arrow

भारतलाई आठौँ पटक एसिया कपको उपाधि, श्रीलंका १० विकेटले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
asia-cup-2023-09-11z.jpg

काठमाडौँ । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । घरेलु मैदान आयोजना गर्ने विश्वकप एक दिवसीय क्रिकेटअघि भारतले खुशी लिएर स्वदेश फर्कने भएको हो । 

पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा श्रीलंकामाथि १० विकेटको जित हासिल गर्दै भारतले आठौँ उपाधि जितेको हो । 

१६ संस्करण सकिएकामा आधा उपाधि भारतको पोल्टामा गएको हो । भारत ११ पटक फाइनलमा पुगेकामा तीन पटकमात्र उपविजेता भएको छ । 

श्रीलंका ६ पटक विजेता तथा ७ पटक उपविजेता भएको छ । पाकिस्तानले २ पटक उपाधि जितेको छ । ३ पटक उपविजेता भएको छ । 

आइतबार (भदौ ३१ गते) भएको फाइनलमा श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्यो । आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ५० रनमै अलआउट भएको छ । 

कुशल मेन्डिसले १७ र दुशान हेमन्थाले अविजित १३ रन बनाएको इनिङमा अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

१५.२ ओभरमात्र क्रिजमा टिकेको श्रीलंकाका पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । 

भारतका लागि मोहम्मद सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए । 

तीव्र गतिका बलरलाई फाइदा नहुने पिच भनेर क्रिकेट पंडितहरुले ब्याख्या गरेको भए पनि त्यस विपरीत भारतीय तीव्र गतिका बलरहरुले कमालको बलिङ गरे । 

जवाफमा भारतले ६.१ ओभरमै कुनै विकेट नगुमाई जित हासिल गर्यो । शुबमन गिलले १९ बलमा २७ तथा इशान किशनले १८ बलमा २३ रन बनाए । 

यति ठूलो टिममाथि मात्र ६.१ ओभरमै हासिल गरेको जित भारतका लागि सबैभन्दा ठूलो जित हो । 

श्रीलंकाले भने करियरकै दोस्रो कम योगफल बनाएको हो । 

भारतलाई खुशीको झोली
यो खेलबाट भारतले पाँच वर्षको उपाधि खडेरी चिरेको छ । साविक विजेता श्रीलंका भने उपाधि रक्षा गर्न असफल भएको छ । 

दुवै टिम आठौँ पटक एसिया कपको उपाधिका लागि फाइनलमा भिडेका हुन् । 

यसअघि भएका सात आपसी भिडन्तमा भारतले ४ तथा श्रीलंकाले ३ पटक उपाधि जितेको थियो । 

हेड टु हेड 
यसअघि भारत र श्रीलंकाबीच अहिलेसम्म १६६ एक दिवसीय खेल भइसकेको छ । 

जसमा भारतले ९७ तथा श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेल भने नतिजाविहीन भएको थियो । एक खेल बराबरी (टाइ) मा सकिएको थियो । 
 यसअघि एसिया कपमा यी दुईबीच २० खेल भएकामा दुवै टिमले १०–१० खेल जितेका छन् । 

सुपर फोरमा ४–४ अंकसहित भारत र श्रीलंकाले फाइनल खेलेका हुन् । बंगलादेश र पाकिस्तानले समान २–२ अंक बटुले । 

पहिलो पटक एसिया कप खेलेको नेपाल र बंगलादेश भने समूह चरणबाटै बाहिरिएका थिए । 

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको तथा भारतसँग १० विकेटको हार बेहोरेको थियो । पाकिस्तानसँग आधा समय बढी बलिङमा लिएको नियन्त्रण र भारतविरुद्ध बनाएको २३० रन नेपालका लागि प्रशंसायोग्य थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ