काठमाडौँ । एसिया कप क्रिकेटको उपाधिका लागि फाइनल खेल्ने टिमको टुंगो लागेको छ । सुपर फोरको खेलमा आज भारत र बंगलादेश खेल्नुअघि नै फाइनल पुग्ने टिमको टुंगो लागेको हो ।
गएराति भएको श्रीलंका र पाकिस्तानबीचको खेलपछि नै फाइनल पुग्ने टिमको टुंगो लागेको हो । श्रीलंकाले २ विकेटको सनसनीपूर्ण जित हासिल गरेसँगै श्रीलंका फाइनलमा पुगेको छ । पाकिस्तान भने बाहिरिएको छ ।
कोलम्बोमा भएको वर्षाले प्रभावित खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ४२ ओभरमा ७ विकेटको क्षतिमा २५२ रन बनायो । मोहम्मद रिजवानले ७३ बलमा अविजित ८६ रन जोडे । त्यस्तै अब्दुल्लाह शफिकले ५२ तथा इफ्तिकार अहमदले ४७ रन बनाए । मथिशा पथिरानाले ३ विकेट लिए ।
जवाफमा श्रीलंकाले अन्तिम ओभरमा चाहिएको आठ रन पूरा गर्दै सनसनीपूर्ण २ विकेटको जित निकालेको हो । प्लेयर अफ द म्याच कुसल मेन्डिसले ८७ बलमा ९१ रन बनाए । त्यस्तै चरिथा असलंकाले ४७ बलमा ४९ तथा सदिरा समराविक्रमले ५१ बलमा ४८ रन बनाए ।
आजको खेल
आज सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश भिड्ने छन् । खेल दिउँसो ३ः१५ बजे हुनेछ ।
यो खेल भारतका लागि थप अभ्यास गर्ने खेलसँगै खेलाडीहरुलाई कीर्तिमान बनाउन फाइदा हुनेछ । किनकि विराट कोहलीले ४७ शतक बनाइसकेका छन् । १३ हजार रन पूरा गरेका छन् । रोहित शर्माले १० हजार रन पूरा गरिसकेका छन् । निरन्त अर्धशतक प्रहार गरिरहेका छन् ।
त्यस्तै एक खेल पनि नजितेको बंगलादेशलाई प्रतिष्ठाको खेल पनि हुनेछ । पहिलो पटक एसिया कप खेलेको नेपाल र बंगलादेश भने समूह चरणबाटै बाहिरिएका थिए ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको तथा भारतसँग १० विकेटको हार बेहोरेको थियो । पाकिस्तानसँग आधा समय बढी बलिङमा लिएको नियन्त्रण र भारतविरुद्ध बनाएको २३० रन नेपालका लागि प्रशंसायोग्य थियो ।
फाइनल खेल
फाइनल खेल भारत र श्रीलंकाबीच हुनेछ । खेल आइतबार दिउँसो ३ः१५ बजे कोलम्बोमै हुनेछ ।
अहिलेसम्म भएका १५ संस्करणमा भारतले सात पटक उपाधि जितेको छ । भारत ३ पटक उपविजेता भएको छ ।
श्रीलंका ६ पटक विजेता तथा ६ पटक उपविजेता भएको छ । पाकिस्तानले २ पटक उपाधि जितेको छ । ३ पटक उपविजेता भएको छ ।
यसपटक फाइनलमा पुगेसँगै भारत ११ पटक फाइनलमा पुगेको छ भने श्रीलंका १३ औँ पटक फाइनलमा पुगेको छ ।