arrow

शान्ति व्यवस्था कायम गर्न सबै सुरक्षा निकायलाई काव प्रधानमन्त्री खड्काको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
purnabahadur-khadka-security-2080-05-31.jpg

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । आज रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव,  सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यवाहक प्रमुख सहभागी भएका थिए ।  

छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्काले सुरक्षा निकाय प्रमुखसँग देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका छन् । खड्काले शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा समाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन दिएका छन् । 

साथै बजारमा दैनिक उपभोग्य समान सहज उपलब्ध हुने ब्यवस्था मिलाउन, कालाबजारी र कृत्रिम अभाव तथा मूल्य वृद्धि हुनै नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न निर्देशन दिएका छन् । 

नेपालीहरुका महत्वपूर्ण चाडपर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाईसमेत थप प्रभावकारी बनाउँदै कहिँकतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरुन्त कारबाही गर्न निर्देशन दिएका छन् । 

सो अवसरमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा समाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकोले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिए । 

कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको छलफलका क्रममा राजनीतिक र आपराधिक घटनाहरु समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा अपराधिक गतिविधि हुन सक्ने कुरामा ध्यान दिन निर्देशन दिएका छन् । 

छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा जानकारी गराएका थिए । यस्तै आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेट गरे । 

राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेर कार्यवाहक  प्रधानमन्त्री खड्काले देशको समसामयिक बिषयमा  राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी  गराएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ