arrow

भीओआईपी तथा टेलिकमको ठगी रोक्न टेरामोक्सको प्रयोग गर्न खोजेका हौँ – प्राधिकरण अध्यक्ष खनाल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
purushottam-khanal-nta-president.jpg

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भीओआईपी तथा टेलिकमको ठगी रोक्न टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स) को प्रयोग गर्न खोजेको बताएका छन् । 

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले टेरामोक्स जडान गर्न खोज्नुको उद्धेश्य स्पष्ट पारे । शुरुआतदेखि नै टेरामोक्सको महत्व बुझाउँदै आएका खनालले टेरामोक्सले अवैध कल बाइपास, टेलिकम अपरेटरहरुको कलको मात्रा मापन तथा ठगी वा भीओआईपी गेटवेज पहिल्याउने दाबीसमेत गरे । 

अध्यक्ष खनालले टेरामोक्सले दूरसञ्चार सेवामा सम्भावित आपराधिक क्रियाकलापको निरीक्षण, न्यूनीकरण गरेर दूरसंचार सेवालाई विश्वासिलो र गुणस्तरीयता मापन गर्ने सँगसँगै राज्यको गुमेको करोडौँ कर छलिलाई रोक्न सकिने  बताए ।

उनले भने, “अब हामी कसैले मेरो आम्दानी यति हो भनेर लेखेर दिएको आधारमा त्यसलाई सदर गर्ने पक्षमा छैनौँ । दिन प्रतिदिन सेवा प्रदायक र राज्यको आम्दानी घटिरहने, हामीले त्यसैलाई प्रमाणित गरिरहने भन्ने हुँदैन । सरकार र नेपाली जनतालाई यो क्षेत्रको राजस्व चुहावट भएको छैन भनेर आश्वस्त पार्न चाहन्छौँ ।” 

टेलिकमको बदमासी छर्लङ्गै रहेको दाबी गर्दै खनालले यसलाई रोक्न सकिएन भने केही वर्षमै नेपालको दूरसञ्चार सकिने दाबी गरे । उनले भने,“सन् २०१७ देखि फोरजी सञ्चालनमा आएको थियो । त्यसयता डेटाको प्रयोग ४०० गुणा बढेको छ । फोन र एसएमएसको पैसा घटेको छैन । नेटवर्क विस्तार भएको छ,सिम बिक्री बढिरहेको छ । तर २०७४/७५ यता राजस्व भने २५ अर्बले घटेको छ । यसैगरी गएको खण्डमा अबको ३/४ वर्षमा नेपालको दूरसञ्चार क्षेत्र समाप्त हुन्छ ।” 

सेवा प्रदायकले यो टेरामोक्स प्रणाली जडान गर्न इच्छा नदेखाएको प्रसंङ्गमा बोल्दै अध्यक्ष खनालले उनीहरु इमानदार नभएको संकेत गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन अनुसार यो प्रणाली कार्यान्वयनको सन्दर्भमा सेवा प्रदायकसँग एमओयू अथवा निश्चित कार्यविधि बनाएर कार्यान्वयनमा लगिने उनको भनाइ छ । 

शुरुआती समयदेखि नै टेरामोक्सको सन्दर्भमा सेवा प्रदायकसँग छलफल र समन्वय बताउँदै खनालले त्यसको माइन्युटसमेत सुरक्षित रहेको बताए । 

उक्त टेरामोक्स जडित ल्यापटपको करिब ६६ लाख ४५ हजार रुपैयाँ पर्छ । अध्यक्ष खनालले उक्त ल्यापटप केवल सामान्य ल्यापटप मात्र नभएर ड्राइभ टेस्ट उपकरण भएको स्पष्ट पारे । 

उनले २०६६ सालमा ठेक्का खारेज भएपछि अदालतको परमादेशमा पुनः परियोजना अगाडि बढाउँदा डेटा ट्राफिक मनिटरिङका लागि उक्त उपकरण थप्न लगाइएको बताए ।

भ्यानराइज सोलुसन्सका विज्ञले टेरामोक्स प्रविधिले कल तथा मेसेजको मिडिया फाइल र व्यक्तिगत डेटा संकलन नगर्ने दाबी गरेका छन् । कम्पनीका ​प्राविधिक मोहम्मद अर्बले डेटा एक्स्ट्राक्सनका लागि प्यासिभ एप्रोचमात्र प्रयोग गरिने बताए ।

“दूरसञ्चार ऐनको दफा १५ र १७ ले नै हामीलाई ठगीजन्य गतिविधि निगरानी गर्ने प्रयोजनका लागि डेटा लिन सक्ने र निरीक्षण गर्न सक्ने अधिकार दिएको छ,” उनले भने, “यो प्रणालीको सहयोगमा हामीले त्यस किसिमको कामलाई अटोमेसन गर्न लागेका मात्रै हौँ ।” 

टेरामोस्कले गर्दैन कल रेकर्ड 
नेपाल दूरसञ्चार प्राधिकरणले टेरामोक्सले व्यक्ति व्यक्तिबीचको फोनकल रेकर्ड नगर्ने स्पष्ट पारेको छ । टेरामोक्सले दूरसञ्चार क्षेत्रको घट्दो आम्दानीको कारण पत्ता लगाउन सहयोग गर्ने र सेवाको गुणस्तर बढाउन सहयोग पुर्याउने दाबी गरिएको हो । 

भेराइज सोलुसन्सका प्राविधिकसमेत रहेका मोहम्मद हर्बले यो प्रणाली व्यक्तिको कुराकानी रेकर्ड गर्ने गरी निर्माण नगरिएको बताए । उनले भने, “सेवाप्रदायकबाट प्राप्त तथ्याङ्कको एकमुष्ट ग्रहण गर्ने र त्यसको विश्लेषणमा यो प्रणालीले सहयोग पुर्याउँछ । हल्ला भएजस्तो कलको रेकर्ड भने गर्दैन ।” 

टेरामोक्सले सङ्कलन गर्ने विभिन्न तथ्याङ्कमा प्राधिकरणका सीमित प्राविधिक कर्मचारीको मात्र पहुँच हुने र व्यक्तिगत तथ्याङ्क भने सङ्कलन नगरिने उनको भनाइ छ । 

भेनराइजले प्राधिकरणलाई टेरामोक्स उपलब्ध गराउँदा नै कल रेकर्ड नहुने, डेटाको शतप्रतिशत सुरक्षा हुने, परीक्षणबाट प्रमाणित भएको र अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको सुनिश्चितता सहितको प्रमाणपत्र उपलब्ध गराएको उनले जानकारी दिए । 

टेरामोक्स जडानसँग सम्बन्धित उपकरण अत्यधिक मूल्यमा खरिद गरिएको सम्बन्धमा उनले यसमा प्रयोग गरिने ल्यापटप र मोबाइल सामान्य उपकरण नभएको र कलको विश्लेषण गर्न सक्ने सफ्टवेयर जडान भएको ल्यापटप भएको उनले प्रस्ट पारे ।

व्यक्तिको फोन रेकर्ड गर्ने र महँगो मूल्यमा उपकरण खरिद गरिएको भन्दै टेरामोक्स जडान अहिले विवादमा परेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यो जडान गर्न निर्देशन दिए पनि सेवा प्रदायकहरूले भने अहिलेसम्म लागू गरेका छैनन् । 



नयाँ