arrow

यमपञ्चक र तिहार

logo
तुलसी पन्थी,
प्रकाशित २०८० कार्तिक २५ शनिबार
tulasi-panthi-2080-07-25.jpg

हिन्दूधर्मीहरूको सबैभन्दा ठूलो महान् पर्व बडादशैँपछिको दोश्रो ठूलो पर्व तिहार हो । चन्द्रमासअनुसार कार्तिककृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । पाँच दिनसम्म मनाइने यस पर्वलाई यमपञ्चक भनिन्छ ।

यसलाई दीपावली पनि भनिन्छ  । यमपञ्चकमा पहिलो दिन काग पूजा, दोश्रो दिन कुकुर पूजा, तेश्रो दिन गाई पूजा एवं लक्ष्मी पूजा, चौथो दिन गोवर्धन-गोरु पूजा र पाँचौँ दिन भाइ पूजा गरी मनाइन्छ ।
             
पौराणिक कथन अनुसार सूर्यका छोरा यमराज कार्तिककृष्ण त्रयोदशीकादिन यमलोकबाट आफ्नी बहिनी यमुनाको घरमा आई पाँचदिनसम्म बसेका थिए । आफ्नो घरमा आएका दाजुलाई बहिनी यमुनाले मीठा मीठा खाद्यवस्तु खुवाएर सम्मान गरेकी थिइन् ।

आफ्नी बहिनीले गरेको सम्मानबाट प्रसन्न भएका यमराजले बहिनीलाई मनमा लागेको कुरा वर माग भन्दा बहिनी यमुनाले 'हरेक वर्ष दाजु यमराज आजकै दिन आफू कहाँ आउनु पर्ने साथै दाजु-भाइ दिदी-बहिनीको पवित्र प्रेम सदा अटल रहोस् र दाजु-भाइको आयु र कीर्ति वृद्धि होस्' भनी वरदान मागिन् । 

दाजु यमराजले पनि तथास्तु भन्दै 'मन, वचन, कर्म र शुद्ध चित्तले पूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फैलिने' वर दिई आफ्नी बहिनीसँग बिदा भई गएका थिए । यमराज कार्तिककृष्ण त्रयोदशीदेखि कार्तिकशुक्ल द्धितीयासम्म पाँच दिन बहिनी यमुनाको घरमा बसेको पाँच दिनलाई यमपञ्चक भनिएको हो । 

यसरी पौराणिककालदेखि यो पर्व मनाउँदै आइरहेको पाइन्छ । यस पर्वले मानिस र पशुपंक्षी बीचको सम्बन्ध दाजुभाइ र दिदीबहिनी बीचको आत्मीय पवित्र स्नेह एवं सम्बन्धलाई पनि उजगार गर्दछ ।

यमपञ्चकमा गरिने कार्यहरुः
काग तिहारः
यमपञ्चकको पहिलो दिन कार्तिककृष्ण त्रयोदशीमा यमराजको सन्देश सुनाउने यमदूतको रूपमा कागको पूजा गरिन्छ । यसैदिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको अवतरण भएको मान्यताअनुसार भगवान् धन्वन्तरिको पूजा गर्ने प्रचलन रहेको छ । यस दिन नयाँ भाँडा किनेर त्यसमा खाएमा रोग लाग्दैन भन्ने मान्यता पनि रहेको छ । यस दिनलाई धनतेरस पनि भन्दछन् ।
          
कुकुर तिहारः
यमपञ्चकको दोश्रो दिन कार्तिककृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइन्छ । जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रही आएको छ । कुकुर यमराजको दूत र प्रिय भक्त मानिन्छ । 

मानिस र कुकुरको अत्यन्त नजिकको सम्बन्ध  रहेको छ । कुकुर आज्ञापालक पशु हो । यसले विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लागाउने काममा सहयोग गर्दछ । कुकुरले घरको रेखदेख गरी चोर डाँकाहरुबाट घरलाई सुरक्षा दिई मानिसलाई सहयोग गर्दछ । 

कुनै प्रकृतिक प्रकोप तथा  दैवीविपत्ति हुने समयमा कुकुरले कुनै न कुनै रूपमा पूर्व सूचना दिन्छ भन्ने मन्यता रहिआएको छ । कुकुरलाई भैरव देवताको वाहन पनि भनिन्छ ।

कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना खुवाई फूलको माला लगाई पूजा गर्ने गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । 

त्यसैले नरक देख्न नपरोस् भनी साँझमा घरको ढोकामा दीप जलाउने परम्परा रहिआएको छ ।

गाई तिहार-लक्ष्मीपूजाः
सनातन वैदिक हिन्दूधर्मीहरूले धार्मिक वा सामाजिक कार्य गर्नुअघि गाईको गोवरले  घर आगन लिपपोत गर्ने, गाईको गहुँत, गोबर, दूध, दही र ध्यू मिसाई विधिपूर्वक संस्कार गरिएको पञ्चगव्य पान गरी पवित्र भइ पूजा वा कर्म गर्ने स्थानमा पञ्चगव्य छर्केर स्थान पवित्र गर्ने परम्परा छ ।

गाईलाई लक्ष्मी र गौमाताको रूपमा मानिन्छ । धेनुरूपा, लक्ष्मीस्वरूपा गाईलाई कार्तिककृष्ण अमावस्यका दिन पूजा गरिन्छ । 

गाई पूजा गर्ने मन्त्र –
लक्ष्मीर्या लोकपालानाम् धेनुरूपेण संथिता ।
 घृते वहति यज्ञार्थे मम पापं व्यपोहतु । 
या कुहुः प्रतिपन्मिश्रा तत्र गाः पूजयेन्नृपः । 
पूजनात् त्रीणि वर्धन्ते प्रजा गावो महीपतिः ।

प्रतिपदा सहितको अमावस्यमा गाईको पूजा गरेमा प्रजा गाई र भूपति बढ्दछन् भनेर शास्त्रमा बताइएको छ । 

यसैदिन धनधान्यकी देवी र ऐश्वर्यकी प्रतीक श्री लक्ष्मीजीको घर-घरमा आह्वान गरी औशीको अँध्यारो रातमा दीपावली गरी लक्ष्मीजीको पूजा गरिन्छ । 

मध्यरातमा लक्ष्मीजीको आगमन हुने विश्वासले रातभर दीपावली गरिन्छ । 

'तमसो मा ज्योतिर्गमय' अर्थात् अँध्यारोबाट उज्यालोमा जाने ‍औँशीको अँध्यारो रातलाई उज्यालो गर्ने रात भएकोले यस रात्रीलाई सुखरात्री पनि भनिन्छ । 

चतुर्दशीमा र साँझमा दीपदान गर्दा मनुष्यका लागि यममार्ग छेकिन्छ भन्ने शास्त्रमा उल्लेख भएको पाइन्छ ।  

त्रेतायुगमा भगवान श्री रामचन्द्रले रावणको नास गरी अयोध्याको राजाको रुपमा राज्याभिषेक गरेको खुशियालीमा दीपावली गरेको प्रसङ्ग र यमपञ्चकमा यमराज बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मनुष्यले नरक देख्न नपर्ने विश्वासमा दीपावली गर्ने परम्परा चलेको मान्यता पनि छ । 

यस दिन खासगरी धनधान्यकी देवी र ऐश्र्वर्यकी प्रतीक श्री लक्ष्मीजीलाई आ-आफ्नो घरमा स्वागत गर्न लक्ष्मीजीको पूजा र दिपावली गरिन्छ ।

 गोवर्धनपूजा-गोरूपूजाः
यमपञ्चकको चौथो दिन गोवर्धन पूजा गरिन्छ । 'गोवर्धनश्च गोमयेन कायश्चित्रेण वा' अर्थात् गाईको गोबरबाट गोवर्धनपर्वत वा गोवर्धन पर्वतको चित्र बनाई विधिपूर्वक पूजा गर्नु पर्दछ । 'गोवर्धनधराधार गोकुलत्राणतारक । बहुबाहुकृतच्छाय गवां कोटिप्रदो भव' । यसमन्त्रले गोवर्धनपर्वतको पूजा गर्नु पर्दछ । गोवर्धनपर्वतको साथै तोरणको पनि पूजा गरेर तोरण टाङ्गे गरिन्छ ।

श्रीकृष्ण भगवानद्वारा गोकुलवासीले इन्द्रको पूजा गर्ने परम्परालाई तोडी त्यहाँ रहेको गोवर्धन पर्वतको पूजा गराउनु भएको थियो । त्यसै समयदेखि गोवर्ध नपूजाको आरम्भ भएको मानिन्छ ।
          
यसदिन कृषिकार्यमा मूख्य सहयोगीको रूपमा मानिसलाई सहयोग गर्ने गोरूको पूजा पनि गरिन्छ । गोरू भगवान शिवजीको वाहन पनि हो । नेपाल सम्वतको नयाँ वर्ष पनि यसै दिन प्रारम्भ हुन्छ ।
            
भाइटीकाः
यमपञ्चकको अन्तिम दिन कार्तिक शुक्ल द्धितीया यसलाई यमद्धितीया पनि भनिन्छ । यो तिहारको मुख्य दिन हो । यसदिन दिदीबहिनीले श्रध्दापूवक दाजुभाइको पूजा गरी टीका लगाइदिने दिन भएकाले यस दिनलाई भाइटीका भनिएको हो । 

यस दिन यमराजकी बहिनी यमुनाले दाजु यमराजको श्रध्दापूवक विशेष पूजा गरेको शास्त्रीय मान्यताअनुसार समाजमा पनि दिदीबहिनीले दाजुभाइलाई निमन्त्रणा दिई आफ्नो घरमा बोलाई पूजा गरी सप्तरङ्गी टीका लगाइदिन्छन् ।

“अतो यमव्दितीयेयं त्रिषु लोकेषु विश्रुता । 
अस्यां निजगृहे विप्र न भोक्तव्यं नरैः ।
स्नेहेन भगिनीहस्ताद्भोक्तव्यं पुष्टिवर्धनम् । 
दानानि च प्रदेयानि भगिनेभ्यो विधानतः । 
स्वर्णालंकारवस्रान्नपूजासत्कारभोजनैः ।।” 

शास्त्र अनुसार यम द्धितीयाका दिन मानिसले आफ्नो घरको खाना खानु हुँदैन यस दिन दिदीबहिनीको घरको खाना खानु पर्दछ । 

ब्रह्माण्डपुराण अनुसार 
“या तु भोजयते नारी भ्रातरंयुग्मके तिथौ । 
अर्चयेच्चापि ताम्बुलैर्न सा वैधव्यमाप्नुयात् भ्रातुरायुक्षयो राजन्न भवेत्तत्र कर्हिचित्”।।

यम द्धितीयामा जुन महिलाले भाइलाई सत्कार गरी खुवाउँछिन् ती महिलालाई विधवा हुनु पर्दैन र पूजिने भाइको पनि कहिल्यै आयु घट्दैन सुख पाउँछ ।

भाइटीकामा शुद्ध भई दीप, कलश, गणेशको पूजा गरी यमराज, चित्रगुप्त र यमुनाको पूजा गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गर्दछन् । 

दिदीबहिनी र दाजुभाइले आपसमा एक-अर्कोलाई पूजा गरी दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाई कहिले न‌ ओइलिने मखमली दुवो र सयपत्रीको माला लगाई कहिले न सुक्ने तेलको घेराहाल्ने गरिन्छ । 

ढोकामा ओखर फोरी दिदीबहिनीले कालको बाटो छेक्दछन् । दिदीबहिनीले दाजुभाइलाई विभिन्न किसिमका रोटी र मिष्ठान्न खुवाउने गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई यथासक्य वस्त्र र दक्षिणा दिने गर्दछन् ।

यो पर्व दाजुभाइ र दिदीबहिनीको मिलन गराउने पर्व हो । धेरै लामो समयसम्म भेट हुन नसकेका दाजुभाइ र दिदीबहिनीबीच मिलन हुँदा एकआपसमा पवित्र स्नेह कायम हुन आउँदछ । 

अमावस्यदेखि देउसी-भैलो खेल्ने प्रचलनले मनोरञ्जन पनि तिहार पर्वको विशेषता हो । (श्रोत सन्दर्भः धार्मिक ग्रन्थहरु )
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ