arrow

पचहत्तरौँ वार्षिकोत्सव मनाउँदै राष्ट्रिय माध्यमिक विद्यालय 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
Rastriya Mavi pokhara.jpg

पोखरा । पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालय आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सव वर्षभर मनाउने गरी तयारीमा जुटेको छ ।

आगामी मङ्सिर २० गते विद्यालय स्थापनाको ७४औँ वर्ष पूरा गरी ७५औँ वर्षमा प्रवेश गर्दैछ ।

विसं २००६ मङ्सिर २० गते पब्लिक मिडिल स्कुलका नामबाट पोखरा-३ नदीपुरमा सञ्चालित उक्त विद्यालयलले २००७ सालमा स्थायी स्वीकृति लिएसँगै तत्कालीन राजा त्रिभुवनबाट रु  एक हजार पाएपछि विद्यालय भवन निमार्ण थालिएको थियो ।

नदीपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय त्यहाँबाट स्थानान्तरण गर्न जमिनको खोजी भएकामा रत्नाखर पराजुलीका परिवारले जग्गा उपलब्ध गराएपछि विद्यालय हालको स्थानमा सारिएको हो ।

त्यसपछि तत्कालीन श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबीच भवन निर्माण सम्झौता गरिएको थियो ।

भवन निर्माणको शिलान्यास २०१३ सालमा राजा महेन्द्रले गरेका थिए । विद्यालयबाट प्रथम पटक २०११ सालमा पाँच जनाले एसएलसी दिएकामा चार जना उत्तीर्ण भएका थिए । 

विसं २०१५ देखि २०२८ को नयाँ शिक्षा लागू हुनुपूूर्व विद्यालयको नाम नेशनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो । हाल विद्यालयमा कक्षा १२ सम्मको पढाइ हुने गरेको छ ।

विसं २०५४ देखि विद्यालयले दस जोड दुईको पढाइ सञ्चालन सुरु गरेको सूचना अधिकारी शिवभक्त देवकोटाले जानकारी दिए ।

हाल ४४ जिल्लाका गरी एक हजार चार सय विद्यार्थी अध्ययनरत विद्यालयमा ५७ जना शिक्षक, कर्मचारी कार्यरत रहेको उनले बताए ।

पचहत्तरौँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार विद्यालयमा अध्ययनरत पूूर्वविद्यार्थी, शिक्षक/कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक सङ्घका पदाधिकारी एवं सरोकारवालाबीचको भेलाले मूल आयोजक समिति र कार्य सम्पादन समित गठन गरेको छ ।

गठित दुवै समितिको संयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा संयोजक रहेका छन् भने सदस्य सचिवमा प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटा रहेका छन् ।

भेलामा एक सय ६८ जना उपस्थित रहेकामा सबैलाई मूल आयोजक समितिको सदस्यमा चयन गरिएको र आवश्यकता अनुसार सरोकारवाला अन्यलाई सदस्यमा थप गर्ने अध्यक्ष राणाले जानकारी दिए ।

एक्काइस सदस्यीय कार्यसम्पादन समितिको उपाध्यक्षमा विद्यालयका जग्गा दाता रत्नाखर पराजुली परिवारकोतर्फबाट शिवप्रसाद पराजुली, सहसचिवमा कल्पना आचार्य बास्तोला, कोषाध्यक्षमा पूर्वविद्यार्थी सूर्यप्रसाद सुवेदी, सहकोषाध्यक्षमा विद्यालयका लेखापाल गीता अधिकारी लगायतलाई चयन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ