arrow

रोचक समीकरण

कोशीले केन्द्रलाई दिएको सन्देश, समीकरण फेरिने संकेत

कार्कीलाई एमालेको समर्थन, कांग्रेसका २९ मध्ये आठमात्रै कार्कीसँग, बाँकी कांग्रेसका सांसद माओवादीतिर

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असोज २५ बिहिबार
koshi-2080-06-25a.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कोशी प्रदेशको राजनीतिका कारण सिङ्गो केन्द्रको सत्ता गठबन्धनको केन्द्रीय समीकरण पनि बदलिने संकेत दिएको छ । 

सत्ता गठबन्धनले केन्द्रबाट माओवादी केन्द्रका सांसद इन्द्र आङबोलाई कोशीको नेतृत्व दिने गरी निर्णय गरेर उनले दावी पेश गरे पनि नेपाली कांग्रेसका सांसद केदार कार्कीलेसमेत दाबी पेश गरेर सत्ता समीकरणलाई चुनौती दिएका छन् । 

मुख्यमन्त्रीमा दाबी गरेका कार्कीले मध्यावधि रोक्न आफूले दाबी पेस गरेको बताएका छन् । उनले प्रदेशको अन्योल चिर्न आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

उनले संचारकर्मीसँग भने, ‘कोशी प्रदेशमा अन्यौलता छ । सांसदहरूको एकरूपता छ । संसद्भित्र सौहार्द सम्बन्ध प्रमाणित गर्दै मध्यावधि निर्वाचन रोक्नका लागि ४७ सांसदहरूको हस्ताक्षर पेस गरेको छु ।’ उनले भने । 

उनले संविधानको धारा १६८ को उपधारा ५ मा त्रुटि भए मध्यावधिमा जान सक्ने चेतावनीसमेत दिएका छन् । 

यता आङ्बोले दाबी प्रस्तुत गरे पनि कांग्रेसका आठ सांसदले भने प्रदेश प्रमुखकोमा आफैँ उपस्थित भएर आङ्बोलाई समर्थन नरहेको भन्दै कार्कीका पक्षमा हस्ताक्षर गरेका छन् । 
यसबाट आङ्बोको समर्थन झुटो भएकोसमेत दाबी गरिएको छ । 

केदार कार्की कांग्रेसको शेखर कोइराला पक्षधर हुन् । अर्थात् कांग्रेसको संस्थापनले माओवादीलाई नै प्रदेशको नेतृत्व बुझाएको भए पनि शेखर पक्षले भने विद्रोहको शैली अपनाएको हो । 

यद्यपि कार्कीको समर्थनमा देउवा समूहका हिमाल कार्कीले पनि हस्ताक्षर गरेका छन् । उनले आजै संसदीय दलको उपनेताबाट राजीनामा दिएका थिए ।  

यसँगै कार्कीको पक्षमा समर्थन दिने सांसदको संख्या ४७ पुगेको छ । ९३ सदस्य रहेको कोशीमा ४७ मत ल्याउनेको बहुमत हुन्छ । कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदले समर्थनमा हस्ताक्षर गरेका छन् । 

एमालेको समर्थनले कार्की बलियो हुँदा यसले नै केन्द्रमासमेत समीकरण बदलिन सक्ने सम्भावना देखिएको छ । 

तर एउटै दलका सांसदको हस्ताक्षर दुवैतर्फको उम्मेदवारीमा प्रयोग भएपछि यस्तोमा अब प्रदेश प्रमुख परशुराम खापुङले कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने संकट देखिएको छ ।

यो प्रयास असफल भए कोशीमा मध्यावधि निर्वाचन हुनेछ । 

यसअघि एमालेबाट हिक्मतकुमार कार्की २ पटक तथा कांग्रेसका उद्धव थापा २ पटक मुख्यमन्त्री भएर विश्वासको मत पाउन सकेका थिएनन् । 

कार्कीले कोशी संसदीय दलका नेता थापाले दुई पटकसम्म अवसर पाएको र बहुमतका लागि प्रयास नगरेका कारण संसदीय दलको नेता फेर्नुपर्नेमा लागेका थिए । तर उनको मागको बेवास्ता भएपछि प्रदेशको सबैभन्दा ठूलो दलले उनको हात थापेको छ । 

यदि कार्की मुख्यमन्त्री भए र माओवादीले समर्थन गरेन भने कोशी त कांग्रेसको नेतृत्वमा बन्छ नै केन्द्रमासमेत समीकरण बदलिन सक्छ । 

यसरी एमालेको समर्थन कांग्रेसका कार्कीलाई भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने दशरथ रंगशाला पुगेर नेपाल र लाओसबीचको विश्वकप छनोटको खेल हेरिरहेका थिए । 

१६८ को उपधारा ५ मा दलीय ह्वीप नलाग्ने भए पनि कांग्रेसभित्र अनुशासनको कारबाहीका लागि शुक्रबार बैठक बोलाइएको भए पनि कांग्रेसले नै अनुशासनको कारबाही गर्ने सम्भावना देखिँदैन । 

किनकि कांग्रेसले कार्कीलाई कारबाही गर्नासाथ कसैको पनि बहुमत हुँदैन अनि मध्यावधिको विकल्प हुँदैन । 

१० महिनामा चार पटक सरकार बनिसकेको छ । पाँचौँ सरकार बनिरहँदा यदि यो असफल भयो भने मध्यावधि हुनेछ । 

त्यसैले पनि मध्यावधि कांग्रेस र एमालेले चाहेका छैनन् । 

त्यतिमात्र होइन केन्द्रको राजनीतिलाई पनि कायमै राख्न माओवादीसमेत पछि हट्ने आशा गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ