arrow

पाकिस्तानले नेपालसँग बनाए भन्दा बढी रन भारतले बनायो पाकिस्तानविरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
kohli-rahul-2023.jpg

काठमाडौँ । क्रिकेटलाई यसै पनि अनुमान गर्न नसकिने खेलका रुपमा लिइन्छ । त्यसरी नै एसिया कप क्रिकेटमा आजको खेलमा भारतले पाकिस्तानविरुद्ध ३५६ रन बनाएको छ । 

सुपर फोरको खेलमा भारतले पाकिस्तानविरुद्ध कोलम्बोमा भएको खेलमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो । 

भारतका लागि विराट कोहलीले ९४ बलमा अविजित रहँदै १२२ रन बनाए । त्यस्तै विराटसँग मिलेर तेस्रो विकेटका लागि अविजित २३३ रनको साझेदारी गरेका केएल राहुलले १०६ बलमा १११ रन बनाए । 

त्यस्तै शुबमन गिलले ५८ तथा रोहित शर्माले ५६ रन बनाए । कोहलीले करियरको ४७ औँ एक शतक प्रहार गरेका छन् । त्यस्तै १३ हजार रन पनि पूरा गरेका छन् । राहुलको भने छैटौँ शतक हो । 

भारतले नेपालविरुद्ध पाकिस्तानले बनाएको योगफल भन्दा बढी बनाएको हो । एसिया कपकै समूह चरणमा पाकिस्तानले नेपालविरुद्ध ३४२ रन बनाएको थियो । 

भारत र पाकिस्तानबीचको सुपर फोरको खेल हिजोदेखि आज पनि निरन्तर भएको छ । 

श्रीलंकाको कोलम्बोमा आइतबार भएको खेलमा वर्षाले खेल रोकिनुपूर्व भारतले पहिले ब्याटिङ गर्र्दै २४.१ ओभर खेल्दै २ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । त्यसपछि पाँच घण्टासम्म कुर्दा पनि पानी परेपछि खेल आजका लागि सरेको थियो । 

आज दिउँसो ३ः१५ बाट निरन्तर हुनुपर्ने थियो । तर आज पनि वर्षा भएपछि पौने २ घण्टापछि भारतले ब्याटिङलाई निरन्तर दिएको थियो । 

आज पनि खेल पूरा हुन सम्भव नभए दुवै टिमले १–१ अंक बाँड्ने छन् । भारत र पाकिस्तानबीचको क्रिकेट खास हुने गर्छ । तर एउटै समूह चरणमा रहेका यी दुई टोलीको समूह चरणको खेल पनि वर्षाले पूरा हुन पाएको थिएन । 

यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बंगलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ । 

सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा शनिबार राति श्रीलंकासँग हारेको हो । 

कोलम्बोमा भएको खेलमा बंगलादेश २१ रनले पराजित भयो । श्रीलंकाले पहिले ब्याटिङ गर्दै प्लेयर अफ द म्याच सदीरा समराविक्रामाको ९३ रनको मद्धतले ९ विकेटको क्षतिमा २५७ रन बनायो । 

जवाफमा बंगलादेशले ४८.१ ओभरमा अलआउट हुँदै २३६ रनमात्र बनाउन सक्यो । टहिड हृडोएले ८२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

यो हारले बंगलादेश भारतसँग खेल्नुअघि नै सुपर फोरबाट बाहिरिएको छ । 

सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् । 

पहिलो पटक एसिया कप खेलेको नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए । 

नेपाल भारतसँग १० विकेटले र पाकिस्तानसँग २३८ रनले पराजित भएको हो । नेपाली टिमको निकै नै प्रशंसा भएको थियो । 

भारतविरुद्ध नेपालले २३० रन बनाएको थियो । पाकिस्तानले नेपाली बलर सामु ब्याटिङ गर्न निकै संघर्ष गर्नुपरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ