arrow

कोशीको खिचडी राजनीति

कोशीले नयाँ मुख्यमन्त्री पाउँदै, सांसदहरुको सनाखत हुँदै

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असोज २७ शनिबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर – फाइल ।

विराटनगर । लामो सस्साकस्सीपछि आज कोशी प्रदेशले मुख्यमन्त्री पाउँदैछ । केन्द्रको सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही पक्षधरबाट केदार कार्कीमध्ये प्रदेश प्रमुख परशुराम खापुङले कसलाई मुख्यमन्त्री नियुक्त गर्ने हुन् त्यसको छिनोफानो आज गर्नेछन् । 

यद्यपि कानूनी प्रक्रिया पूरा भइसकेपछि हिजो शनिबार नै उनले निर्णय लिनु पर्ने थियो । तर केन्द्रको दबाब र आफ्नो भविष्य सुनिश्चितताका लागि उनले आजको समय सारेका हुन् । संविधानको धारा १६८ को उपधारा ५ मा गइसकेपछि पार्टीको ह्वीप लाग्दैन र पार्टीले कुनै पक्षमा लागेको भनेर कारबाहीसमेत गर्न पाउँदैन । 

तर नेपाली कांग्रेसको संस्थापनको धम्की कायम रहँदा विद्रोही बनेर दाबी पेश गरेका केदार कार्की (कांग्रेस संस्थापन इतर डा. शेखर कोइरालाका नजिकका) सँग स्पष्ट बहुमत र सशरीर उपस्थित भएर हस्ताक्षर गरेका ४७ सांसद नै गएर मुख्यमन्त्रीका लागि प्रमाण दिँदा पनि प्रदेश प्रमुख खापुङले निरीहता देखाए । 

केन्द्रको सत्ता गठबन्धनका साझा दावेदारी दिएका माओवादीका आङबोको पक्षमा हस्ताक्षर गर्ने कांग्रेसका आठ सांसदले पछि सशरीर उपस्थित भएर कार्कीको पक्षमा हस्ताक्षर गरेपछि त्यो आधिकारिक हुने थियो । तर मुख्यमन्त्रीले त्यसो गरेनन् । 

यसको झझल्को ठ्याक्कै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत पुर्याएर हस्ताक्षरसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तत्कालीन गठबन्धनले दाबी पेश गरे पनि केपी शर्मा ओलीलाई नै यथास्थितिमा प्रधानमन्त्री राख्दै बहुमत खारेज गरेकी थिइन् । 

तर देउवाहरु अदालतमा गएसँगै अदालतले परमादेश जारी गरेर देउवालाई प्रधानमन्त्री बनाएको थियो । अहिले खापुङले शुरुआती चरणदेखि नै संविधान मिचेर प्रक्रिया अगाडि बढाउँदा १० महिनाको अवधिमा चार वटा सरकार ढलिसकेका छन् । 

अब यो अन्तिम पटकको अवसर हो । यदि यसपालि पनि कोशीले मुख्यमन्त्री पाएन भने मध्यावधि निर्वाचन नगरी सुखै छैन । 

प्रदेश प्रमुख खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन लागेका छन् । अहिले ८ बजेदेखि दिउँसो २ बजेभित्र सनाखत गराइसकेपछि आज मुख्यमन्त्री नियुक्ति गर्ने उनको सचिवालयले जनाएको छ ।  

आङ्बोले गठबन्धनमा रहेका दलहरूमध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ४ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ८ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कूल ४७ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेश गरेका छन् ।

आङबोले बुझाएको पत्रमा राखिएको आफ्नो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समूहले प्रतिवाद गर्दै आएको छ । सो समूहले आङबोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्विकार गर्दै आएको छ । 

एमालेले भने आफ्नोतर्फबाट सरकार नबन्ने निश्चित भएपछि कांग्रेसको विद्रोही पक्ष चुनेको हो । यसले केन्द्रसम्मको राजनीतिक समीकरण बदलिने शंका उपशंका हुन थालेको छ ।

सो आन्तरिक विवादका कारण उत्पन्न परिस्थितिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन् । यही आधारमा कोशीले १० महिनाको अवधिमा पाँचौँ मुख्यमन्त्री पाउने छ । 

यसअघि एमालेका हिक्मतकुमार कार्की २ पटक तथा कांग्रेसका उद्धव थापा २ पटक मुख्यमन्त्री भइसकेका छन् । यसरी सत्ता केन्द्रित किचलोका कारण संघीयतामाथि नै प्रश्न उठ्ने गरी राजनीति गरिएकोप्रति नागरिकतहमा आक्रोश पैदा भएको छ । 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ