साथ पाएकाले यस्तो राजयोग बनेको हो । त्यस्तै मंसिर महिना राज्यस्थान वा लाभ भावमा सूर्यदेवले परिभ्रमण गर्ने समय हो । इच्छा र आकांक्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । यस अवधिमा सामान्यतया सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुने सम्भावना हुन्छ । सरकारको उच्च ओहदाका मानिसहरूसँग तपाईको सुसम्बन्ध कायम हुनेछ, परिणामतः तपाईले फाइदा लिन सक्नुहुन्छ । कार्यालयमा सिनियर कर्मचारीले सहयोग र समर्थन गर्ने समय हो । तपाई स्वयंले वा जीवनसाथीले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागीर तपाईको हातमा आउने छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवा÷प्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद् र सफलतम सिद्ध हुनेछ । प्रेम जीवनमा भने कलह र विवादको सम्भावना देखिन्छ । त्यस्तै दाम्पत्य जीवनमा पनि नोकझोक र कलहको वातावरण बनिरहन्छ, त्यसैले पार्टनरको भावनालाई कदर गर्नुहोला । बालबच्चाको स्वास्थ्यस्थिति र आचरणबारे पनि सतर्कता अपनाउनु पर्छ । यसै महिनादेखि तपाईको राशिस्वामी शनिश्चर ग्रहले बृहस्पतिका साथमा राजयोग सिर्जना गर्दै तपाईको आफ्नै राशिको भ्रमण गर्न थाल्नेछन् । अब प्रत्येक प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीले पूर्ण सहयोग गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्णता हुनेछ । दाजुभाइ र दिदीबहिनीले समेत आआफ्नो कार्यक्षेत्रमा राम्ररी काम गर्नेछन् । यात्राबाट लाभ हुनेछ । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ । कर्मेश शुक्रले कर्मक्षेत्रकै भ्रमण गरेको यो महिना श्रमिक तथा कर्मचारीका लागि कुल र वंशका बारेमा केही गर्नुपर्छ भन्ने धारणा पलाउन सक्छ, आफ्नो व्यक्तित्व र पहिचानको चिन्तन गर्न मन लाग्नेछ । महिनाको पहिलो दिन सप्तमेश चन्द्रमाले राज्यस्थानको भ्रमण गरेकाले गृहिणीहरुका लागि सुविधासम्पन्न जीवन यापन हुनेछ । पारिवारिक सुख मिल्नेछ । घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ । विद्यार्थीहरुका लागि परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने केवल भाग्यभरोसामा रहनु ठीक हुनेछैन, तपाईले कडा परिश्रमपछि मात्र सफलता पाउनु हुनेछ । व्यवसायीहरुका निमित्त बन्द व्यापारमा राम्रो छ । महत्त्वपूर्ण व्यक्तिका साथमा सम्पर्क बढ्ने छ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । सामान्यतया यस महिनाको २, ३, ४, १२, १३, १४, २१, २२, २३ र ३० गतेको चन्द्रमा तपाईका लागि अशुभ रहने छन् । यो महिना अझ धेरै शुभ परिणाम प्राप्त होस् भन्ने उद्देश्यले राशिस्वामी शनिको उपासना गर्नु बुद्धिमानी हुनेछ, यसका लागि तपाईले दिनैपिच्छे काग, गिद्ध वा भुस्याहा कुकुरलाई खानेकुरा प्रदान गर्ने एवं छोराछोरी, नोकरचाकर वा भाइबहिनीलाई मिश्री, चकलेट आदि गुलियो पदार्थ बाँड्ने बानी विकसित गर्नु पर्दछ ।

कुम्भ : यो महिना कर्मक्षेत्रमा सूर्यले भ्रमण गर्ने महिना हो । यो कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा वर्चस्व स्थापना गर्ने समय हो । त्यस्तै व्यवसायीहरूले आफ्नो व्यापारिक प्रतिष्ठानको उन्नति गर्ने समय पनि हो । यस अवधिमा तपाईको मानसम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । कर्मचारीहरूले मनले चाहेको जिम्मेबारी र पदभार पाउने समय हो, यस समयमा हाकिम वा वरिष्ठ व्यक्तिसित सुसम्बन्ध कायम हुनेछ । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । सरकारी अड्डाअदालतमा कुनै काम रोकिएको छ भने त्यसलाई सुल्झाउन उचित समय छ । यो नयाँ जिम्मेवारी पाउने समय हो । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय हो । प्रेमजीवनमा मिठासपूर्ण सम्बन्ध नै रहने छ, तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तता हुँदा समय दिन पाइँदैन । कुल, परम्परा र आध्यात्मिकतातर्फ सामान्य चासो बढ्न सक्छ । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । यसै महिनादेखि राशिस्वामी शनिदेवले बाह्रौं भावको यात्रा प्रारम्भ गर्नेछन् । अब साढे सात वर्षका निमित्त शनिदेवको साढेसाती दशा प्रारम्भ भएको छ । त्यसैले अबउप्रान्त जीवनीशक्तिमा कमी भएको अनुभूतिका कारण आँफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जा नाश हुनेछ । धन हानि हुनेछ । परिजनको अस्वस्थताले अशान्त रहनुहुनेछ । खर्चको मात्रा बढ्ने छ । दशमेश मङ्गल ग्रहले धनस्थानको यात्रा गरेको समय भएकाले यो महिना श्रमिक तथा कर्मचारीका लागि हातमा अचानक कुनै उपहार वा धन प्राप्त हुने सम्भावना भएको महिना हो । आम्दानीका मार्ग बढ्ने छन् र उच्च पदमा आसीन राजनैतिक प्रशासनिक पदका व्यक्तित्वसँगको सम्बन्धमा सुधार आउने छ । सप्तमेश सूर्यले कर्मक्षेत्रको यात्रा गरेको हुँदा गृहिणीहरुका लागि सहयोगी र छरछिमेकीको साथ पाउने समय हो । व्यक्तित्व विकासका लागि सकारात्मक समय छ, बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुनेछ । उता पञ्चमेश बुधले पाँचौं र छैटौं भावको यात्रा गर्ने यो महिना विदेश जान तैयारी गरिरहेका विद्यार्थीका लागि सम्बद्ध शैक्षिक संस्थामा सम्पर्क राखेर छलफल गरेमा राम्रो हुनेछ । व्यवसायीहरुका निमित्त व्यापार र लेनदेनको कारोबारबाट राम्रै फाइदा प्राप्त हुनेछ । फलाम, कोइला, पेट्रोलियम पदार्थ आदिका व्यवसायीले केही राहत पाउने समयावधि हो । सामान्यतया यस महिनाको ५, ६, १४, १५, १६, २३, २४ र २५ गतेको चन्द्रमा तपाईका लागि प्रतिकूल हुने हुँदा सचेतता अपनाउनु होला, साथै यो महिना शुभ फल प्राप्तिका लागि राशिस्वामी शनिदेवको उपासनामा नै जोड दिनु होला, यसका लागि तपाईले शनिवारका दिन कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नुपर्दछ वा खान दिनुपर्छ अथवा यस अवधिमा शुभफल प्राप्त गर्न एउटा नीलम रत्न (कम्तीमा ६ क्यारेटको) चाँदीमा औंठी बनाएर दाहिने हातको माझी औंलामा धारण गर्दा लाभ हुनेछ ।

मीन : शिरमा बसेको मङ्गल ग्रहको प्रभावले रिस, घमण्ड र क्रोधमा नियन्त्रण गर्ने समय हो । मंसिर महिना सूर्यदेवले भाग्यभावको यात्रा गरेको समय हो । अतः पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो, यो । सन्तानले उन्नति÷प्रगति गर्नेछन् । यो दृढ इच्छाशक्तिको उदय हुने समय हो । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने समय छ । गरेको कर्ममा भाग्यको साथ पाउने समय छ । कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय हो । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । यस समयमा धर्म, अध्यात्म र दर्शनका विषयहरूमा पनि रूचि बढ्ने र अध्ययन गर्नुहुने लक्षण देखिन्छ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ । तर यस भावमा रहेको सूर्यको केही अशुभ फल पनि प्राप्त हुन्छ, जस्तै पिता वा पितातुल्य व्यक्तिको स्वास्थ्यमा बाधा पुर्याउन सक्छ । त्यस्तै परिवारमा भाइ बहिनी आदिका कारण कुनै तनाव उत्पन्न हुनसक्छ । महिनाको प्रारम्भमा दैनिक र बाध्यताकारी खर्चको मात्रामा ह्वात्तै बृद्धि हुनसक्छ । मंसिर महिना तपाईको राशिस्वामी बृहस्पति ग्रहले एघारौं घरमा भ्रमण गरेको समय हो । आफ्नो नीच गृह मकर राशिमा राशिस्वामी रहे पनि शनिदेवको युति भएकाले राजयोग बनेको समय छ । त्यसैले अब उत्साहपूर्ण समय छ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । कर्मेश समेत बृहस्पति ग्रह नै भएकाले यो महिना श्रमिक तथा कर्मचारीका लागि अब व्यक्तित्व विकास र ज्ञानमूलक काममा दिलचस्पी राख्ने समय आएको छ । वरिष्ठ व्यक्तित्व वा सत्तावान् व्यक्तिका साथको सम्बन्धमा सुधार आउने छ । पारिवारिक वातावरण संतोषप्रद रहनेछ । सप्तमेश बुधले सातौं भावकै यात्रा गरेको समय हो, अतः गृहिणीहरुका लागि मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ । व्यवसायीहरुका निमित्त यो अवधि सर्वश्रेष्ठ छ । खासगरी जग्गाजमिन, निर्माण सामाग्री, खनिज र काष्ठ व्यवसायीले लाभ पाउने समय हो । सामान्यतया चन्द्रगोचरका आधारमा यस महिनाको ७, ८, ९, १७, १८, २५, २६ र २७ गते अशुभ रहने छन् । शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईले शिरमा बसेको मङ्गल ग्रहको शान्तिका लागि जटावाल नरिवललाई सिन्दूरले रङ्गाएर, त्यसमा मौली सुप, तामाको पुरानो सिक्का, रक्त चन्दन राखी रातो कपडाले बाँधेर यस महिनाको कुनै मङ्गलबारका दिन बग्दो पानी बगाएमा शुभफल प्राप्त हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ