arrow

भारतीको आस्था र सर्वोच्चको गरिमा 

logo
सोम, 
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
bharati-sherpa-supreme-cour.jpg

काठमाडौँ । यतिबेला भारती शेर्पाले बिहीबार सर्वोच्च अदालतलाई ढोगेको दृष्य र तस्बिर जताततै भाइरल भइरहेको छ । बिहीबार अपरान्हको यो दृष्य र तस्बिरले नेपालको न्याय अझै मरेको छैन भनेर स्पष्ट पारेको छ । 

बिहीबार अपरान्ह सर्वाेच्च अदालतले कस्तो फैसला गर्छ भन्ने कसैलाई पनि यकिन थिएन । किनकि केही मुद्दालाई छाड्ने हो भने ‘नेपालका कानून दैव जानुन्’, ‘ठूलालाई चैन, सानालाई ऐन’ लगायतका थुप्रै भनाइहरु स्थापित हुँदै पनि आएका छन् । 

तर विगतका यस्ता स्थापित भनाइलाई पछि धकेल्दै सर्वोच्च अदालतले ‘कानून सबैका लागि बराबर हुन्छ’ भन्ने नजिर स्थापित गरिदिएको छ । सर्वोच्चले सर्वोच्चको सर्वोच्चता सर्वोच्च बनाउन सफल भएको छ । 

यो नजिर स्थापित गर्न सजिलो पक्कै पनि थिएन होला । किनकि बिहीबार अपरान्ह सर्वोच्चको संयुक्त इजलासमा कुनै चमक थिएन । सन्नाटा जस्तै थियो । आदेशको पर्खाइ सबैलाई थियो । 

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश डा. कुमार चुडालको पूर्ण इजलासले सरकारले संविधान दिवसको अवसर पारेर गम्भीर अपराध गरेकालाई पनि आममाफी दिएको विषयमा परेको मुद्दाको आदेश सुनाउँदै थियो । 

रिगल भनिने योगराज ढकालको कैद मिनाहा गरिदिने सरकारको निर्णयमा सर्वोच्चले आदेश सुनाउने क्रममा कामु प्रन्या खतिवडाले सुनाए, ‘हत्याको अभियोगमा जन्मकैद पाएका रिगलको ११ वर्ष ११ महिना ५ दिन सजाय मिनाहा गरिदिने निर्णय बदर संविधान र कानूनको बर्खिलाप भएकाले खारेज हुने ठहर्छ । उनलाई तुरुन्त पक्राउ गरी पूर्ण कैद भुक्तान गराउनू  ।’

यो आदेश सामान्य आदेश थिएन । सरकारले गर्दै आएका गलत कदममाथि झापडसमेत थियो । एउटा नजिर नै स्थापित भएको छ । 

संविधान दिवसको अवसर पारी मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रिगलसहित ६ सय ७० अभियुक्तको बाँकी कैद माफी गरिएको थियो । 

सर्वोच्चको आदेशमा कसुरदार ठहरिएका व्यक्तिलाई न्यायका मान्य सिद्धान्त र प्रचलित कानूनका सबै व्यवस्थाहरू उल्लंघन गरी कैद मुक्त गर्ने कामले संविधान उल्लंघन भएको उल्लेख छ । अदालतको परमादेशमा भनिएको छ, ‘यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्त रूपमा खुलाएर मात्र निर्णय गर्ने गर्नू ।’ 

भारतीको अदालतप्रतिको त्यो सम्मान
भारती शेर्पा जब सरकारले आफ्ना पति नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई छाड्ने निर्णय गर्यो तबदेखि आन्दोलनमा थिइन् . रिगलले २०७२ असार २८ गते चेतनलाई दिनदहाडै खुँडाले हानी हत्या गरेबापत अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए । 

आफू अस्वस्थ्य हुँदाहुँदै पनि उनले एकातिर सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बदरका लागि माग गर्दै रिट दायर गरिन् भने अर्कातिर निरन्तर माइतीघर मण्डलामा अनसन बसिन् । 

उनको यो आन्दोलनमा ऐक्यबद्धता जनाउनेहरु बढ्दै गए । त्यो दबाबले सरकारलाई हल्लाएको थिएन । र सरकारको सिफारिसमा राष्ट्रपतिले नै गरेको निर्णयमा के होला ? भन्ने पनि थियो । धेरैले ‘सरकारले चाहे जे पनि गर्छ’ भनेर नेपालको कानूनै यस्तै भनेर पनि भने । 

तर ‘न्याय कहिल्यै मर्दैन’ भन्ने नजिर सर्वोच्चले स्थापित गरिदिएसँगै इजलासमा आदेश पूरा हुन नपाउँदै भारती बिहीबार अपरान्ह डाँको छोडेर रुन थालिन् । उनका ती आँशु खुशीका आँशु थिए । उनले पाएको न्याय थियो । 

तब उबले सर्वोच्च अदालतको ढोका अगाडि सिँढीमा टाउको अडाएर लामो समयसम्म ढोगिन् । यो आस्था सर्वोच्चले सधैभरि राखिरहोस् । 

अन्यायमा परेका सबैले यसैगरी सर्वोच्चलाई ढोगिरहुन् । सर्वोच्चले विश्वास पाइराखोस् । सर्वसाधारणको आस्था रहिराखोस् । 

यसले सरकारलाई पनि राम्रो चेत खोलेको हुनुपर्छ । गलत गलतै हो । 

bharati-sherpa-justice (4).jpg
bharati-sherpa-justice (1).jpg
bharati-sherpa-justice (2).jpg
bharati-sherpa-justice (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ