कैदीबन्दीलाई लिएर सरकारलाई समितिले दियो यस्तो निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
1k
Shares
काठमाडौँ । संसदीय समितिले बाल सुधार गृहमा रहेका बालबालिका र कारागारमा रहेका कैदीहरूको मानव अधिकार हनन नहुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
मङ्गलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले बाल सुधार गृहमा रहेका बालबालिका र कारागारमा रहेका कैदीहरूको मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाहरू भएको निष्कर्ष निकाल्दै त्यस्तो अवस्था आउन नदिने गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।
बालबालिका र कैदीबन्दीहरुको मानव अधिकार हनन नहुने गरी आवश्यक कार्य गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति विमला सुवेदीले जानकारी दिइन्।
उनले भनिन्, ‘नेपालको बाल सुधार गृहमा रहेका कानुनको विवादमा परेका बालबालिका लगायतका व्यक्तिहरू र कारागारमा रहेका कैदी र थुनुवाहरूको मानव अधिकार उलङ्घन र त्यसको दुरुत्साहन हुन नदिनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयलाई आवश्यक कार्य गर्न निर्देशन दिने समितिको आजको बैठकको निष्कर्ष रहेको कुरा यो बैठक समक्ष राख्न चाहन्छु ।’