arrow

पाकिस्तान : प्रभावितको माग पूरा नभएसम्म दासु विद्युत् आयोजनाको काम स्थगित

logo
एजेन्सी,
प्रकाशित २०८० भदौ १० आइतबार
dasu-power-kamila-upper-kohistan-pakistan.jpg

मंसेरा। दासु जलविद्युत् आयोजना प्रभावित परिवारले वापडाले जग्गा अधिग्रहण र आर्थिक प्याकेजसम्बन्धी प्रतिबद्धता पूरा नगरेसम्म ४३८० मेगावाटको ऊर्जा आयोजनाको काम स्थगन हुने घोषणा गरेका छन्।

माथिल्लो कोहिस्तान जिल्लाको कमिला क्षेत्रमा भएको छलफलका क्रममा उक्त घोषणा गरिएको हो। छलफलमा माथिल्लो कोहिस्तान जिल्लाका चार तहसील दासु, हरबन, कान्डिया र सुओका प्रतिनिधि र अध्यक्षहरू सहभागी थिए।

उनीहरूले सर्वसम्मतिले विद्युत् आयोजनाको काम स्थगन गर्ने निर्णय गरेका हुन्। 'वापडाले दासु आयोजना प्रभावित परिवारहरूसँग गरेको सम्झौतालाई सम्मान गरिरहेको छैन, त्यसैले हामीसँग काम रोक्नेबाहेक अर्को विकल्प छैन,' सुओ तहसील परिषद्का अध्यक्ष मौलाना मोहम्मद उजैरले जिर्गालाई भने।

वापडालाई प्रतिबद्धता पूरा गर्न जिर्गाले आग्रह गरेको छ। आयोजना सञ्चालन गर्ने कम्पनीलाई जिर्गाको निर्णयबारे जानकारी गराइसकेकोले वापडाले प्रतिबद्धता पूरा नगरेसम्म काम नहुने उनले बताए।

उजैरले जेएसीले सबै चार तहसीलका २०० सदस्यहरूको प्रतिनिधित्व गर्ने आफ्नो भावी कार्यदिशा तय गर्ने बताएका छन्। उनले आवश्यक परे सरकार, जिल्ला प्रशासन र वापडासँग वार्ता गर्ने बताए।

दासु तहसील परिषद्का अध्यक्ष मोहम्मद इद्रिसले बाँधमा खटिएका गैर स्थानीयलाई हटाउन माग गर्दै बासिन्दा पटक–पटक सडकमा आए पनि वापडाले त्यो माग पूरा नगरेको बताए।

वापडा अध्यक्षले स्थानीयसँगको भेटमा आयोजना कार्यान्वयनको क्रममा र सम्पन्न भइसकेपछि पनि स्थानीय बासीलाई तल्लो कर्मचारीमा नियुक्त नगर्ने वाचा गरेका थिए तर अन्य जिल्लाका बासिन्दाले काम नपाएकाले त्यो वाचा पूरा नभएको उनले बताए।

हरबन तहसील काउन्सिलका अध्यक्ष असदुल्लाह कुरैशीले क्षेत्र विकास कोष कार्यक्रम अन्तर्गत आयोजना प्रभावित जनताका लागि २०१६ मा वापडाले ६ अर्ब रुपैयाँ विनियोजन गरेको थियो, जसलाई अहिलेको मुद्रास्फीतिअनुसार बढाउनुपर्ने बताए।

कान्दिया तहसील परिषद्का अध्यक्ष अनवरुल हकले जग्गा अधिग्रहण र भान्सा प्याकेज सम्बन्धी परियोजना प्रभावित परिवारहरूको समस्यालाई सम्बोधन गर्न असफल भएकोमा वापडाको आलोचना गरेका छन्।

'सबै मुद्दाहरू समाधान गर्नुपर्छ। त्यो नहुँदासम्म कम्पनीहरूलाई दासु आयोजनाको काम सुचारु गर्न दिँदैनौँ,' उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ